हामी आममान्छे
(लोकतन्त्रमा सबभन्दा निर्णायक आममान्छे हुन्। ती आममान्छेले राजनीति, दल र नेताबारे के सोच्छन् भन्ने लोकतन्त्रमा महत्त्वपूर्ण कुरा हो। 'हामी आममान्छे' शृंखलामा सेतोपाटीले देशका विभिन्न ठाउँका आममान्छेसँग कुरा गरेको छ। जेनजी आन्दोलनपछि सरकारको कामबारे, राजनीतिक दल र नेताहरूबारे उनीहरूको धारणा बुझ्ने प्रयास गरेको छ। त्यस्तै राज्यको सेवा प्रवाह र राजनीतिक परिवर्तनले उनीहरूको दैनिक जीवनमा पारेको प्रभावलाई उनीहरूले कसरी अनुभूत गरिरहेका छन् भन्ने पनि सोधेको छ – सम्पादकीय नोट)
चण्डीप्रसाद न्यौपाने बुटवल उपमहानगरपालिका वडा नम्बर ११, तल्लो देविनगरमा बस्छन्।
२०१९ सालमा स्याङ्जाको वालिङदेखि बुटवल आउँदा देवीनगर क्षेत्र जंगलले ढाकिएको थियो। २०१८ सालमा वालिङमा पहिरो गएपछि बुबा (नरभूपाल) र दुई दाजुभाइसहित बुटवल आएका उनीहरूले जंगल फाँडेर ५ बिघा जमिन ओगटेका थिए।
उमेरले ८१ वर्ष लागेका चण्डीप्रसाद अहिले पनि सामाजिक कामहरूमा सक्रिय छन्। केही दिनपहिले घरमै भेटिएका चण्डीप्रसादलाई हामीले सोध्यौं —
पहिले आफ्नोबारे भन्नुस् न।तपाईंको परिवारमा को को हुनुहुन्छ, के काम गर्नुहुन्छ?
परिवारमा त श्रीमती, दुइटा छोरा–बुहारी र नाति–नातिनी छन्। उमेर बुढो भएपछि काम त केही गर्न सकिँदैन। यसो सामाजिक काममा हिँड्छु।
मैले आफैले गठन गरेको सहकारी छ। दीपावली सहकारी, त्यसको गठन गरेपछि नै १७ वर्ष अध्यक्ष भएँ। असोजको २६ गते अधिवेशन गरेर जिम्मेवारी हस्तान्तरण गरेको छु।
८१ वर्षको उमेरसम्म सहकारीको अध्यक्ष बनेर सक्रिय रहँदा कत्तिको अप्ठ्यारो भयो?
किन अप्ठ्यारो हुनु र? केही पनि भएन। म यो क्षेत्रमा बसोबास गरेको पहिलो व्यक्ति भएकोले कुलो, पानी, खानेपानीजस्ता काममा पनि म सक्रिय हुन्छु। एउटा सहकारी बनाऔं भनेर आफै संस्थापक अध्यक्ष भएर गठन गरेका थियौं। अहिले अध्यक्ष छाडे पनि संरक्षक भनेर राखेका छन्। त्यसैमा सक्रिय रहन्छु।
तपाईंको कमाइ र घरखर्च अहिले कसरी चलिरहेको छ?
थपिने गरी कमाइ त अहिले केही पनि छैन। पहिलेदेखि नै जग्गाजमिन पर्याप्त थियो, त्यही बिक्री गर्दै खाँदै गरेका छौं। मेरा दुइटा छोरा हुन्। कान्छा छोरा–बुहारीले भान्सा अलग बनाएका छन्। ठूला छोरा–बुहारी र हामीसँगै छौं।
घरखर्च म आफैले चलाउने गरेको छु।
अहिले तपाईं र तपाईंको परिवारलाई सबभन्दा बढी चिन्ता लागेको कुरा के हो?
मलाई त अहिले कुनै पनि चिन्ता छैन। मैले गर्न सक्ने सबै गरेँ। छोराहरूलाई पढाएँ। नाति–नातिनीलाई पनि पढाएँ। एउटा नाति डाक्टर पढिरहेका छन्। नातिनी पढ्न विदेश गएकी छन्। सबै राम्रो छ, म सन्तुष्ट छु। कुनै पनि चिन्ता छैन।
तपाईंको परिवारका तन्नेरीहरू नेपालमै केही गर्न चाहन्छन् कि विदेश जान चाहन्छन्?
एउटा नातिनी अमेरिका गइसकेकी छन्। कान्छो छोरा पनि विदेश गएर फर्किएको हो। डाक्टर पढिरहेको नातिले केही भनेको छैन। अरू पनि साना–साना छन्।
मैले भनेको माने त विदेश नगए हुन्थ्यो। काम गर्न सक्नेहरूलाई विदेश जानै पर्दैन भनिरहेको छु।
अहिलेका तन्नेरीहरू किन विदेश जान खोज्छन् होला?
नेपालमा पढाइका लागि खर्च धेरै चाहिन्छ। विदेश गए काम गर्दै पढ्न पनि पाइयो, त्यही भएर पनि होला। अहिले त झन् नेपालको जमिन बाँझो बनाएर विदेश जानेहरू धेरै छन्।
जेनजी आन्दोलन हुँदा तपाईंलाई के लागेको थियो?
आन्दोलनको नाममा देश नै जलाएर सत्ता कब्जा गर्न खोजिएको हो। त्यस्तो पनि आन्दोलन हुन्छ? त्यो त विध्वंस हो। सरकारले सबैले भनेको जस्तो गर्न सकेको थिएन होला, तर जलाएर देश बन्छ?
युवाहरू किन सडकमा आएका हुन् जस्तो लाग्छ? उनीहरू सबैभन्दा बढी के कुराले रिसाएका थिए?
नेपालका राजनीतिक पार्टीहरू र नेताहरूले पूरा गर्न नसक्ने आशा देखाए। देखाएका आशा पूरा नभएपछि जनता रिसाए, भएको त्यही हो।
नभए नेपालमा विकासै नभएको त होइन नि। यही बुटवलवरिपरि हेरौं न। हामी आउँदा कस्तो थियो, १० वर्षपहिले कस्तो थियो, अहिले कस्तो छ। अलि अलि सरकारमा बसेकाहरूको दम्भले पनि युवाहरू रिसाएका हुन्।
भदौ २३ गतेको आन्दोलनलाई सामान्य नसोचेर सरकारले युवाहरूका माग सुनेको भए त्यसरी मान्छे मारिने र देश नै जल्नुपर्ने अवस्था आउने थिएन।
त्यो आन्दोलनको के कुरा तपाईंलाई ठिक लाग्यो, के कुरा बेठिक लाग्यो?
आन्दोलनमा ठिक लागेको कुरा केही पनि छैन। जति भयो, सबै गलत भयो। मान्छे मारिने, सिंहदरबार, देशभरका सरकारी कार्यालयहरू, व्यक्तिका घरहरू जलाइयो। अब ती घरहरू, कार्यालयहरू बनाउन कति समय र पैसा चाहिन्छ, त्यो कहाँबाट आउँछ? आन्दोलनको नाममा जे जे भयो, सबै गलत भयो।
यहीँ पनि हेर्नु त, बालकृष्ण खाँणका भाइ श्यामकृष्ण खाँण, जो राजनीतिमा केही मतलब नभएको मान्छे, उनको पनि घर जलाइदिए। लीला गिरी, गाई पालेर राजनीति गरेको मान्छेको घर जलाइयो। त्यस्तो पनि गर्न पाइन्छ?
आन्दोलनपछि देशमा केही राम्रो भएजस्तो लाग्छ कि पहिलेजस्तै छ?
के राम्रो भयो र? केही पनि राम्रो भएको छैन। पहिलेजस्तो थियो, अहिले पनि उस्तै छ। देश जलाएर आएकाहरूले राम्रो गर्न पनि गर्दैनन्।
देश अब राम्रो हुन्छ भन्ने लाग्छ कि उस्तै हो भन्ने लाग्छ?
देशलाई राम्रो नबनाएर सुखै छैन, बनाउनुपर्छ। तर त्यसका लागि सबै मिलेर गर्नुपर्छ। मैले एक्लै देश बनाउँछु भनेर कसैले भन्छ भने त्यो पत्याउन सकिन्न।
तपाईं र तपाईंको परिवारको जिन्दगी अब राम्रो हुन्छ भन्ने लाग्छ कि पहिलेजस्तै हो भन्ने लाग्छ?
मेरो र परिवारको जिन्दगी त पहिले पनि राम्रै थियो, अहिले पनि राम्रै छ। भोलि त झन् राम्रो होला नि।
अहिलेको सरकारले राम्रो काम गरिरहेको छ जस्तो लाग्छ कि चित्तबुझ्दो काम गर्न सकेको छैन?
अहिलेको सरकारले गरेको काम नै के छ र राम्रो लाग्नु? पहिले त काम गर्नुपर्यो नि, त्यसपछि बल्ल काम कस्तो भयो भनेर हेर्ने हो। चुनावमा जाँदा यिनीहरूले केको बाचा गरेका थिए, खोइ पूरा गरेको?
हाम्रो सरकार बनेपछि जिबी राईलाई एक सय दिनमा समात्छौं, सबैको पैसा फिर्ता दिलाउँछौं भनेका थिए। खोइ, अहिले जिबी राई कहाँ छन्, किन समात्न सकेका छैनन्?
सरकारले केही काम नै गरेको छैन?
के गरेको छ, तपाईंले भन्नुस् न। मैले त केही पनि देख्दिनँ। सरकारमा भएको एउटा गयो, अर्को आयो, त्यति मात्रै हो।
सुरूमा सरकारी कार्यालयहरूमा सुधार हुन्छ कि जस्तो देखिएको थियो, त्यो लामो टिक्न सकेन। अहिले यातायात कार्यालय, मालपोत कार्यालयमा जानुस् त, सेवा सुधार भयो कि भएन थाहा हुन्छ।
सुकुम्बासीहरूलाई वितरण गरेका लालपुर्जा अहिलेको सरकारले बनाएको हो र? पहिलेको सरकारले तयार गरेका लालपुर्जा अहिलेको सरकारले वितरण गरेको मात्र हो।
नापजाँच गरेर कतिपय लालपुर्जासमेत तयार भइसकेपछि जेनजी आन्दोलन भयो। त्यो नभएको भए पहिलेको सरकारले नै लालपुर्जा वितरण गरिसक्थ्यो।
यो सरकारले गर्न नसकेका काम के–के हुन्?
सरकारले केही पनि काम गर्न सकेको छैन। देश जलाएर बनेको भएर होला, अहिलेको सरकार बनेपछि देशमा केही पनि राम्रो भएको छैन। दैवले पनि सरकारलाई साथ दिएको छैन।
जेनजी आन्दोलनपछि पुराना पार्टी र नेताहरू सुध्रिएजस्तो लाग्छ कि उस्तै छन्?
नेताहरू कोही पनि कहिल्यै सुध्रिँदैनन्। अहिले पनि सुध्रिएका छैनन्। नेपाली कांग्रेसले बल्लबल्ल महाधिवेशन गरेर गगनलाई सभापति बनायो, तर शेरबहादुर देउवाले अझै स्वीकार गरेका छैनन्। एमाले उस्तै छ। केपी ओलीको बोली उस्तै छ। कहाँ सुध्रिए त?
अहिले कुन पार्टीले देशलाई सही बाटोमा लैजान सक्छ जस्तो लाग्छ?
देशलाई सही बाटोमा लैजाने पार्टी त अहिलेसम्म कुनै पनि देखिएको छैन। कोही पनि एउटा पार्टी र एउटा व्यक्तिले भन्दैमा देश बनाउन सक्दैन।
देश बनाउन सबै मिल्नुपर्छ। तर नेपालमा मिलेर देश बनाउने नेताहरू देखिएका छैनन्। पार्टीभन्दा बाहिरका युवाहरू मिले भने देशलाई अगाडि बढाउन सक्छन्। इमानदार मान्छेहरू पनि छन् होला।
तपाईंलाई अहिले आशा लागेका तीन जना नेता को–को हुन्?
अहिलेका कुनै पनि नेताहरूप्रति मलाई आशा छैन। जति पनि छन्, ती सबै आफ्नो लागि मात्र नेता बनेका हुन्। मलाई त राजा महेन्द्र र वीरेन्द्र मन पर्थे, उनीहरू छिट्टै बितिहाले।
अहिलेका नेताहरूले के गरून् भन्ने चाहनुहुन्छ?
हामीले भनेर, चाहेर नेताहरूले मान्ने भए देशमा सुशासन ल्याउनुस् भन्न चाहन्छु। राजनीति भनेको सेवा हो। सेवालाई व्यापार नबनाउनुस् भन्न चाहन्छु।
***
सेतोपाटी शृंखला 'हामी आममान्छे' का अन्य स्टोरी पढ्न यहाँ क्लिक गर्नुहोस्