राज्यका सीमाहरू कोरिए, साम्राज्यका नक्साहरू फेरिए
राजाहरूका शौर्यगाथा लेखिए, विजेताहरूका प्रतिमाहरू ठडिए;
तर ती इतिहासका सुनौला अक्षरहरूबीच
कति नारीका रक्तरञ्जित औँलाका छापहरू मेटिए
कति स्त्रीका स्वप्नहरू कुलीनताको मर्यादामुनि गाडिए।
समाजले नारीलाई जन्म दियो
तर जन्मसँगै उसको घरमाथि प्रश्नचिह्न पनि टाँसिदियो
बाबुको आँगनमा ऊ पराई धन भई
श्रीमान्को आँगनमा अर्काको कुलको इज्जत भई
जीवनभरि दुई घरको प्रतिष्ठा बोकिरही
विडम्बना! आफ्नै नामको एउटा घर खोजिरही।
उसका पाइलामा लक्ष्मीको पदचाप खोजियो
तर लक्ष्मीबाईको घोडाको टाप सुन्न समाज तयार थिएन
झाँसीको रणभूमिमा एउटी स्त्रीले साम्राज्यसँग युद्ध गरिन्
तर आफ्नै देशका अनेक स्त्रीहरूलाई
आफ्नो इच्छाविरुद्धको जीवनसँग युद्ध गर्न बाध्य पारियो।
योगमायाले धर्मका नाममा पालिएका अन्यायविरुद्ध
आफ्नो समयकै विवेकलाई कठघरामा उभ्याइन्;
सावित्रीबाई फुलेले शिक्षाको उज्यालो बोकेर हिँड्दा
समाजले उनका बाटामा अपमानका ढुङ्गाहरू बिछ्यायो
बेलायतका सडकमा मताधिकार माग्दै उत्रिएका महिलाहरूले
लोकतन्त्रको ढोकामा आफ्नो अस्तित्वको दस्तक दिए
अहिल्याबाई होल्करले राज्य सञ्चालनको इतिहास रचिन्
र रजिया सुल्तानले दिल्लीको सिंहासनमा
वंश र लिङ्गको अहङ्कारलाई चुनौती दिइन्।
इतिहास साक्षी छ
नारीको सामर्थ्य कहिल्यै सिंहासनको मोहताज थिएन
मोहताज त समाजको चेतना थियो
जसले उसको योग्यतालाई जन्मको लिङ्गले नापिरह्यो।
आज पनि छोरीको सपनाभन्दा उसको विवाहको चिन्ता ठुलो छ
उसको शिक्षाभन्दा उसको चरित्रको पहरेदारी ठुलो छ
छोरो घरको उत्तराधिकारी कहलिन्छ
छोरी भने घरको इज्जत जोगाउने जिम्मेवारीमा हुर्किन्छे
उसको हाँसोमा संस्कार खोजिन्छ
उसको मौनतामा सहनशीलता
उसको प्रतिरोधमा उद्दण्डता
र उसको स्वतन्त्रतामा परिवारको प्रतिष्ठामाथिको खतरा देखिन्छ।
पुरुषको क्रोध स्वभाव कहलिन्छ,
नारीको क्रोध चरित्रको दोष;
पुरुषको महत्त्वाकाङ्क्षा नेतृत्व कहलिन्छ,
नारीको महत्त्वाकाङ्क्षा अहङ्कार
एउटै आकाशमुनि जन्मिएका दुई अस्तित्वबीच
अधिकारको यति ठुलो विभेद किन?
एउटै माटोमा उम्रिएका दुई जीवनबीच
स्वतन्त्रताको यति असमान आकाश किन?
अझ विडम्बना त उसको वैवाहिक यात्रामा छ
डोली चढ्दा जन्मघरको अधिकार छुट्छ
अन्तिम साससम्म पराई नठानिने आश्वासन बोकेर
ऊ कर्मघरको दैलो टेक्छे
सम्बन्ध बिग्रिए माइतीको बाटो साँघुरिन्छ
सम्बन्ध जोगाउँदा आफ्नै अस्तित्वको बाटो हराउँछ
समाजले उसलाई सहनशीलताको प्रतिमूर्ति बनाउँछ
तर उसको सहनशीलताभित्र मर्दै गरेको आत्मसम्मान देख्दैन।
कहिल्यै सोचिएन
जुन नारीले एउटा घरलाई परिवार बनाउँछे
उसैलाई घरको स्थायी सदस्य मान्न किन यति कठिन?
जुन हातले पुस्ता हुर्काउँछन्
ती हातले आफ्नै भविष्य रोज्दा किन अनुमति माग्नुपर्छ?
जुन कोखबाट सत्ताका उत्तराधिकारी जन्मिन्छन्
त्यही कोखको अस्तित्वमाथि निर्णय गर्ने अधिकार
आजसम्म किन अरूकै हातमा सुरक्षित छ?
म नारीलाई देवीको आसनमा राखेर पूजा गर्न आग्रह गर्दिनँ
किनकि देवत्वको मुकुट पहिर्याएर पनि
उसको मानवीय अधिकार खोस्न सकिन्छ
उसलाई त्यागकी मूर्ति होइन
आफ्नो इच्छा, विचार र निर्णयसहितको पूर्ण मनुष्य स्वीकार गर।
उसलाई कसैको छोरी, कसैकी पत्नी, कसैकी आमा
भन्नुअघि एउटा स्वतन्त्र अस्तित्वका रूपमा चिन
उसको परिचय सम्बन्धका नाताले होइन,
उसको आफ्नै नामले स्थापित हुन देऊ
किनकि प्रश्न नारीले सिंहासन पाउनुपर्छ भन्ने मात्र होइन,
प्रश्न त यो हो
संसारका कति सिंहासन सम्हाल्न सक्ने नारीले
आफ्नै जीवनमा एउटा सुरक्षित आसनसम्म किन पाउँदिन?
इतिहासले उसको वीरताको गाथा त लेख्यो
अब समाजले उसको स्वतन्त्रताको अर्थ लेख्न बाँकी छ
संसार जितेकी नारीको अन्तिम अभिलाषा
एउटा यस्तो घर होस्
जहाँ उसलाई पराई भनिँदैन,
जहाँ उसको अस्तित्व कसैको उपनाममा विलीन हुँदैन,
जहाँ ऊ कसैकी भएर होइन,
आफ्नै भएर बाँच्न सकोस्।
आखिर प्रश्न उही त हो-
एउटी नारीको घर कुन हो?
नारीबिना संसार चल्न सक्दैन भने
सिंहासन जस्ता कुर्सीमा पुरुषहरूको एकल स्वामीत्व किन?
नेपालका सबै उच्च पदमा पुरुष किन?
नारी अयोग्य भएर कि,
उनी आएपश्चात् सत्ता गुम्ने त्रास भएर?