हामी आममान्छे
(लोकतन्त्रमा सबभन्दा निर्णायक आममान्छे हुन्। ती आममान्छेले राजनीति, दल र नेताबारे के सोच्छन् भन्ने लोकतन्त्रमा महत्त्वपूर्ण कुरा हो। 'हामी आममान्छे' शृंखलामा सेतोपाटीले देशका विभिन्न ठाउँका आममान्छेसँग कुरा गरेको छ। जेनजी आन्दोलनपछि सरकारको कामबारे, राजनीतिक दल र नेताहरूबारे उनीहरूको धारणा बुझ्ने प्रयास गरेको छ। त्यस्तै राज्यको सेवा प्रवाह र राजनीतिक परिवर्तनले उनीहरूको दैनिक जीवनमा पारेको प्रभावलाई उनीहरूले कसरी अनुभूत गरिरहेका छन् भन्ने पनि सोधेको छ – सम्पादकीय नोट)
राप्ती राजमार्गअन्तर्गत तुलसीपुर–६ स्थित लक्ष्मीनारायण मन्दिरको नजिकै उत्तरतर्फको खाली जग्गामा विद्युतीय गाडीका लागि चार्जिङ स्टेसन छ।
चार्जिङ स्टेसनका लागि यहाँको खाली जग्गा भाडामा लिने व्यक्ति अर्कै हुन्।
तिनै व्यक्तिबाट जग्गा भाडामा लिएर चार्जिङ स्टेसनभित्रको दक्षिणतर्फ रूकुम पश्चिमको मुसिकोट नगरपालिका–१, छिङका २३ वर्षीय युवा मदन वलीले 'क्रेभ नेस्ट क्याफे' सञ्चालन गर्दै आएका छन्।
हामीले उनलाई सोध्यौं—
पहिले आफ्नो बारेमा भन्नुहोस् न। परिवारमा को को हुनुहुन्छ र के काम गर्नुहुन्छ?
मेरो घर रूकुम पश्चिमको मुसिकोट नगरपालिका–१, छिङमा पर्छ। मैले यहाँ कफी क्याफे खोलेको पाँच महिना पुग्यो।
यसअघि तुलसीपुरको बरूवा गाउँमा सटर भाडामा लिएर क्याफे खोलेको थिएँ। त्यहाँ ठाउँ अलि साँघुरो लागेकाले यता आएको हुँ।
म अविवाहित छु। मेरा आमाबुवा रूकुममै बस्नुहुन्छ। सानी बहिनी पनि उतै छे। यहाँ मेरी ठूली बहिनी र म बस्छौं।
ठूली बहिनीले कक्षा १२ पास गरेकी छे। मलाई सघाउँदै कोरियन भाषा सिकिरहेकी छे।
मैले पनि १२ कक्षा पास गरेको छु। परिवारको जेठो छोरा भएकाले मैले गरिबीका कारण चाहेर पनि थप पढ्न पाइनँ। त्यसपछि म कमाउन इन्डिया गएको थिएँ।
तपाईंले भारतमा के के काम गर्नुभएको थियो? त्यहाँ कति समय बस्नुभयो?
जेठो छोराको जिम्मेवारी धेरै हुन्छ। घरखर्चका लागि कमाउनुपर्यो। बहिनीहरू पढाउनुपर्यो। त्यसका लागि म इन्डिया गएको थिएँ।
पहिलो पटक सिमला गएँ। त्यहाँ स्याउ बोक्ने, गोडमेल गर्ने जस्ता काम गर्दै ६ महिना बिताएँ। दैनिक भारू ३०० कमाइ हुन्थ्यो। मासिक ९,००० जति भारू कमाइ हुन्थ्यो। मैले मेहनतले कमाएको पैसाको निकै जतन गर्थेँ। घर पठाउँथेँ।
त्यसपछि के गर्नुभयो नि?
त्यसपछि घर फर्किएँ। मेरो गाउँकै एक जना साथी काठमाडौंमा आयुर्वेदिक कम्पनीमा काम गर्थे। उनकै सहयोगमा कम्पनीमा जोडिएर मैले विभिन्न ठाउँ डुल्दै, घुम्दै मार्केटिङको काम गरेँ।
ओखलढुंगा, खोटाङ, सोलुखुम्बु, डोल्पा लगायत जिल्लामा सोही काम गर्दै तीन वर्ष बिताएँ।
कमाइ मेहनतमा भर पर्थ्यो। जति बेच्न सक्यो, उति कमाइ हुन्थ्यो। एक लाखको बेच्दा १० हजार आफ्नो हुन्थ्यो। कम्पनीले हामीलाई बिक्रीको १० प्रतिशत हिस्सा दिन्थ्यो। मैले त्यहाँ काम गर्दा मासिक ४५ हजार रूपैयाँसम्म कमाएको रेकर्ड थियो।
आयुर्वेदिक कम्पनीमा काम कहिले छोड्नुभएको थियो?
म बाइक दुर्घटनामा परेपछि त्यो काम छाडेँ। गाउँकै साथीले चलाएको मोटरसाइकल भित्तामा ठोक्किएपछि मेरो दाहिने खुट्टाको घुँडाको जोर्नी भाँचियो। ६ महिना आराम गर्नुपर्यो। दुई लाख रूपैयाँ खर्च लाग्यो। त्यो ऋण तिर्न म फेरि इन्डिया गएँ।
केरलामा दुई वर्ष बसेँ। सुरूका ६ महिना क्याफेमा भाँडा माझेँ। १२ हजार भारू तलब आउँथ्यो। त्यहाँको भाषा जानिसकेपछि सजिलो भयो। जुस, चिया, बर्गर, स्यान्डविच, कफीका साथै बिस्तारै बिरयानी, केएफसी, फ्राइड राइस, चिकेन सुप तथा चाइनिज आइटमका केही परिकार बनाउन सिकेँ।
पछि मैले मासिक २५ हजार भारू कमाउन थालेँ। दुई वर्षजति काम गर्दा पाँच लाख जति कमाएँ। अनि मलाई अर्काको देशमा धेरै बसिरहन मन लागेन। फर्किएर तुलसीपुरमा सानोतिनो क्याफे खोलेँ।
तपाईंको काम, कमाइ र घरखर्च अहिले कसरी चलिरहेको छ?
अहिलेसम्म राम्रै छ। सल्यान जिल्लाका एक जना कुक राखेको छु। अंकलको छोरा भाइ र मेरी बहिनीले काम गर्छन्। दैनिक आठदेखि १० हजार रूपैयाँको कारोबार हुन्छ। आधाजति बचत हुन्छ। हामी सबैको खर्च यसैबाट चलेको छ।
मासिक १८००० रूपैयाँ भाडा तिर्छु। यो सबै संरचना र फर्निचर बनाउन नौ लाख खर्च लाग्यो। तीन लाख ऋण लिएको थिएँ। यो बीचमा कमाइबाट एक लाख तिरेँ। अब गाउँघरको ऋण दुई लाख बाँकी छ। त्यो पनि छिट्टै तिर्न सक्छु भन्ने विश्वास छ।
यससँगै मैले पश्चिम दाङको श्रीगाउँमा आठ मिटर प्लटिङको जग्गा (घडेरी) पनि किस्तामा किनेको छु। त्यो जग्गा किन्दा पहिलेको पसल दिएर पाँच लाख थपेको थिएँ। त्यसमा पनि एक लाख बुझाइसकेको छु। किस्ता तिर्ने म्याद आगामी फागुनसम्म छ। त्यतिखेरसम्म तिरेर सक्छु भन्ने आँट छ।
अहिले तपाईं र तपाईंको परिवारलाई सबैभन्दा बढी चिन्ता लागेको कुरा के हो?
मलाई त यहाँ कसरी मेहनत गरी पैसा जोडौं भन्ने सबैभन्दा धेरै चिन्ता लाग्छ। सानो भए पनि दाङमै आफ्नै घर बनाउने सपना छ।
त्यसपछि पहाडबाट बुबाआमा र बहिनीलाई ल्याएर सँगै राख्ने योजना छु।
पहाडमा बढी दुःख छ। हाम्रो जग्गाजमिनमा राम्रै अन्न उत्पादन हुन्छ। बुबाआमा खेतीकिसानी गर्नुहुन्छ। उहाँहरूले हाम्रा लागि साँझबिहान निकै मेहनत गर्नुहुन्छ।
अब मैले केही वर्ष मेहनत गरी उहाँहरूलाई आफूसँगै राख्ने सपना देखेको छु।
तपाईंको घरपरिवार वा नातागोताका युवाहरू नेपालमै केही गर्न चाहन्छन् कि विदेश जान चाहन्छन्, किन?
कक्षा १२ उत्तीर्ण गरेकी मेरी ठूली बहिनी तुलसीपुरमै कोरियन भाषा सिकिरहेकी छे। उसको उद्देश्य विदेश जानु नै हो। यता पनि दुःख गर्नुपर्छ र उता (विदेश) पनि दुःख नहुने कुरै भएन।
अझ यताको भन्दा बढी अपहेलना वा हेपाइ उतै हुन्छ होला। जे भए पनि आफूले दुःख–सास्ती खेपेर पनि केही वर्ष मेहनत गरी घरपरिवारलाई सुख दिन्छु भन्ने सोचका कारण धेरै युवा विदेश नै ताकिरहेका हुनुपर्छ।
प्रायः युवा विदेश जान खोज्नुको पछाडि रहर मात्रै होइन, बाध्यता पनि हो जस्तो मलाई लाग्छ। किनभने हाम्रो देशमा रोजगारीका अवसरहरू छैनन्। भए पनि तलब–सुविधा निकै न्यून छ। यहाँको कमाइ खाइपिई ठिक्क जस्तै हुन्छ। राम्रोसँग घरगृहस्थी चलाउनै मुस्किल छ भन्ने युवाहरूको बुझाइ छ।
जेनजी आन्दोलन हुँदा तपाईंलाई के लागेको थियो?
त्यो बेला त म इन्डियामै थिएँ। पहिलो दिन भटाभट युवाहरूमाथि गोली चलाएको खबर भाइरल हुँदा कस्तो निर्दयी सरकार रहेछ भन्ने लागेको थियो।
तर दोस्रो दिन फेरि जताततै आगो झोसेका रिलहरू देख्दा अब हाम्रो मुलुक खरानी हुने भयो भन्ने चिन्ताले सताएको थियो।
युवाहरू किन सडकमा आएका हुन् जस्तो लाग्छ? उनीहरू सबैभन्दा बढी के कुराले रिसाएका थिए?
मलाई लाग्छ, त्यसभन्दा पहिलाका नेताहरूले युवाका भावनाहरू बुझेनन् वा बुझ्न खोजेनन्। उनीहरूले राम्रो काम गरेका थिएनन् होला।
युवाले चाहे जस्ता, उनीहरूले भने जस्ता सेवा र अवसरहरू राज्यबाट मिलेनन् होला। फेसबुक बन्द गरेपछि जेनजी युवाहरू सबैभन्दा धेरै रिसाएका थिए।
त्यो आन्दोलनको के कुरा तपाईंलाई ठिक लाग्यो, के कुरा बेठिक लाग्यो?
आन्दोलन गरे भन्दैमा सरकारले युवा प्रदर्शनकारीमाथि त्यसरी गोली चलाउनु नपर्ने थियो। राज्यकै सुरक्षाकर्मीले चलाएको गोलीले त्यति धेरै युवा मारिनु वा सहिद बनाइनु गलत थियो।
अर्कोतर्फ सरकारी कार्यालय वा व्यक्तिका घर–सम्पत्ति जलाएर खरानी पारिनु पनि गलत थियो।
जे जस्तो भए पनि पुरानो सरकार ढालेर युवाहरूको आन्दोलनबाट नयाँ सरकार आयो। यसलाई सकारात्मक मान्नुपर्छ।
आन्दोलनपछि देशमा केही राम्रो भए जस्तो लाग्छ कि पहिले जस्तै छ?
काठमाडौंमा बागमती नदी क्षेत्रमा ठूलो सुधार भएको मान्नुपर्छ। नदी किनारका सुकुम्बासी बस्ती हटाउनु सकारात्मक मान्नुपर्छ। सुकुम्बासी बस्ती हटाइएपछि हाल खोला–नाला मजाले आफ्नै बाटोमा बग्न पाएका छन्।
वास्तवमा बुझ्ने हो भने यो सुकुम्बासीहरूका लागि पनि राम्रो हो। किनभने अबदेखि त्यहाँ डुबान वा बाढीको जोखिम रहने छैन।
तपाईं र तपाईंको परिवारको जिन्दगी अब राम्रो हुन्छ भन्ने लाग्छ कि पहिले जस्तै हो भन्ने लाग्छ?
अब मुलुकमा केही सुधार होला भन्ने कुरामा म आशावादी छु। सर्वसाधारण जनताको काम छिटोछरितो होला, आम मानिसका लागि केही सेवासुविधा बढ्लान् भन्ने लाग्छ।
यातायात, शिक्षा र अस्पतालमा सबैभन्दा धेरै सुधार हुन जरूरी छ। आम मानिसका लागि पिउने पानी र बिजुलीबत्तीमा पनि थप सुविधा यो सरकारले दिनुपर्छ भन्ने मलाई लागिरहन्छ। न्यूनतम विद्युत युनिट खपत गर्ने सर्वसाधारण र खानेपानी उपभोग गर्नेहरूलाई राज्यले छुट दिन सक्नुपर्छ।
सामान्य मानिसका लागि निजी स्कुल र अस्पताल निकै महँगा छन्। सरकारले शिक्षा र स्वास्थ्यमा निकै ठूलो सुधार गर्न जरूरी छ। त्यति भए म जस्ता धेरै मानिसले सुविधा पाउनेछन्। म र मेरो परिवारको व्यक्तिगत कुरा पनि त्यस्तै हो।
यो सरकारले गरेका राम्रा काम र गर्न नसकेका काम के–के हुन्?
पहिला इन्डियाबाट व्यापक रूपमा तरकारी र फलफूलहरू आउँथे। अहिले त्यस्तो छैन। सबै बन्द भएको छ। नेपाली किसानका तरकारी तथा फलफूलले मूल्य पाइरहेका छन्। यो राम्रो पक्ष हो।
भ्रष्टाचारका ठूला घटनाका फाइल खोल्ने कुरा भए पनि त्यो हुन सकेन। यद्यपि केही शीर्ष नेताहरूलाई पक्राउ गरी सरकारले गलत गर्ने कोही पनि जोगिँदैनन् भन्ने सन्देश भने प्रवाह गरेको छ।
विदेशबाट युवा स्वदेश फर्काउँछौं भन्ने कुरा भोट तान्न गफ मात्रै थिए भन्ने मलाई लाग्छ।
यो सरकार बनेको छ महिनाजति भयो। तर यो बीचमा भोटेकोशीले ठूलो विपद निम्त्यायो। त्यो विपदमा सरकारले ढिला नगरी उद्धारमा खटिनु राम्रो पक्ष थियो। आलोचना त भगवानको समेत हुन्छ भने बालेन को हुन् र?
पहिलो कुरा, भ्रष्टाचार न्यूनीकरणमा ध्यान दिनुपर्छ। अर्को कुरा, महँगी नियन्त्रण भएन। मैले माथि भनेजस्तै सरकारी विद्यालय र अस्पतालहरूमा ठूलो सुधारको खाँचो छ।
अर्को कुरा, सडक राम्रो बनाउन राज्यले विशेष ध्यान दिन सके दुर्घटना घट्ने थिए। सडक राम्रो भए यात्रा सहज हुने थियो। भाडा सस्तो हुने थियो।
पुराना पार्टी र नेताहरू आन्दोलनपछि सुधारिए कि उस्तै छन्?
मलाई त खासै सुधार भएको जस्तो लाग्दैन। उनीहरू अहिले पनि आफ्नै चालमा छन्। आफ्नै पारामा छन्।
यत्रो आन्दोलन र परिवर्तनबारे अधिकांश पुराना पार्टीका पुराना नेता आज पनि बेखबर भएजस्तै गरिरहेका छन्। त्यो मनैदेखि स्वीकार गर्न उनीहरू चाहिरहेका छैनन्। त्यसलाई उनीहरू विदेशी षड्यन्त्र भनिरहेका छन्।
अहिले कुन पार्टीले देशलाई सही बाटोमा लैजान सक्छ जस्तो लाग्छ?
अहिलेको अवस्थामा राष्ट्रिय स्वतन्त्र पार्टी नै हो। जनमत पनि त्यही छ। यति छिट्टै पुराना पार्टीहरूलाई कसरी विश्वास गर्ने?
तपाईंलाई अहिले आशा लागेका तीन जना नेता को–को हुन्? उनीहरूले के गरिदिऊन् भन्ने लाग्छ?
बालेन शाह, सुधन गुरूङ र रवि लामिछानेले केही गर्लान् भन्ने आशा छ।
ठूला उद्योगधन्दा खोलेर नेपालमै रोजगारीका अवसर सिर्जना गर्न ध्यान दिनेछन् भन्ने विश्वास छ। युवा विदेश पलायन हुने क्रम रोक्न उनीहरूले नीतिगत रूपमै केही गरून् भन्ने चाहना छ।
***
सेतोपाटी शृंखला 'हामी आममान्छे' पढ्न यहाँ क्लिक गर्नुहोस् — हामी आममान्छे