पूर्वमुख्यसचिव एकनारायण अर्याललाई थप म्यादका लागि सरकारी वकिल कार्यालयमा ल्याइएको छ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उनलाई बिहीबार नेपाल–भारत सीमा क्षेत्रबाट पक्राउ गरेको थियो।
पक्राउपछि थप अनुसन्धानका लागि काठमाडौं ल्याइएका अर्याललाई शुक्रबार म्याद थपको प्रक्रिया अघि बढाउन सरकारी वकिल कार्यालयमा ल्याइएको हो।
त्यसपछि उनलाई काठमाडौं जिल्ला अदालतमा उपस्थित गराउने तयारी गरिएको छ।
अर्याल तत्कालीन श्रममन्त्री शेरबहादुर कुँवरका पालामा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको सचिव थिए।
कुँवरले मलेसिया जाने श्रमिकबाट संकलित रकम विदेश पठाउने सम्बन्धी निर्णय गर्दा अर्याल मन्त्रालयको सचिव रहेको प्रहरीको भनाइ छ।
अर्याल २०८२ मंसिर ९ गते मुख्यसचिवबाट अनिवार्य अवकाशमा गएका थिए।
के हो श्रमिक ठगी प्रकरण?
मलेसिया रोजगारीमा जाने नेपाली श्रमिकबाट स्वास्थ्य परीक्षणका नाममा गैरकानुनी रूपमा अतिरिक्त शुल्क उठाएर एक अर्ब ६९ करोड रुपैयाँभन्दा बढी विदेश पठाइएको प्रकरणमा अर्याल पक्राउ परेका हुन्।
यही प्रकरणमा प्रहरीले दुई जना पूर्वमन्त्रीसहित कर्मचारीहरूलाई पक्राउ गरिसकेको छ।
एसएसपी जबराका अनुसार मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षणका क्रममा नेपाल सरकारले निर्धारण गरेको शुल्कबाहेक ‘बायोमेडिकल सर्भिस चार्ज’ (मेडिकल स्क्रिनिङ) का नाममा प्रतिश्रमिक थप १०० मलेसियन रिंगिट असुल गरिएको थियो।
यसरी रकम असुल्न म्याक्रो टेक प्रालि (Macro Tech Pvt. Ltd.) प्रयोग गरिएको प्रहरीको आरोप छ।
यस प्रकरणका मुख्य आरोपी कैलाश खड्का हुन्। उनकै कम्पनी म्याक्रो टेकमार्फत श्रमिकबाट अतिरिक्त शुल्क उठाइएको प्रहरीको दाबी छ। प्रहरीका अनुसार सात लाखभन्दा बढी नेपाली श्रमिकबाट यसरी रकम संकलन गरिएको थियो।
नेपाल र मलेसिया सरकारबीच भएको समझदारी (एमओयू) अनुसार मलेसिया जाने श्रमिकको स्वास्थ्य परीक्षण नेपालमै गर्ने व्यवस्था गरिएको थियो। त्यसका लागि मलेसिया सरकारले नेपालमा म्याक्रो टेकलाई जिम्मेवारी दिएको थियो। स्वास्थ्य परीक्षणको खर्च रोजगारदाताले बेहोर्ने र श्रमिकले आफैले तिरेको अवस्थामा पहिलो महिनाको तलबसँगै फिर्ता पाउने व्यवस्था थियो।
तर, म्याक्रो टेकले निर्धारित शुल्कबाहेक थप १०० रिंगिट ‘बायोमेडिकल सर्भिस चार्ज’ का नाममा श्रमिकबाट उठाएको आरोप छ। मलेसियास्थित बेस्टिनेट कम्पनीले म्याक्रो टेकलाई आफ्नो सिस्टर कम्पनीका रूपमा चिनाउने गरेको पनि यस प्रकरणमा उल्लेख छ।
प्रहरीको अनुसन्धानअनुसार श्रमिकबाट गैरकानुनी रूपमा संकलित रकममध्ये अमेरिकी डलर ८ करोड ३७ लाख ४३९.९२ र बेलायती पाउन्ड ३७ लाख १७ हजार ९८०.८० गरी कुल एक अर्ब ६९ करोड दुई लाख २४ हजार २६ रुपैयाँ ७६ पैसा विदेश पठाइएको थियो। उक्त रकम १७ पटक गरी मलेसिया पठाइएको प्रहरीले जनाएको छ।
रकम विदेश पठाउने निर्णय तत्कालीन श्रममन्त्री रामेश्वर राय यादव र शेरबहादुर कुँवरका पालामा भएको थियो।
उनीहरूका पालामा भएका मन्त्रीस्तरीय निर्णयका आधारमा रकम विदेश पठाउने प्रक्रिया अघि बढाइएको थियो। त्यसपछि अन्य मन्त्री तथा सचिवहरूको कार्यकालमा पनि अघिल्ला निर्णयका आधारमा रकम विदेश पठाइएको प्रहरीको भनाइ छ।
प्रहरीले नेपाल सरकार र मलेसिया सरकारबीच भएको सम्झौताको दायराबाहिर गएर रकम विदेश पठाउने निर्णय गरिएको आरोप लगाएको छ। गैरकानुनी रूपमा संकलित रकम विदेश पठाउँदा मुलुकको विदेशी मुद्रा सञ्चितिमा समेत नोक्सानी पुगेको प्रहरीको दाबी छ।
को-को पक्राउ परे?
यस प्रकरणमा प्रहरीले विभिन्न चरणमा गरी तत्कालीन श्रममन्त्रीदेखि मन्त्रालयका उच्च अधिकारी र निजी कम्पनीका सञ्चालकसम्मलाई पक्राउ गरेको छ।
पहिलो चरणमा गत असोज २९ गते मुख्य आरोपी कैलाश खड्कासहित चार जना पक्राउ परेका थिए। पक्राउ पर्नेमा कैलाश खड्का, रविन्द्र केसी, प्रविण तिवारी र रामपुकार तिवारी छन्। उनीहरूमाथि श्रमिकबाट अतिरिक्त शुल्क उठाउने कार्यमा संलग्न रहेको आरोप छ।
त्यसपछि मंसिर २ गते प्रहरीले तत्कालीन श्रममन्त्री शेरबहादुर कुँवर र रामेश्वर राय यादवसहित छ जनालाई पक्राउ गरेको थियो।
पक्राउ पर्ने अन्यमा श्रम मन्त्रालयका तत्कालीन सचिव विनोद केसी, रोजगार व्यवस्थापन महाशाखाका तत्कालीन प्रमुखहरू उमेश ढुंगाना र राजीव पोखरेल तथा तत्कालीन कानुन अधिकृत निर्मला गुरूङ छन्।
मंसिर १० गते प्रहरीले तत्कालीन श्रमसचिव एकनारायण अर्याललाई मोरङको विराटनगरस्थित नेपाल–भारत सीमा क्षेत्रबाट पक्राउ गरेको थियो। उनीमाथि पनि गैरकानुनी रूपमा संकलित रकम विदेश पठाउने निर्णय प्रक्रियामा संलग्न रहेको आरोप छ।
प्रहरीले यस प्रकरणमा संलग्नमाथि ठगी तथा संगठित अपराध निवारण ऐन, २०७० अन्तर्गत अनुसन्धान गरिरहेको छ।
पक्राउ परेका मन्त्रीदेखि सचिवसम्मले आफ्नो पदीय जिम्मेवारी पूरा नगरी श्रमिकबाट गैरकानुनी रूपमा रकम संकलन गर्ने कार्यमा मौन बसेको र रकम विदेश पठाउने निर्णय तथा प्रक्रियामा संलग्न भएको आरोप छ।