अमेरिकामा शुक्रबार एकाएक हवाई उडान अस्तव्यस्त भयो।
उड्नै लागेको विमानको उडान रद्द गरिए। आकाशमै उडिरहेका विमानहरूको अवतरण पनि ढिलाइ भयो। यसले हजारौं यात्रु उडानको प्रतिक्षामा विमानस्थलमै बसे।
धेरै यात्रुहरूले टिकटको मिति सारे। केही यात्रु गाडी रिजर्भ गरेर गन्तव्यतर्फ लागे। केही होटल खोज्न लागे, कोही नजिकै रहेको आफन्त र साथीभाइलाई सम्पर्क गर्नतिर।
अमेरिकामा शुक्रबार मात्रै ९ हजारभन्दा बढी उडान प्रभावित भएका थिए। शुक्रबार र शनिबार गरी झन्डै २० हजार उडान प्रभावित भएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्से जनाएको छ।
सन् २००१ सेप्टेम्बर ११ को आतंकवादी आक्रमणपछि अमेरिकामा देशव्यापी रूपमा सबै उडान रोकिएको थियो। देशभरिको उडान अवरूद्ध गरिएको अमेरिकी इतिहासको दोस्रो घटना हो।
तर यसमा आतंकवादी आक्रमण वा त्यस्तो प्रयासको भूमिका नभएको भनेर अमेरिकी अधिकारीहरूले प्रष्ट भनिसकेका छन्।
त्यसो भए किन देशभरिका उडान अवरूद्ध भए?
अमेरिकी अखबार वाल स्ट्रिट जर्नलका अनुसार देशभरको हवाई यातायात प्रभावित हुनुको कारण कुनै ठूलो प्राकृतिक विपत्ति वा साइबर आक्रमण थिएन।
कारण थियो दक्षिणी अर्कान्सास राज्यको एउटा दुर्गम ठाउँमा जडान गरिएको एउटा सानो उपकरण।
त्यो उपकरण थियो– राउटर।
घरमा इन्टरनेट चलाउन प्रयोग गरिने राउटरजस्तै देखिने यो उपकरण अमेरिकाको हवाई यातायात व्यवस्थापन प्रणालीमा जोडिएको थियो। यसले विमानस्थल, राडार र हवाई ट्राफिक नियन्त्रण केन्द्रबीच सूचना आदानप्रदान गर्न सहयोग गर्छ।
शुक्रबार त्यही उपकरणले एकाएक आवश्यकताभन्दा धेरै सूचना पठाउन थालेपछि त्यसको असर अमेरिकाभर फैलिएको अमेरिकाको संघीय उड्डयन प्रशासन (एफएए)लाई उद्धृत गर्दै वाल स्ट्रिट जर्नलले लेखेको छ।
राउटरले धेरै सूचना पठाउन थालेपछि विमान चालक र हवाई ट्राफिक नियन्त्रकबीच हुने रेडियो कुराकानीमा अवरोध आएको थियो। आवाज काटिने र प्रस्ट नसुनिने समस्या देखिन थालेको थियो। यसबाट विमान चालकले नियन्त्रण कक्षसँग सम्पर्क गर्न कठिनाइ भएको थियो।
समस्या कहाँबाट सुरु भयो?
अमेरिकाको संघीय उड्डयन प्रशासन (एफएए) ले सुरुमा इन्डियानापोलिसस्थित हवाई ट्राफिक नियन्त्रण केन्द्रमा सञ्चारसम्बन्धी समस्या देखेको थियो। उक्त केन्द्रले अमेरिकाको मध्यभागको ठूलो आकाशमा उड्ने विमानको निगरानी गर्छ।
सुरुमा प्राविधिक कर्मचारीले समस्या त्यहीँ भएको अनुमान गरे। तर थप खोजी गर्दै जाँदा उनीहरूको ध्यान दुई ठाउँमा पुग्यो। एउटा अर्कान्सासको एल डोराडो र अर्को टेक्ससको अमारिलो।
यी दुवै ठाउँमा हवाई यातायात व्यवस्थापनका लागि आवश्यक उपकरण राखिएका छन्। त्यहाँबाट पठाइने सूचनाले देशभरका हवाई ट्राफिक नियन्त्रण केन्द्रलाई काम गर्न सहयोग गर्छ।
अर्कान्सासमा हालै नयाँ राउटर जडान गरिएको थियो। शुक्रबार दिउँसो त्यसले एकाएक धेरै सूचना पठाउन थाल्यो। टेक्ससको अर्को उपकरणबाट पनि त्यस्तै समस्या देखियो।
एफएएकी प्रविधि प्रमुख रेबेका गायका अनुसार ती दुई स्थानबाट प्रत्येक चारदेखि पाँच सेकेन्डमा करिब एक हजार पटक नेटवर्कमा सम्पर्क भइरहेको थियो।
यसरी आवश्यकताभन्दा धेरै सूचना आउँदा हवाई यातायात नियन्त्रण गर्ने सञ्चार प्रणालीमा चाप बढ्यो। परिणामस्वरूप अमेरिकाका २२ वटा हवाई क्षेत्र नियन्त्रण केन्द्रमध्ये १७ वटामा समस्या देखियो।
विमान चालक र नियन्त्रण कक्षबीचको सम्पर्क भरपर्दो नभएपछि एफएएले देशभरका उडान रोक्ने निर्णय गरेको थियो।
एउटा उपकरण बिग्रँदा कसरी रोकिए देशभरका उडान?
सामान्यतया राउटरले एउटा ठाउँबाट अर्को ठाउँमा सूचना पुर्याउने काम गर्छ।
घरमा प्रयोग हुने इन्टरनेट राउटरले मोबाइल, कम्प्युटर र अन्य उपकरणलाई इन्टरनेटसँग जोडेजस्तै हवाई यातायातमा प्रयोग हुने राउटरले पनि विभिन्न केन्द्रबीच सूचना आदानप्रदान गराउँछ।
विमान कहाँ छ, कुन दिशामा जाँदैछ र कुन उचाइमा उडिरहेको छ भन्ने जानकारी हवाई ट्राफिक नियन्त्रकका लागि महत्त्वपूर्ण हुन्छ। विमान चालकले पनि नियन्त्रण कक्षबाट निर्देशन लिइरहेका हुन्छन्।
यस्तो अवस्थामा सञ्चारमै समस्या आए विमानको सुरक्षित उडान व्यवस्थापन कठिन हुन्छ।
अमेरिकामा शुक्रबार भएको पनि यही हो।

एउटा ठाउँमा जडान गरिएको उपकरणले आवश्यकताभन्दा धेरै सूचना पठाउन थालेपछि त्यसको असर अन्य केन्द्रसम्म पुगेको थियो। त्यसपछि विमान चालक र हवाई ट्राफिक नियन्त्रकबीचको सम्पर्क प्रभावित भएको थियो।
एफएए प्रमुख ब्रायन बेडफोर्डका अनुसार २२ मध्ये १७ वटा नियन्त्रण केन्द्रमा समस्या देखिएपछि उडान रोक्नुपरेको थियो।
पुरानो प्रविधिमा चलिरहेको हवाई यातायात
यो घटनाले एउटा उपकरणको खराबी मात्र होइन, अमेरिकाको हवाई यातायात व्यवस्थापन प्रणालीमा रहेको अर्को कमजोरी पनि बाहिर ल्याएको छ।
अमेरिकाले दशकौं पुरानो सञ्चार प्रणाली प्रयोग गरिरहेको वाल स्ट्रिट जर्नलले लेखेको छ। त्यसमा अहिले पनि तामाका तारबाट सूचना आदानप्रदान गर्ने व्यवस्था छ। नयाँ प्रविधिमा आधारित फाइबर अप्टिक तार विस्तार गर्ने काम भने भइरहेको छ।
हवाई यातायात सञ्चालनका लागि अत्यन्तै महत्त्वपूर्ण यो पुरानो प्रणालीको व्यवस्थापन एलथ्रीह्यारिस टेक्नोलोजिज नामक कम्पनीले गर्दै आएको छ।
पुरानो प्रणालीलाई आधुनिक बनाउन अमेरिकाले अर्बौं डलर खर्च गर्ने योजना बनाएको छ। तर काम जटिल र महँगो हुँदै गएको छ।
एफएएका प्रमुख बेडफोर्डका अनुसार पुरानो सञ्चार प्रणालीको मर्मतसम्भारमा मात्रै प्रत्येक वर्ष करोडौं डलर खर्च भइरहेको छ।
यो प्रणालीमा समस्या आउन सक्ने चेतावनी यसअघि नै दिइएको थियो। सन् २०२३ मा गरिएको एक स्वतन्त्र अध्ययनले बारम्बार समस्या आउन थालेको र सुधारका लागि पर्याप्त बजेट नहुँदा जोखिम बढिरहेको उल्लेख गरेको थियो।
दुई उपकरण बन्द गरेपछि सामान्य भयो सञ्चार
शुक्रबार यात्रुहरू आफ्नो उडान कहिले हुन्छ भन्ने अन्योलमा रहेका बेला एफएएका प्राविधिक कर्मचारी समस्या समाधानमा जुटेका थिए।
अन्ततः अर्कान्सास र टेक्ससका ती दुई उपकरणलाई मुख्य सञ्चार प्रणालीबाट अलग गरियो। त्यसपछि समस्या रोकियो र सञ्चार प्रणाली सामान्य अवस्थामा फर्कियो।
‘हामीले ती दुवै उपकरण तत्काल बन्द गर्यौं र आफ्नो सञ्चार प्रणालीलाई स्थिर बनाउन सफल भयौं,’ एफएएकी प्रविधि प्रमुख गायले भनिन्।
तर ती उपकरणले किन एकाएक धेरै सूचना पठाउन थाले भन्ने प्रश्नको जबाफ अझै नभेटिएको उनलाई उद्धृत गर्दै वाल स्ट्रिट जर्नलले लेखेको छ।
अर्कान्सासमा जडान गरिएको नयाँ राउटर एचपिईको जुनिपर नेटवर्क्सले बनाएको थियो। एफएएका अधिकारीहरूले राउटरमा रहेको एउटा विशेष सुविधाका कारण आवश्यकताभन्दा धेरै सूचना अन्य ठाउँमा पुगेको हुन सक्ने बताएका छन्। त्यसपछि एफएएले यस्ता सबै राउटरमा उक्त सुविधा बन्द गरेको छ।

अमेरिकाको हवाई यातायात व्यवस्थापन प्रणालीमा यस्ता करिब ६० वटा राउटर छन्। तीमध्ये अरू सामान्य रूपमा चलिरहेका छन्।
राउटरमै खराबी थियो वा जडान गर्ने कम्पनीले त्यसलाई सही तरिकाले मिलाउन सकेन भन्नेबारे अनुसन्धान भइरहेको छ।
निर्माता कम्पनी एचपिईले भने आफ्नो उपकरणले निर्धारित काम गरिरहेको दाबी गरेको छ।
अमेरिकी यातायातमन्त्री सिन डफीले यो घटना कुनै नियोजित आक्रमणका कारण भएको प्रमाण नभेटिएको बताएका छन्। उनका अनुसार समस्या उपकरणको प्राविधिक गडबडी वा त्यसको जडान तथा व्यवस्थापनमा भएको लापरबाहीका कारण आएको हुन सक्छ।
सन् २०२८ सम्म फेरि समस्या आउन सक्ने चेतावनी
अमेरिकाले पुरानो सञ्चार प्रणाली विस्थापन गरेर नयाँ प्रविधिमा आधारित व्यवस्था बनाउने काम सन् २०२८ को अन्त्यसम्म पूरा गर्ने लक्ष्य राखेको छ।
त्यसका लागि पुराना तामाका तार हटाएर फाइबर अप्टिक तार जडान गरिँदै छ। सामान्यतया व्यस्त क्षेत्रमा यस्तो काम राति गरिन्छ, ताकि उडानमा कम असर परोस्।
तर दुर्गम क्षेत्रमा दिउँसो काम गर्दा पनि धेरै उडान प्रभावित नहुने अधिकारीहरूको अनुमान थियो।
शुक्रबारको घटनापछि यातायातमन्त्री डफीले यस्ता काम गर्ने समय र तरिकाबारे पुनर्विचार गरिने बताएका छन्।
उनका अनुसार पुरानो प्रणाली पूर्ण रूपमा विस्थापन नभएसम्म यस्ता समस्या फेरि आउन सक्छन्।
‘यो त्यस्तो बेला थियो, जहाँ एफएएको प्रणालीले आवश्यकताअनुसार काम गर्न सकेन। हाम्रो ठेकेदारले पनि आफ्नो जिम्मेवारी पूरा गर्न सकेन। अथवा उपकरणले अपेक्षाअनुसार काम गरेन,’ उनले भने।
अमेरिकाजस्तो विकसित मुलुकको हवाई यातायात एउटा सानो उपकरणको गडबडीले देशभर प्रभावित हुनुले आधुनिक प्रविधि मात्रै पर्याप्त हुँदैन भन्ने देखाएको छ।
विमान जतिसुकै आधुनिक भए पनि तिनलाई सुरक्षित रूपमा उडाउन आवश्यक सञ्चार प्रणाली कमजोर भए त्यसको असर हजारौं यात्रुले भोग्नुपर्छ भनेर शुक्रबारको घटनाले देखाएको जर्नलले लेखेको छ।