भक्तपुरको बोडेस्थित होल्डिङ सेन्टरमा बसिरहेका सुकुम्बासी परिवारलाई सरकारले शुक्रबारदेखि खाना दिन बन्द गरेको छ।
यसअघि शान्ति सेवा गृहले खुवाउँदै आएको खाना शुक्रबारदेखि रोकिदिएको हो।
सरकारले सूचना नै जारी गरी शुक्रबारदेखि होल्डिङ सेन्टर खाली गर्न भनेको थियो।
खाना पनि रोकिएपछि शुक्रबार केही परिवारले आफैं व्यवस्था गरेर खाएका छन् भने केही भोकै बसेका छन्।
खानाको व्यवस्था नभएपछि त्यहाँका बालबालिकासमेत शुक्रबार विद्यालय जान पाएनन्।
होल्डिङ सेन्टरमा विद्यालय जाने उमेरका ११ जना बालबालिका रहेकामा तीन जना मात्रै विद्यालय गएको कृष्णमाया राइगाइले बताइन्।
बाँकी आठ जना भने विद्यालय जान पनि पाएनन्।
‘निकाल्ने भन्ने त्रासले नातानातिनीलाई स्कुल पठाउन पाइएन। यहाँ ११ जना स्कुल जाने बालबालिका छन्। तीन जना गएका छन्, आठ जना जानै पाएनन्। भोकै पठाउन पनि सकिएन,’ उनले भनिन्।
होल्डिङ सेन्टरमा बसिरहेका सुमन चौधरीले पनि सरकारले खाना रोकिदिएको बताए।
‘कसैले आफै व्यवस्थापन गरे। कोही भोकै छन्,’ उनले भने।
काठमाडौं उपत्यकाका नदी किनारका बस्तीबाट हटाइएका परिवारलाई बोडेस्थित कृषि विकास बैंकको तालिम केन्द्रमा राखिएको थियो।
तर उनीहरूलाई त्यहाँबाट पनि हट्न प्रशासनले शुक्रबार (आज)सम्मको अल्टिमेटम दिएको छ।
जिल्ला प्रशासन कार्यालय भक्तपुरले बुधबार लिखित सूचना टाँसेर मंसिर ११ गते दिउँसो २ बजेसम्म होल्डिङ सेन्टर खाली गर्न निर्देशन दिएको थियो।
यसअघि मंसिर २ गते एक साताभित्र ठाउँ छाड्न मौखिक निर्देशन दिइएको थियो। केही परिवारले ठाउँ छाडे पनि बोडेमा अझै १९ परिवारका ५९ जना बसिरहेका छन्।
प्रशासनले भूमिसम्बन्धी ऐन, २०२१ को दफा ५२ क र ५२ ख अनुसार गरिएको छानबिनमा सात परिवार भूमिहीन नभएको भनेको छ।
तीन पुस्ताभित्र जग्गाजमिन देखिएको वा २०६६ माघ २८ गतेपछि जग्गा कारोबार गरेको पाइए उनीहरू भूमिहीन नमानिने प्रशासनको भनाइ छ।
बाँकी १२ परिवारको हकमा भने जग्गाजमिन नदेखिएकाले उनीहरूलाई भूमिहीनको निस्सा दिने र स्थायी ठेगाना भएका जिल्लाको भूमि समस्या समाधान समितिमार्फत जग्गा यकिन गर्ने प्रक्रिया अघि बढाउने भनिएको छ।
प्रशासनले भूमिहीन देखिएका परिवारलाई होल्डिङ सेन्टर छाडेर स्थायी ठेगाना भएको जिल्लामा जान भनेको छ।
त्यसका लागि एक महिनाको घरभाडाबापत १५ हजार रुपैयाँ र यसअघि व्यवस्थापनका लागि तोकिएको २५ हजार रुपैयाँसमेत उपलब्ध गराइएको भक्तपुरका प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काको भनाइ छ।
तर होल्डिङ सेन्टरमा बसिरहेका परिवारले भने लालपुर्जा वा स्थायी बसोबासको व्यवस्था नभएसम्म ठाउँ नछाड्ने अडान राख्दै आएका छन्।
प्रशासनले दिएको समयसीमा नजिकिँदै गर्दा उनीहरू कहाँ जाने र कसरी गुजारा चलाउने भन्ने अन्योलमा छन्।
सरकारले खाना दिनसमेत बन्द गरेपछि उनीहरूको दैनिकी थप कठिन बनेको छ।
-ink-1795763939.jpeg)
-ink-1795763939.jpeg)
-ink-1795763939.jpeg)
-ink-1795763939.jpeg)
सबै तस्बिरहरूः सरिशा अछामी/सेतोपाटी।