तनहुँको आँबुखैरेनी र चितवनको भरतपुर महानगरपालिका जोड्ने त्रिशूली नदीमाथिको घुमाउने पुल निर्माण अघि बढाउन स्थानीयले दबाब दिएका छन्।
पुल निर्माणमा देखिएको अवरोध हटाएर तत्काल काम सुरु गर्न उनीहरूले सम्बन्धित निकायलाई आग्रह गरेका छन्।
पुल निर्माणको प्रगति र पछिल्लो अवस्थाबारे जानकारी लिन स्थानीय अगुवा सिद्धान्त थापा मगरले सडक डिभिजन कार्यालय दमौलीका प्रमुख राजीव श्रेष्ठ र इन्जिनियर राजेन्द्र रेग्मीसँग छलफल गरेका छन्।
आँबुखैरेनी गाउँपालिका–५ र भरतपुर महानगरपालिका–२९ जोड्ने घुमाउनेमा १२ वर्षअघि निर्माण सुरु भएको पुल अझै अलपत्र छ।
सडक डिभिजन कार्यालयका प्रमुख श्रेष्ठले पुरानै ठाउँमा वा नयाँ ठाउँमा पुल निर्माण गर्ने भन्ने विषयमा अध्ययन भइरहेको जानकारी दिए।
त्यसका लागि चालु आर्थिक वर्षमा एक करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ।
डिभिजन कार्यालयले घुमाउने पुल निर्माणको ठेक्का तोडिसकेको छ।
तोकिएको अवधि र थपिएको म्यादमा पनि काम सम्पन्न नगरेको तथा पटकपटक निर्देशन दिँदा पनि निर्माण व्यवसायीले चासो नदेखाएपछि गत वैशाखमा ठेक्का तोडिएको थियो।
घुमाउनेमा पुल नबन्दा यस क्षेत्रका बासिन्दाले सास्ती खेप्दै आएका छन्।
पुल निर्माणका लागि स्थानीयले पटकपटक मन्त्री, सांसद र सडक डिभिजन कार्यालयको ध्यानाकर्षण गराउनुका साथै सम्बन्धित निकायमा पुगेर घेराउसमेत गरेका थिए।
पुल निर्माण सुरु भए पनि अहिलेसम्म दुवैतर्फका भागमा पिल्लर मात्रै ठडिएका छन्।
मृत सञ्जीवनी निर्माण कम्पनी हेटौँडासँग पहिलोपटक २०७० असारमा पुल निर्माणका लागि सम्झौता भएको थियो। पटकपटक म्याद थप र डिजाइन परिवर्तन भएपछि २०७५ माघमा पुनः सम्झौता गरिएको थियो।
सम्झौताअनुसार २०७८ चैतमा पुल निर्माण सम्पन्न हुनुपर्ने थियो। तर, हालसम्म करिब ३६ प्रतिशत मात्रै काम भएको सडक डिभिजन कार्यालयले जनाएको छ।
गण्डकी प्रदेशको राजधानी पोखरा र चितवनबीच सहज आवतजावत गराउने उद्देश्यले घुमाउनेघाटमा पुल निर्माण सुरु गरिएको थियो।
तनहुँको सदरमुकाम दमौलीस्थित व्यास नगरपालिका–१ निर्मलनगरबाट सुरु हुने बुद्धसिं मोटरमार्ग सेती र मादी नदीको किनार हुँदै व्यास नगरपालिका–१३, व्यास नगरपालिका–१४, बन्दीपुर गाउँपालिका–६ र आँबुखैरेनी गाउँपालिका–५ हुँदै मुग्लिन–नारायणगढ सडकमा जोडिन्छ।
यो सडकबाट देवघाट गाउँपालिकाका वडा नम्बर २, ३ र ४ का बासिन्दासमेत लाभान्वित हुनेछन्।
यो मार्ग पृथ्वी राजमार्गको मुग्लिन सडकखण्डभन्दा २३ किलोमिटर छोटो छ।
गण्डकी प्रदेशलाई चितवनको नारायणगढसँग जोड्ने सबैभन्दा छोटो दूरीको बुद्धसिं मार्गमा घुमाउनेको मोटरेबल पुल निर्माण सम्पन्न भएपछि पोखरा र दमौलीबाट नारायणगढ पुग्न वैकल्पिक मार्ग उपलब्ध हुनेछ।
अहिले मोटरेबल पुल नहुँदा सवारीसाधन तनहुँको सिमानासम्म पुगेर फर्कन बाध्य छन्। मोटरसाइकल भने डोर्याएर मुग्लिन–नारायणगढ सडकखण्डसम्म पुर्याउन सकिन्छ।