बच्चाले बिठ्याइँ नगरे कसले गर्छ भन्दै हुनुहुन्थ्यो बुबाले। बच्चाको उमेर नै त्यस्तो हो, हामीले यो उमेरमा गर्यौँ भने सकिन्न र सुहाउँदैन। बच्चाको उमेरमा भूल गरेर केही सिक्छन्, सिक्ने सिलसिलामा केही गल्ती पनि गर्छन्।
विदेशतिर विदेशी अभिभावकलाई भने अर्कै पिर छ, ‘मेरो छोरीले अहिलेसम्म ब्वाइफ्रेन्ड बनाएको छैन, मेरो छोराले अहिलेसम्म गर्लफ्रेन्ड बनाएको छैन’ आदि आदि। समाज, परिवेश, संस्कार, परम्परा, देश, चालचलनअनुसार बच्चाले गर्दछन्। सन्तानको उमेर बढ्दै जाँदा अभिभावकहरूमा अनेकन चिन्ता हुन्छ।
कक्षामा सबैजसो बच्चालाई सोध्छु, के मन पर्छ? फुटबल सयका सय उत्तर। के मन पर्दैन भन्दा गृहकार्य, होमवर्क भन्दछन्।
किन बच्चा यस्ता भए त?
हाम्रो दोष, परिस्थितिको दोष, समाजको दोष, ज्ञानको कमी, विज्ञानको चमत्कार, सञ्जालको उपलब्धता, हुन त जेलाई दोष दिए पनि हुन्छ तर पहिलो दोषी हामी नै हौँ। एउटा होइन, समाज, सकल देश, राज्य किनभने यो समाधानका लागि सबै एकमत हुनुपर्छ। एक अभिभावकले खेल्न नदेला, अर्कोले दिन्छ, यसकारण समाजमा चेतना आवश्यक छ।
सबै अभिभावक एकै तरह छैनन्। कोही व्यवसायी, कोही जागिरे, दुवैको सोच फरकफरक छ। जागिरेले धेरै अनुशासन खोज्ला, व्यापारीले स्वतन्त्रता देला, आखिर पछि आफ्नै व्यवसाय चलाउने हो, अरूको जागिर गर्ने होइन, त्यसै पनि किन पढ्नमा दबाब दिने?
उता जागिरेले अर्कै सोच राख्छ। पढ्नुपर्यो, जान्नुपर्यो। पछि प्रतिस्पर्धा गर्नुपर्छ। जागिरमा लोकसेवा लड्नुपर्छ आदि। यसैले सबै अभिभावक एकै किसिमका छैनन्, हुन्नन् पनि। उता शिक्षकले हरेक परिवेशका बच्चालाई सँगै राखेर मिलाएर, सिकाएर लैजानुपर्यो।
श्रीमतीजी बच्चासँग सर्त राख्दै थिइन्, ‘नेट जोड्ने त हो तर कतिबेर नेट, मोबाइल चलाउने?’ सर्त आधा घन्टा मात्र, बच्चा राजी भए, एक दिन त माने पनि। भोलिबाट मोबाइल चलाउने समय बढ्यो। घरमा पाहुना आए बच्चालाई दाउ, कसैले अरू मान्छेको अगाडि बच्चालाई गाली गर्दैन, बस मौका भएन। आखिर घरमा कोही न कोही त आउँछन्, त्यही मौकामा बच्चा चौका पार्छन्।
बजारको बसाइ, एकल परिवारको व्यस्त अभिभावक, ज्येष्ठ सदस्य, माथिल्लो पुस्ता छैनन्, हरेक चिज महँगो, तनावपूर्ण जीवनशैलीको कारणले अभिभावक समय दिन सक्दैनन्। कतै ट्युसन टिचर राखेको छ होमवर्क गराउन, बिहानदेखि साँझसम्म पूरा समय विद्यालयमा आएपछि ट्युसन टिचरसँग साँझ खाने बेला बच्चासँग बाआमाको भेट हुन्न, कतै काम गर्ने दाइदिदीसँग बच्चा रहन्छन्।
बेलुका बैठकमा बसेर टिभी हेर्ने युग गयो। सबैको हातहातमा मोबाइल छ, जे हेर्न पनि सजिलो छ। यसैले घरको न टिभी चल्छ, न त टेलिफोन नै। उता समाजमा एकअर्काको घर जाने, भेट्ने, कुराकानी, भलाकुसारी, चिया पसल जाने, गफ गर्ने कुरा पनि बिस्तारै हरायो। हरेक मानिस व्यस्त छन्, कसैसँग समय छैन। आखिर बच्चासँग कसले समय दिन्छ?
शनिबार एक दिन बल्लतल्ल आउँछ, त्यसबेला लुगा धुने, सरसफाइ गर्ने, किनमेल बजार गर्ने सबै काम गर्नुपर्छ। यसकारण व्यस्त अभिभावकहरूका लागि बच्चा खेलेर भुले मात्र पनि हुन्थ्यो, नत्र बच्चाले दख्खल गर्छन्।
आजकल विद्यालयहरूमा बच्चालाई पीई, शारीरिक शिक्षामा ध्यान गएको छ। स्वास्थ्यको हिसाबले ठीक होला, यद्यपि पढाइ, लेख्ने, पढ्ने, सुन्ने कुरामा पटक्कै ध्यान घटेको छ। सायद मोबाइलको कारणले पनि हुन सक्छ। बच्चा निष्क्रिय रहँदा सक्रिय बनाउन शारीरिक शिक्षा उचित होला तर सधैँ, हरसमय खेलाउन पनि सान्दर्भिक हुँदैन। बच्चा विद्यालय आएकै खेल्नका लागि हो भन्ने जस्तो भावना पनि देखिन्छ।
अभिभावक र विद्यालय भेटघाट छलफलमा सहभागी हुँदा एकजना अभिभावक भन्दै थिए कि मैले यो विद्यालयमा खेलमैदान हेरेर बच्चा भर्ना गरेको तर खेल्नै पाएन। उसलाई खेल मन पर्छ। यस्तो परिस्थिति पनि छ। सायद घर, टोल, समाज, छिमेकमा खेलमैदान छैन, यसैले एक स्थान खेल्नका लागि विद्यालय मात्र हो। यसकारण पनि विद्यार्थीहरू खेल्न चाहन्छन् तर यसबाट अध्ययन अध्यापनमा दख्खल भइरहेको छ।
मुख्यतः बच्चाहरू फुटबल, क्रिकेट तथा बास्केटबलमा बढी ध्यान दिइरहेका हुन्छन्।
विद्यालयको मुख्य चुनौती नै खेल र अध्ययनलाई कसरी जोड्ने विषयमा छ। एकतर्फ बच्चाको तनावपूर्ण व्यवहारलाई नियन्त्रण गर्न खेल विकल्प होला तर सदाका लागि हुँदैन। त्यसो त विद्यालयहरूमा सङ्गीत, नाच, योग, विदेशी भाषा आदि पनि सिकाइन्छ तर बच्चाहरू बढी मात्रामा फुटसलमा नै जोडिन्छन्।
बच्चाहरू खेलबाट थाक्दा उनीहरूमा तनाव कम हुन्छ, सबै तनाव पसिना मार्फत बाहिर आउँछ भन्ने तर्क पनि छ तर कतिपय अवस्थामा विद्यार्थी मात्र खेल्छ, पढ्दैन। यो अभिभावकलाई चिन्ता छ। ऊ आज विद्यालयमा के खेल्ने, जुत्ता, पोसाक तयार गरेर झोलामा राख्छ तर विद्यालयमा पढ्ने पुस्तक, नोटकपी र कलमसमेत बिर्सन्छ।
खेलप्रतिको अति लगावले अध्ययन गर्ने बानी घटेको छ। यसको सुधारका लागि विद्यालयहरूले पुस्तकालयलाई सुधार गर्न आवश्यक छ, जसमा ई–लाइब्रेरी बनाउन सकिन्छ। पुस्तकहरू पीडीएफ गरेर कम्प्युटरमा हेर्न सकिन्छ। युगानुकूल गराउनुपर्छ, पुराना पुस्तक पढ्ने पुस्ता छैनन् अब।
हरेकजसो विद्यालयलाई समस्या छ कि फुटबल मैदान, फुटसल या बास्केटबल कोर्ट नभई हुन्न, भलै बरु राम्रा शिक्षक, योग्य, दक्ष शिक्षक नहुँदा बरु ठीक तर मैदान जरुरी छ। युगको माग, अभिभावक, बच्चाको रोजाइ।
विद्यालय छनौट गर्दा शिक्षक विज्ञता, योग्यता आदि, पाठ्यक्रम, ल्याब, प्रयोगशाला, पठन समय, पुस्तकालयको बारेमा ज्ञान नभए पनि खेलमैदान चाहिन्छ भन्ने ज्ञान अभिभावकमा पक्कै छ।
एक ताका कुनै विद्यालयमा पढाउँदा त्यहाँका प्राचार्यले, ‘बच्चालाई दबाब दिएर नपढाउनुहोस्, बरु अन्य अतिरिक्त क्रियाकलाप सिकाउनुहोस्। पढ्न त ऊ आफैँ घरमा पढिहाल्छ, ट्युसन गर्छ तर उसलाई बाहिरी ज्ञान दिनुहोस् भन्नुभयो।’ सायद उहाँले अहिलेका अभिभावकलाई राम्ररी बुझेको जस्तो लाग्यो।
हामी कडा स्कुलिङ, अनुशासनबाट आएकाले होला, केवल पुस्तक, कापी, किताबमा मात्र जोड दिन्छौँ तर परीक्षाको नतिजा लिन आउँदा अभिभावकलाई ग्रेड चाहिन्छ। नपढी ग्रेड आउँदैन, यस कुरामा अभिभावकहरूलाई ज्ञान नभएको हो या हेक्का नभएको हो या भ्रम परेको हो, बुझ्न अलिक कठिन छ। वर्षभर खेल मात्रै खेलाउन अनि वर्ष अन्त्यमा ग्रेड कसरी आउँछ?
खासमा सबैजसो उमेरका १६ वर्षमुनिका बच्चाहरूमा खेलप्रतिको अति नै लगाव छ तर १६ पुगेपछि अलिक परिपक्व भएकाले होला, पढ्नुपर्छ भन्ने कुरा यदाकदा आउँछ।
आजका विद्यालयको चुनौती खेल र अध्ययनबीचको सन्तुलन गर्न बढी चुनौती नै छ। यहाँनेर खेल मात्र बढी जोड दिएको छ तर खेललाई चाहिने अनिवार्य सर्त अनुशासन बिर्सेको अवस्था छ। खेलमा बल, ताकत, शक्ति भएर मात्र पुग्दैन, जसमा अनुशासन, नियम चाहिन्छ भन्ने विषयमा बच्चाहरूमा ज्ञान भर्नु आवश्यक छ।
कक्षाकोठा, विद्यालय जानेआउने सवारीसाधन, बस, भ्यान, खेलमैदान सबै तिर बच्चाहरू खेल्न रुचाउँछन्। उनीहरूको बालस्वभाव नै हो तर उनीहरूलाई के, कति बेला गर्ने, कहाँ गर्ने, के गर्ने, कस्तो गर्ने बुझाउनुपर्छ, त्यो विद्यालयको दायित्व हो।
हरेक विद्यालयका प्राचार्यका आ–आफ्नै मत छन्। कोही खेलाउँदा हुन्छ, बिस्तारै पढ्छन्, कोही अनुशासनमा जोड दिन्छन्। अनुशासन पूरा भएपछि मात्र पढाउन सक्छन् भन्ने मत राख्छन्।
विद्यालयमा खेल, अतिरिक्त क्रियाकलापहरूका लागि अलग्गै प्रशिक्षकहरू पनि राखिएका छन्, साथै प्रयोगात्मक तथा सैद्धान्तिक ज्ञानसमेत दिइन्छ तर पनि बच्चाहरू खेल सिवाय पढाइमा बिल्कुल रुचि राख्दैनन्।
घर-घरमा पनि यो अवस्था छ। बच्चाहरू केवल स्क्रिनको अगाडि बस्छन्। आजकल टिभी घटेको छ, मोबाइल, ट्याब बढेको छ। बच्चाहरू ट्याबमा खेल, गेम मात्र होइन, हामी यसैबाट पढ्छौँ भन्दछन् तर उनीहरू घरको गेटबाट टोलछिमेकसम्म निस्कन्नन् किनकि उनीहरूको संसार मोबाइल, ट्याबमा छ। मोबाइल धेरै चलाउन हुँदैन भन्यो भने हजुरको स्क्रिन टाइम हेर्नुस् भन्दछन्। यो समस्या विकराल हुँदैछ।
हामीले सुरुआती दिनहरूमा सुरक्षा खातिर बच्चालाई घरमै थुन्यौँ, अहिले बच्चामा डिजिटल थुनामा छ। उसलाई डिजिटलले बाँधेको छ, त्यो फुस्काउन अभिभावकले समेत सक्दैन।
अपवादमा कोही बच्चाहरू सबै तिर अब्बल हुन्छन् तर खेलतिर बढी झुकाव राख्दा अध्ययन बिग्रेको अवस्था पनि छ। बच्चाहरूमा खेलप्रतिको लगावको साथै अध्ययनमा पनि त्यत्तिकै लगाउन अभिभावकहरूले मेहनत गर्नुपर्छ। विद्यालयको सिङ्गो मात्र प्रयासले पुग्दैन।
साथै विद्यालयहरूले पनि बालमनोविज्ञान बुझेर विद्यालयहरूमा उनीहरूको रुचिअनुसार उनीहरूकै सहभागितामा खेल समयतालिका बनाउने, यसअनुसार चल्ने बृहत्तर हुन्छ। समयअनुकूल तालिकामा शिक्षक, विद्यालय प्रतिबद्ध हुनुपर्छ। विद्यालयमा विद्यार्थीको प्रतिबद्धता तथा अनुशासनमा सामेल गराउन पर्छ।
खेल खेल्ने उमेरका बच्चाहरू खेलमा आशक्त हुन्छन् र पनि खेलअलावा पढ्न, सिक्न, जान्न, बुझ्न उनीहरूमा पत्रपत्रिका, कमिक, कार्टुन, चित्रकला, काष्ठकला, पेन्टिङ, वादविवाद, गीत, सङ्गीतमा लगाउनुपर्छ। घरमा गीतसङ्गीतका सामानहरू मादल, तबला, मञ्जुरा, खैँजडी, गितार, हार्मोनियम आदि किनेर सिकाउन सकिन्छ। आखिरमा यस कुरामा अभिभावककै मेहनत चाहिन्छ।
चाडबाडका बेला समेत बच्चामा पारिवारिक घुलमिल हुने क्रम घट्दो छ। यसबाट उनीहरूमा धर्म, संस्कृति, मूल्य, मान्यताबाट विमुख हुँदैछन्। यसमा उनीहरूलाई आकृष्ट गर्न अभिभावकले आफ्नो रमाइलो, मनोरञ्जनलाई थाती राखेर भए पनि बच्चालाई चाडबाडको अर्थ, मर्म बुझाउन, देखाउन जरुरी छ।
यसकारण अभिभावकहरूको आर्थिक योगदानको अतिरिक्त बच्चाहरूमा समय दिने, सँगै खेल्ने, दिन बिताउने, चाडबाडका गतिविधि, रिवाजमा पनि अभ्यस्त रहनुपर्छ। मठमन्दिर, बजार सबै तिर सँगै लैजानुपर्छ।
बच्चाहरूको खेल, अध्ययन, भ्रमण, खानपान आदिको रमाइलो मध्यनजर गर्दै उनीहरूको लागि उपयुक्त वातावरण बनाउनुपर्छ।
आजकल स्पोर्ट्स साइन्सका विषयहरूमा पनि पढाइ सुरु भएको छ, साथै क्रिकेटमा युवाहरूको सफलताले आकर्षण बढेको छ। यसलाई पनि अध्ययनको विधा मानिएको छ। खेल तथा अभिनय, प्राविधिक ज्ञान, सीपलाई समेत अध्ययनको विधा मानेर समयअनुकूल बच्चाहरूलाई लैजान सकिन्छ। खेलकुद पनि आज अलग्गै रोजगारको स्रोत बनेको छ, जसबाट मुलुकको समृद्धि गर्न सक्छ।
विद्यालयहरूमा खेलको अलावा बालबालिकाहरूको अनुशासन तथा आचरणमा सुधारका लागि लाखौँ खर्चेर बाउन्सर गार्ड राखेको अवस्था छ। यो विषय गम्भीर छ किनकि अभिभावकहरूको मत, विचार गरेर गरिएको हुनुपर्छ, जबकि अभिभावकहरूले नै बच्चालाई पिटेर, कुटेर, थर्काएर तह लगाउनुपर्यो, हामीले भनेको मान्दैनन्, हामीलाई सुन्दैनन् भन्ने पनि गुनासो आउँछ। यसकारण नै विद्यालयले बच्चालाई अनुशासित गराउन कन्जुस्याइँ तथा हेलचक्र्याइँ गर्नु हुँदैन।
विद्यालयले अनुशासन पालना गराउन खोजेमा प्रभावकारी हुन्छ, जसबाट कक्षा कोठा, अध्ययन, ज्ञानको लागि समेत सहयोगी हुन्छ। अनुशासनबिना खेल नहुने भएकोले त्यही अनुशासन, नियमलाई अवलम्बन गराएर उनीहरूमा अध्ययनप्रति पनि जागरुक गराउन सकिन्छ।
विद्यालयमा अनुशासन हराउँदै गएकोले नै बच्चाहरूको अध्ययन, सीप, ज्ञान, कला, उत्सुकता, रुचि, सिर्जनशीलतामा कमी आएको छ। यसैले बच्चाको रुचिको खेललाई अन्यथा नलिई यसलाई रचनात्मक ढङ्गबाट अध्ययनतर्फ मोड्न सकिन्छ।