पाल्पामा ढुंगा प्रहार गरी एक जनाको हत्या भएको छ।
तिनाउ गाउँपालिकामा मदिरा सेवनपछि दुई जनाबीच भएको सामान्य विवादले उग्र रूप लिएपछि एक जनाको ज्यान गएको हो।
ढुङ्गा प्रहारबाट तिनाउ गाउँपालिका वडा नं. ६ का ४५ वर्षीय नन्दलाल बजगाईँको ज्यान गएको हो।
बजगाईँको हत्या आरोपमा प्रहरीले सोही वडाका ३५ वर्षीय नारायण लम्तरीलाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईका अनुसार आइतबार साँझ बजगाईँ र लम्तरी दुवै जना सँगै बसेर मदिरा सेवन गरेका थिए।
मदिरा सेवनकै क्रममा सुरु भएको सामान्य विवाद झगडामा परिणत भएपछि लम्तरीले बजगाईँमाथि ढुङ्गा प्रहार गरेका थिए।
ढुङ्गा प्रहारबाट टाउकोलगायत शरीरका विभिन्न भागमा चोट लागेर गम्भीर घाइते भएका बजगाईँलाई उपचारका लागि तानसेनस्थित जिल्ला अस्पताल पुर्याइएकोमा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।
घटनापछि लम्तरी फरार भएका थिए।
फरार भएका लम्तरीलाई प्रहरीले सोमबार साँझ रैनादेवी छहरा गाउँपालिका वडा नं. ४ छहरा बजारबाट नियन्त्रणमा लिएको हो।
छहरा बजारमा रहेको एक होटेलमा लुकिछिपी बसेका लम्तरीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक भट्टराईले जानकारी दिए।