दाङको तुलसीपुरमा छुट्टाछुट्टै सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ।
बुधबार बेलुकी मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु भएको छ भने पाँच दिनअघि गाडीले स्कुटरलाई ठक्कर दिँदा घाइते भएकी महिलाको पनि उपचारका क्रममा मृत्यु भएको छ।
बा.प्र. ०१–०२६ च ५२७९ नम्बरको गाडीले रा ८ प १७६४ नम्बरको स्कुटरलाई ठक्कर दिँदा घाइते भएकी तुलसीपुर उपमहानगरपालिका–९ बेलुवाकी ४० वर्षीया रेणु शाहको बुधबार पौने १२ बजे बाँकेको कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको हो।
गम्भीर अवस्थाकी शाहलाई तुलसीपुरमा उपचारपछि थप उपचारका लागि सोही दिन राति कोहलपुर रिफर गरिएको थियो।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक टोपेन्द्र घर्तीका अनुसार मंसिर ४ गते साँझ करिब सवा ६ बजे तुलसीपुर–३ दमारगाउँस्थित गुम्बाको गेट नजिकै शाह सवार स्कुटरलाई उक्त गाडीले ठक्कर दिएको थियो। त्यतिबेला शाह तुलसीपुर बजारतर्फ आउँदै थिइन्।
स्कुटरलाई ठक्कर दिएपछि गाडी चालकले दमारगाउँ स्कुलको पश्चिमतर्फ रहेको जंगलमा गाडी छाडेर फरार भएका थिए। प्रहरीले मंसिर ५ गते उक्त गाडी फेला पारेर इलाका प्रहरी कार्यालय तुलसीपुरमा ल्याएको थियो।
फरार चालक तुलसीपुर–३ का २८ वर्षीय सुभम नेपालीलाई प्रहरीले मंसिर ७ गते बिहान घोराही उपमहानगरपालिका–१५ बाट पक्राउ गरेको थियो।
त्यस्तै, बुधबार बेलुकी भएको मोटरसाइकल दुर्घटनामा तुलसीपुर–१५ कोठरीका ३२ वर्षीय रामकुमार चौधरीको मृत्यु भएको छ।
बेलुकी सवा ५ बजे तुलसीपुर–१४ लुहाडबराबाट कोठरीतर्फ जाँदै गरेको चौधरी सवार रा ६ प ९०४२ नम्बरको मोटरसाइकल अनियन्त्रित भएको थियो। दुर्घटनामा उनी गम्भीर घाइते भएका थिए।
गम्भीर घाइते चौधरीलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुर पुर्याउनासाथ चिकित्सकले जाँचपछि मृत घोषणा गरेको प्रहरी निरीक्षक घर्तीले बताए।
उनको शव पोस्टमार्टमका लागि सोही अस्पतालमा राखिएको छ।