गोरखाको अजिरकोट गाउँपालिका ४ सिरानडाँडामा बौद्ध धर्मावलम्बीको आस्थाको केन्द्र गुरू पद्मसम्भवको २३ फिट अग्लो मूर्ति प्रतिस्थापना गरिएको छ।
धार्मिक, सांस्कृतिक र पर्यापर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ध्यान अनुष्ठान गर्न गुरू पद्मसम्भवको विराट प्रतिमूर्ति स्थापना गरिएको निर्माण समितिका अध्यक्ष अनुप लामा लाक्पाले बताए।
सिरानडाँडाका स्थानीय अगुवाहरूको पहलमा पद्मसम्भवको प्रतिमूर्ति निर्माण गरी प्राणप्रतिष्ठासमेत गरिएको हो।

विभिन्न दातृ निकायबाट सहयोग जुटाएर हिमाली समाज गुम्बाअन्तर्गतको गुरू रिन्पोछे पद्मसम्भव मूर्ति निर्माण समितिले सिरानडाँडाको सल्लाघारीमा मूर्ति निर्माण गरेका हुन्।
२२ लाख रुपैयाँभन्दा बढी लागतमा निर्माण गरिएको उक्त मूर्तिको स्तम्भको चारैतिर नुर्बुको आकृति अंकित गरिएको छ।
मूर्तिमा बौद्ध धर्मको विधि र पद्धतिअनुसार दुई दिनसम्म धुमधामका साथ पूजाआजा गरी प्राणप्रतिष्ठा गरिएको छ।
सोमबार र मंगलबार पूजाआजा गरेर धर्मगुरू खेम्पो श्री लामा गुरूङले पद्मसम्भवको मूर्तिमा प्राणप्रतिष्ठा गरेका समितिका अध्यक्ष अनुप लामा लाक्पाको भनाइ छ।
प्राणप्रतिष्ठा कार्यक्रममा खेम्पो लामा गुरूङ रिन्पोछेसहित लामालगायत गुरूहरूको उपस्थिति थियो।
गत वर्ष असोजदेखि निर्माण सुरू गरिएको मूर्ति हालै सम्पन्न भएको हो। सिरानडाँडा ‘बुद्ध हिमाल–हिमालचुली ग्रेट लेक सर्किट ट्रेल’को प्रवेशद्वारसमेत हो।
‘गुरू रिन्पोछे पद्मसम्भवको मूर्ति निर्माण भएपछि यहाँबाट गुरूको आशीर्वाद लिएर बुद्ध हिमाल–हिमालचुली ग्रेट लेक सर्किट ट्रेलको यात्रा सुरु गर्न सकिन्छ’, लामा गुरू लोकबहादुर लामाले भने।