दाङ, रोल्पा, कैलाली र कञ्चनपुरमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ।
दुर्घटनामा घाइते भएका तीन जनाको उपचार भइरहेको छ।
दाङको तुलसीपुरमा बुधबार भएका दुई छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। मोटरसाइकल दुर्घटनामा तुलसीपुर–१५ कोठरीका ३२ वर्षीय रामकुमार चौधरीको मृत्यु भएको हो।
त्यस्तै, पाँच दिनअघि गाडीले स्कुटरलाई ठक्कर दिँदा घाइते भएकी तुलसीपुर–९ बेलुवाकी ४० वर्षीया रेणु शाहको उपचारका क्रममा बाँकेको कोहलपुरमा मृत्यु भएको छ।
बुधबार बेलुकी सवा ५ बजे तुलसीपुर–१४ लुहाडबराबाट कोठरीतर्फ जाँदै गरेको चौधरी सवार रा ६ प ९०४२ नम्बरको मोटरसाइकल अनियन्त्रित भएको थियो। गम्भीर घाइते चौधरीलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुर पुर्याउनासाथ चिकित्सकले मृत घोषणा गरेका थिए।
शाहलाई मंसिर ४ गते साँझ करिब सवा ६ बजे तुलसीपुर–३ दमारगाउँस्थित गुम्बाको गेट नजिकै बा.प्र. ०१–०२६ च ५२७९ नम्बरको गाडीले ठक्कर दिएको थियो। गम्भीर घाइते उनलाई तुलसीपुरमा उपचारपछि थप उपचारका लागि सोही राति कोहलपुर रिफर गरिएको थियो। बुधबार पौने १२ बजे उनको उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक टोपेन्द्र घर्तीले बताए।
स्कुटरलाई ठक्कर दिएपछि चालकले गाडी दमारगाउँ स्कुलको पश्चिमतर्फ रहेको जंगलमा छाडेर फरार भएका थिए। प्रहरीले मंसिर ५ गते गाडी फेला पारेको थियो। फरार चालक तुलसीपुर–३ का २८ वर्षीय सुभम नेपालीलाई मंसिर ७ गते बिहान घोराही उपमहानगरपालिका–१५ बाट पक्राउ गरिएको थियो।
कैलालीको गोदावरी नगरपालिका–४ शान्तिटोलमा बिहीबार बिहान भएको मोटरसाइकल दुर्घटनामा पछाडि सवार २३ वर्षीय सागर साउँदको मृत्यु भएको छ। उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी योगेन्द्र तिमिल्सिनाले सेतोपाटीलाई बताए।
दुर्घटनामा मोटरसाइकल चालक सोही ठाउँका २४ वर्षीय किशोर साउँद घाइते भएका छन्। बिहीबार बिहान साढे २ बजेतिर सु.प.प्र. ०१–१५ प १०४२ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको थियो।
इलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी अधिकारीका अनुसार घाइते चालकलाई उपचारका लागि अत्तरिया अस्पताल लगिएको थियो। सामान्य उपचारपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको छ। मृतकको शव पोस्टमार्टमका लागि अस्पतालमा राखिएको छ। दुर्घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
कञ्चनपुरमा बुधबार राति भएको ट्र्याक्टर दुर्घटनामा चालकको मृत्यु भएको छ। पुनर्वास नगरपालिका–८ खड्डाका ३२ वर्षीय अजय रानाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी टेकबहादुर रावतले सेतोपाटीलाई बताए।
बालुवा बोकेको भे २ त ८०९ नम्बरको ट्र्याक्टर लालझाडी गाउँपालिका–३ बल्मीस्थित सडक किनारमा पल्टिएको थियो। दुर्घटनापछि ट्र्याक्टरको सिटमुनि च्यापिएको अवस्थामा चालक रानाको शव फेला परेको प्रहरीले जनाएको छ। उनको शव पोस्टमार्टमका लागि अस्पतालमा राखिएको छ।
यस्तै, रोल्पामा दुई दिनअघि भएको जिप र मोटरसाइकल दुर्घटनामा घाइते भएकी युवतीको उपचारका क्रममा बुटवलमा मृत्यु भएको छ। सुनछहरी गाउँपालिका–४ की १८ वर्षीया खिमसरी सुनारको बिहीबार बिहान ९ बजेतिर बुटवलस्थित लुम्बिनी सिटी अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक राजेन्द्र चन्दले सेतोपाटीलाई बताए।
मंसिर ८ गते बेलुकी पौने ६ बजे लुङ्ग्री गाउँपालिका–६ भाग्यडाँडामा जिपले मोटरसाइकललाई ठक्कर दिएको थियो। बडाचौर मेला हेरेर घर फर्किंदै गरेका बेला भक्तेचौरबाट बडाचौरतर्फ जाँदै गरेको लु १ ज १७५३ नम्बरको जिपले विपरीत दिशाबाट आउँदै गरेको लु ४२ प ८९७ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।
दुर्घटनामा मोटरसाइकल चालक सुनछहरी–४ कै २८ वर्षीय प्रेम चुनारा पनि गम्भीर घाइते भएका छन्। उनको दाहिने खुट्टा भाँचिएको छ भने शरीरका विभिन्न भागमा भित्री चोट लागेको छ। उनको पनि बुटवलस्थित सोही अस्पतालमा उपचार भइरहेको छ।
मोटरसाइकलमा सवार दुवै घाइतेलाई प्राथमिक स्वास्थ्य केन्द्र सुलीचौरमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि बुटवल रिफर गरिएको थियो। जिप चालक लुङ्ग्री गाउँपालिका–६ का २३ वर्षीय पारस रोका प्रहरी नियन्त्रणमा छन्।