भक्तपुरको बोडेस्थित होल्डिङ सेन्टरमा आश्रय लिइरहेका सुकुम्बासीले शनिबार बिहान सडकमै बसेर खाना खाएका छन्।
प्रशासनले होल्डिङ सेन्टरभित्र खाना लैजान नदिएपछि सडकमै बसेर खान बाध्य भएका हुन्।
सरकारले होल्डिङ सेन्टर खाली गर्न भनेपछि गास र बासको चिन्तामा रहेका सुकुम्बासीका लागि जेनजी अभियानी रक्षा बम, माजिद अन्सारीसहितको समूह शनिबार बिहान खाना लिएर पुगेको थियो।
तर प्रशासनले खाना होल्डिङ सेन्टरभित्र लैजान अनुमति दिएन। त्यसपछि बालबालिका र उनीहरूका अभिभावक गेटबाहिरै बसेर खाना खाएका हुन्।
होल्डिङ सेन्टरमै बस्दै आएका सुकुम्बासी आन्दोलनका अगुवा दलमर्दन कामीले होल्डिङ सेन्टरमा बसिरहेका बाहेक अरूलाई प्रवेश गर्ने अनुमति नदिइएकाले खाना समेत बाहिरै बसेर खाएको बताए।
होल्डिङ सेन्टरमा प्रहरीहरू खटाइएको छ।
'भित्रै बसेकालाई आउजाउ गर्न समस्या छैन। तर बाहिरी मानिसहरूलाई प्रवेश गर्न अनुमति दिइएको छैन,' उनले भने। अभियानीहरूले लिएर आउनुभएको खाना सडकमै बसेर खायौं।'
यसअघि शान्ति सेवा गृहले होल्डिङ सेन्टरमा रहेका सुकुम्बासीलाई बिहान चिया–बिस्कुट र बिहान–बेलुका खाना खुवाउँदै आएको थियो।
तर शुक्रबारदेखि खाना खुवाउने टोली फर्किएपछि उनीहरूलाई समस्या भएको थियो।
शुक्रबार बिहान कतिपय बालबालिकाले बिस्कुट खाएर भोक मेटाएका थिए भने केही बालबालिका भोकै विद्यालय गएका थिए।
शुक्रबार दिउँसो पनि होल्डिङ सेन्टर पुगेका अभियानीहरू आफैले पैसा उठाएर सुकुम्बासीका लागि चिउरा किनिदिएका थिए।
शनिबार बिहानसम्म त्यही चिउराको भरमा सुकुम्बासीहरू बसेको कामी बताउँछन्।
बोडेस्थित कृषि विकास बैंकको तालिम केन्द्रमा रहेका सुकुम्बासीलाई जिल्ला प्रशासन कार्यालय भक्तपुरले सूचना जारी गरेर शुक्रबारसम्म होल्डिङ सेन्टर खाली गर्न भनेको थियो।
तर वैकल्पिक बसोबासको व्यवस्था नभएसम्म ठाउँ नछाड्ने अडान उनीहरूले लिएका छन्।
शुक्रबार दिउँसो प्रशासनले तोकेको समयसीमा सकिनुअघि नै प्रहरी टोली होल्डिङ सेन्टर पुगेको थियो। प्रहरीको गाडी देखेपछि त्यहाँ रहेका सुकुम्बासीमा त्रास बढेको थियो।
प्रहरीको टोलीभित्र पसे पनि उनीहरूलाई तत्काल बाहिर निकालिएन। पत्रकारलाई भने होल्डिङ सेन्टरभित्र प्रवेश गर्न दिइएको थिएन।
शुक्रबार दिनभर सुकुम्बासीले आफूहरूलाई वैकल्पिक व्यवस्था नगरी हटाउन खोजिएको भन्दै विरोध गरेका थिए। उनीहरूले लालपुर्जा वा बसोबासको सुनिश्चितता नभएसम्म ठाउँ नछाड्ने बताएका थिए।
१५ दिनका लागि भन्दै होल्डिङ सेन्टरमा ल्याइएका उनीहरूको बसाइ आठ महिना पुगिसकेको छ। थापाथलीलगायतका ठाउँबाट बस्ती हटाइएपछि उनीहरूलाई यहाँ राखिएको थियो।
सरकारले कतिपयलाई भूमिहीन ठहर गरेको छ भने कतिपयलाई विगतको जग्गाको अभिलेखका आधारमा भूमिहीनको सूचीमा राखेको छैन।
प्रशासनले उनीहरूलाई आफ्नो गृहजिल्लामा गएर समन्वय गर्न भनेको छ। तर वर्षौंदेखि गाउँ छाडेर बसेका र त्यहाँ बस्ने ठाउँसमेत नभएका उनीहरू प्रशासनको निर्देशनले मात्रै समस्या समाधान नहुने बताउँछन्।
होल्डिङ सेन्टरमा रहेका कृष्णमाया राइगाईं, हरिमाया जिम्बा, दलमर्दन कामी, कमला चौधरी र पुनम पासवानलगायतले वैकल्पिक व्यवस्था नगरी आफूहरूलाई नहटाउन माग गरेका छन्।
उनीहरूका अनुसार खाना बन्द हुनु, बालबालिकाको पढाइ प्रभावित हुनु र बस्ने ठाउँको टुंगो नहुनुले दैनिक जीवन झन् कठिन बनेको छ।
शुक्रबार साँझ पौने ५ बजेतिर प्रहरी टोली होल्डिङ सेन्टरबाट फर्किएको थियो।
त्यसपछि त्यहाँ रहेका सुकुम्बासीले कम्तीमा त्यस दिन राति बस्न पाउने भन्दै राहत महसुस गरेका थिए। तर खाना र स्थायी बसोबासको समस्या भने कायमै छ।
तस्बिरहरूः
-ink-1795848905.jpeg)
-ink-1795848904.jpeg)
-ink-1795848904.jpeg)
-ink-1795848904.jpeg)
-ink-1795848904.jpeg)
-ink-1795848904.jpeg)
-ink-1795848904.jpeg)
-ink-1795848905.jpeg)
-ink-1795848905.jpeg)
-ink-1795848905.jpeg)
तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी