हामी आममान्छे
(लोकतन्त्रमा सबभन्दा निर्णायक आममान्छे हुन्। ती आममान्छेले राजनीति, दल र नेताबारे के सोच्छन् भन्ने लोकतन्त्रमा महत्त्वपूर्ण कुरा हो। 'हामी आममान्छे' शृंखलामा सेतोपाटीले देशका विभिन्न ठाउँका आममान्छेसँग कुरा गरेको छ। जेनजी आन्दोलनपछि सरकारको कामबारे, राजनीतिक दल र नेताहरूबारे उनीहरूको धारणा बुझ्ने प्रयास गरेको छ। त्यस्तै राज्यको सेवा प्रवाह र राजनीतिक परिवर्तनले उनीहरूको दैनिक जीवनमा पारेको प्रभावलाई उनीहरूले कसरी अनुभूत गरिरहेका छन् भन्ने पनि सोधेको छ – सम्पादकीय नोट)
दाङको तुलसीपुर उपमहानगरपालिका–११ बेलगनारका ३६ वर्षीय अर्विन चौधरीसँग यात्राका क्रममा बाटोमा भेट भयो।
समाजशास्त्रमा स्नातकोत्तर उनी 'पोषण सहजकर्ता' का रूपमा काम गर्दा रहेछन्।
हामीले उनलाई सोध्यौं—
पहिला आफ्नो बारेमा भन्नुहोस् न। परिवारमा को–को हुनुहुन्छ र के काम गर्नुहुन्छ?
मेरो घर तुलसीपुर उपमहानगरपालिका–११ बेलगनारी हो। म ३६ वर्षको भएँ। मैले समाजशास्त्रमा स्नातकोत्तर गरेको छु।
म अहिले विकट गाउँघरबाट बजारतर्फ जाँदै छु।
मेरो पछिल्लो काम भनेको गाउँ गाउँ पुग्ने र त्यहाँका गर्भवती महिला र बालबालिकाको पोषणको अवस्था बुझ्ने हो। पछिल्लो नौ महिनादेखि म ब्याकवार्ड सोसाइटी एजुकेसन (बेस) संस्थाको 'पोषण सहजकर्ता' का रूपमा कार्यरत छु।
सोही संस्थाको कार्यक्षेत्रमा खटाएका ठाउँमा पुगेर गर्भवती महिला र बालबालिकाको पोषणको अवस्थाबारे तथ्यांक संकलन गरी रिपोर्ट तयार पार्छु।
मेरी श्रीमतीको नाम लक्ष्मी चौधरी हो। उनी तुलसीपुर–११ उरहरीस्थित वडा कार्यालयको कम्प्युटर अपरेटर हुन्। विगत १३ वर्षदेखि त्यहाँ अस्थायी ज्यालादारीका रूपमा कार्यरत छिन्।
छोरा १६ वर्षको छ। प्लस टूमा पढ्छ। छोरी तीन वर्षकी छिन्। ५६ वर्षीया आमा हुनुहुन्छ।
तपाईं यसअघि के गर्नुहुन्थ्यो?
पहिला १६ वर्ष विभिन्न काम गरेँ। तुलसीपुरकै हिमाल एकेडेमी बोर्डिङ स्कुलमा तीन महिनाजति कम्प्युटर अपरेटर थिएँ। त्यसअघि तीन–चार महिना पसलका सामान ओसारपसार गर्ने पिकअप चलाएँ।
मैले आइडी नेपाल संस्थाको ग्रामीण महिला उत्थान केन्द्रमा बाली बिमा सहजकर्ताको रूपमा पनि काम गरेँ। असहाय सेवा संघमा पनि काम गरेँ। अहिलेसम्म विभिन्न संघसंस्थामा १६ वर्षजति काम गरेको छु।
सबैभन्दा बढी आफूलाई चित्त बुझेको काम के हो?
हामीजस्ता सहजकर्ताले संघसंस्थाको सम्झौता अनुसार काम गर्नुपर्छ। कार्यक्रम सकियो कि जागिर पनि सकिन्छ। त्यसैले विभिन्न संघसंस्था चहारिरहनुपर्ने बाध्यता हुन्छ।
असहाय सेवा संस्थामा काम गर्दा मैले मानसिक समस्या भएका र लागुऔषध खाने व्यक्तिहरूको काउन्सिलिङ गरेँ। त्यो बेला मलाई युवा जमात कसरी बर्बाद भइरहेको छ भन्ने बुझेर बहुतै चिन्ता लाग्थ्यो।
पिकअप चलाउँदाको अनुभूति पनि बिर्सन नसकिने छ। मानिसहरू पेसाका आधारमा मूल्यांकन गर्दा रहेछन्। 'ए ड्राइभर, यो सामान उठाएर यहाँ राखिदेऊ' भन्नेहरू धेरै भेटेँ।
तुलसीपुर बजारका एक जना साहुजीले मलाई नजिकबाट चिन्नुभएको थियो।
एक दिन सामान लिन जाँदा उहाँले सबैका सामु भनिदिनुभयो— मानिस कामले ठूलो, सानो हुँदैन। अर्विनले मास्टर्स उत्तीर्ण गर्नुभएको छ। गाडी चलाउँदैमा कोही सानो हुँदैन।
त्यसपछि सबैले मलाई त्यति धेरै पढेर पनि किन ड्राइभर बनेको भने। पछि अर्को अफिसमा कामका लागि बोलाए। अनि मैले पिकअप चलाउन छाडेँ।
सबभन्दा चित्त बुझेको काम चाहिँ पोषण सहजकर्ता हुँदै हो। किनभने मैले बालबालिकाको शारीरिक वृद्धि–विकास, खानपिनबारे बुझेको कुरा सिकाउँदै हिँड्छु।
विकट गाउँबस्तीमा महिला तथा बालबालिकाको पोषणको अवस्था कस्तो छ?
पहिलेको भन्दा धेरै चेतना फैलिएको छ। यो सबै शिक्षा, सार्वजनिक मिडिया, सामाजिक सञ्जालको विकाससँगै सुधार भयो भन्ने मलाई लाग्छ। कुपोषणबाट ग्रसित गर्भवती महिला वा बालबालिका निकै कम फेला पर्छन् भन्नुपर्छ।
विकट गाउँघरमा आफ्नो उत्पादनको महत्त्व तथा त्यसको प्रयोग बढ्दै गएको छ। दही, मोही, दूध, मकै, भटमास स्वस्थकर हो भन्ने चेतना फैलिँदै गएको छ। गर्भावस्थाका खतरा, बालबालिकाको पालनपोषण सम्बन्धी ज्ञान पनि विस्तार भएको छ।
स्थानीय सरकारले पनि यसमा ठूलो भूमिका खेलेको छ भन्ने लाग्छ। सुत्केरीलाई भाले, अण्डा, घिउजस्ता कुरा उपहार दिने कुराले पनि धेरै कुरा सिकाउँदै गयो भन्ने लाग्छ।
तपाईंको कमाइ र घरखर्च अहिले कसरी चलिरहेको छ?
मेरो र श्रीमतीको कमाइले घरगुजारा चलेको छ। गाउँघर डुल्न मेरो आफ्नै मोटरसाइकल छ, श्रीमतीको पनि आफ्नै स्कुटी थियो। दुर्घटनापछि बेचिदिएको थिएँ। अब फेरि किन्ने सल्लाह भइरहेको छ। त्यति भए अरू के चाहियो र!
घरपरिवार छाडेर टाढा जानुभन्दा पनि आफ्नै गाउँठाउँमा काम गर्न पाउँदा सन्तुष्ट छु। काम गर्दै जाँदा समाजका कुरा केलाउँदै जीवनोपयोगी अदभूत कुरा सिक्न–जान्न पाएको छु भन्ने लाग्छ।
फुर्सद पाएँ भने कसैका घरमा पेन्टिङ गर्ने, खानेपानीका पाइप मर्मतका लागि खन्नेजस्ता काम पनि गरिरहन्छु। काम गर्न केको लाज, होइन र?
अहिले तपाईं र तपाईंको परिवारलाई सबैभन्दा बढी चिन्ता लागेको कुरा के हो?
चिन्ताभन्दा पनि चुनौती भन्छु म। म संघर्षदेखि डराउँदिनँ। छोराछोरीलाई उनीहरूले चाहेसम्म पढाउन मन छ। भाइबुहारी मजदुरी गर्छन्, उनीहरूका लागि पनि केही गरिदिन पाए हुन्थ्यो भन्ने मनमा छ।
एक मनले जग्गाजमिन थोरै थप्न पाए हुन्थ्यो भनिरहन्छ। यो वर्ष पक्की घर बनाउँदा पाँच लाख रूपैयाँजति ऋण लागेको छ। मेहनत गरी त्यो तिर्नु छ।
हालसम्म गरेका काममध्ये कुनैमा केही पछुतो वा मनमा दबेर बसेको अरू कुनै चाहना पनि छ कि?
२०५७ देखि २०६२ सालसम्म म माओवादीको युवा दस्तामा रहेर काम गरेँ।ती दिनहरूमा राजाका फोटो भएका किताबहरू च्यात्दै फालियो। बुर्जुवा शिक्षाको काम छैन भन्दै पढ्न जाने उमेरमा रातभर बम बोकेर हिँडियो। त्यही भएर मलाई आठ कक्षा पास गर्न पाँच वर्ष लाग्यो।
अरूको निर्देशनमा बुर्जुवा शिक्षा भन्दै किताबहरू च्याते पनि जीवनमा पढाइको महत्त्व ठूलो भन्ने कुरा अन्तरमनमा लागिरहन्थ्यो। त्यही भएर नपढे पनि परीक्षा दिन भने जसोतसो पुगिहाल्थेँ।
वर्गीय उत्थान र परम्परागत रूढिवादी सोचका अग्ला पर्खालहरू भत्काउन 'जनयुद्ध' ले ठूलो भूमिका खेलेको हो। तर व्यक्ति हत्याका शृंखला र लोभीपापी केही व्यक्ति विशेषका स्वार्थप्रेरित कार्यहरू भने गलत थिए।
माओवादीमा लागेर ऊर्जावान् समय बर्बाद नगरेको भए आज सरकारी जागिरे हुन्थेँ होला। नभए पनि पिएचडी गर्थेँ होला। मनको कुनामा आज पनि डा. अर्विन चौधरी लेखाउने ठूलो चाहना छ।
म र मेरी श्रीमतीदुवैले समाजशास्त्रमा स्नातकोत्तर गरेका छौं। हालसम्म घरपरिवारमा कसैले नलेखेको इतिहास लेखाउने धोको छ। म मिलाएर अझै पढ्ने छु।
तपाईंको घरपरिवार वा नातागोताका युवाहरू स्वदेशमै केही गर्न चाहन्छन् कि विदेश जान चाहन्छन्? किन?
अधिकांश युवा विदेश जान चाहिरहेको अवस्था छ। यो रहर मात्रै भन्नुभन्दा केही आर्थिक उन्नति गर्छु भन्नेहरूका लागि बाध्यता पनि हो।
यहाँको कमाइले परिवारको खर्च धान्नै मुस्किल छ। गरिबी र पछौटेपन नै हाम्रा साझा दुश्मन हुन्। क्षमता अनुसार रोजगारीका अवसर नहुनु, स्रोतसाधन उपलब्ध नहुनु, कृषिमा लाग्न प्रेरित गर्न समयमै मल पाउनै मुस्किल हुनु र त्यसका लागि अति आवश्यक सिँचाइको उचित प्रबन्ध नहुनुजस्ता मुख्य कारण हुन्।
जेनजी आन्दोलन हुँदा तपाईंलाई के लागेको थियो?
त्यतिखेर म गाडी चलाउँथेँ। जेनजी भनेको भर्खरै सुनेको मात्रै थिएँ, बुझेको थिइनँ। पछि एउटा पुस्ता हो भन्ने थाहा पाएँ। त्यो जेनजी आन्दोलन धेरैका लागि कल्पनाबाहिरको कुरा थियो। जतिखेर मुलुक डेडलकको अवस्थामा पुगेको थियो।
मुलुकको सुरक्षा संयन्त्र मात्रै होइन, मानवीय संवेदनासमेत त्यो आन्दोलनका क्रममा शून्य अवस्थामा पुगेका थिए।
युवाहरू किन सडकमा आएका हुन् जस्तो लाग्छ? उनीहरू सबैभन्दा बढी के कुराले रिसाएका थिए?
मुलुकको मियो थामेका नेताहरूका पुरानै तौरतरिका र शैलीका कामहरू युवाले रूचाएका थिएनन्। युवाहरूले समय अनुकूल रूपान्तरण खोजिरहेका थिए, जुन आवश्यक थियो। नयाँ प्रविधि र जीवनोपयोगी शिक्षा खोजिरहेका थिए।
नेकपा एमाले नेतृत्वको सरकारले त्यो कुरा समयमै बुझेर सम्बोधन गर्न सकेको भए सायद त्यो आन्दोलन नहुन सक्थ्यो। त्यसको प्रतिवाद गर्न एकैसाथ युवाहरू सडकमा उत्रिए जस्तो लाग्छ।
त्यो आन्दोलनको के कुरा तपाईंलाई ठिक लाग्यो, के कुरा बेठिक लाग्यो?
नयाँ शैलीबाट देश अगाडि बढ्नुपर्छ भनेर प्रेरित गर्ने कुरा ठिक थियो। रूपान्तरण समयको माग हो। तर, युवाहरू मारिनु, मुलुकका भौतिक सम्पत्ति तथा पुरातात्त्विक धरोहरहरू आगजनीबाट नष्ट गरिनु गलत थियो।
तुलसीपुरमा तपाईंले पनि देख्नुभयो होला— कोमल वलीको रिसोर्ट, डिल्लीबहादुर चौधरीको निजी भवनमा आगजनी भयो। त्यो पनि गलत थियो।
आन्दोलनपछि देशमा केही राम्रो भएजस्तो लाग्छ कि पहिले जस्तै छ?
आमजनताको अपेक्षा अनुसार हालसम्मको स्थितिमा १९ बाट २० भएन। सरकारी कार्यालयहरूमा उस्तै लाम र भनसुन चलिरहेकै छ। महँगी बढेकै छ, किसानले मल पाएका छैनन्।
परिवर्तनको अनुभूति आमजनताले व्यावहारिक रूपमा गर्न पाउनुपर्छ। सत्तासीन र उनीहरूका आसेपासेले होइन।
तपाईं र तपाईंको परिवारको जिन्दगी अब राम्रो हुन्छ भन्ने लाग्छ कि पहिले जस्तै हो भन्ने लाग्छ?
उस्तै हो। मेहनत आफैले गर्ने हो। राज्यसत्ता भन्नु एउटा संस्था त हो। उसले हाम्रै कर संकलन गरी सेवा दिने न हो। गफले मात्रै केही हुने होइन। विकास गर्न पुँजी चाहिन्छ। अरू जम्मै चुनावी फन्डा हुन्।
पुराना पार्टी र नेताहरू आन्दोलनपछि सुधारिए कि उस्तै छन् जस्तो लाग्छ?
पुराना दलहरू क्रमिक रूपमा रूपान्तरण भइरहेका छन्। हिजोको कमजोरीका कारण बेहोर्नुपरेको क्षति महसुस गर्दै सुधारोन्मुख छन्।
आफ्नो अस्तित्व जोगाउन पनि उनीहरूले सुधार गर्न जरूरी छ। वास्तवमा जेनजी आन्दोलनले नै पुराना दलहरूलाई अलि सक्रिय बनाउन प्रेरित गरेको हो।
अहिले कुन पार्टीले देशलाई सही बाटोमा लैजान सक्छ जस्तो लाग्छ?
हिजोको १० वर्षे 'जनयुद्ध' ले पनि मुलुकमा धेरै गरेको थियो। 'प्रचण्ड' (पुष्पकमल दाहाल) को त्यो क्षमतालाई कमजोर आँक्नुहुन्न।
नेपाली कांग्रेस र नेकपा एमालेभित्र पनि जीवनभर आफूलाई राजनीतिमा समर्पित गरेका असल नेताहरू छन्, जो आफूलाई सुधार गर्न खोजिरहेका छन्। उनीहरूको अनुभव तथा सल्लाह पनि लिन सक्नुपर्छ।
यतिखेर रूपान्तरित अवस्थामा रूपान्तरित नेतृत्वहरू मिल्न अति जरूरी छ। त्यसपछि मात्रै यो मुलुक सही बाटोमा जान सक्छ भन्ने मलाई लाग्छ। अहिलेको अवस्थामा कुनै एउटा दलविशेषको दम्भले देश सही बाटोमा पुग्दैन।
तपाईंलाई अहिले आशा लागेका तीन जना नेता को को हुन्? उनीहरूले के गरिदिऊन् भन्ने लाग्छ?
अहिले आममतदाताले पत्याएका बालेनले सबभन्दा बढी आमजनताको पक्षमा काम गर्न सक्नुपर्छ। त्यो काम भनेको महँगी घटाउने, मुलुकभित्रै रोजगारी सिर्जना गर्ने, सनकका भरमा नभई देश विधिले चलाउने, गरिखाने वर्ग र किसानका समस्या समाधानमा जोड दिने हो।
अर्को कुरा, मेरी श्रीमती लक्ष्मी जस्तै वर्षौंदेखि करार सेवामा कार्यरत व्यक्तिहरूको क्षमता हेरी तत्काल स्थायी गर्न बालेनले ध्यान दिनुपर्छ। होइन भने थप मानिसहरू मुलुक छोड्न बाध्य हुनेछन्।
मलाई सबैभन्दा बढी अझै पनि केही गर्न सक्छन् कि भनेर आशा लाग्ने नेता भने 'प्रचण्ड' नै हुन्।
मेरो क्षेत्रको कुरा गर्ने हो भने शिक्षाबाट विमुख थारू समुदायलाई विगतमा रात्रिकालीन शिक्षा दिएर भए पनि कांग्रेस नेता डिल्लीबहादुर चौधरीले थारू समुदायको चेतना अभिवृद्धि गर्न ठूलो योगदान गरेका थिए। कमैया मुक्ति अभियानमा डिल्लीबहादुरको भूमिका अतुलनीय थियो भन्ने कुरा बिर्सिन मिल्दैन।
मेरो वडाको कुरा गर्नुपर्दा एमालेका मानबहादुर रावतले जनताको काममा देखाएको सक्रियता, वडामा गरेका विकास निर्माणका कामहरूको म प्रशंसा गर्छु।
डिल्लीबहादुर चौधरीको पहलकदमी र वडाध्यक्ष मानबहादुरको सक्रियतामा ऐतिहासिक दंगीशरण थारू राजाको सुकौरास्थित प्राचीन दरबारको महत्त्व फेरि उजागर होला भन्ने आशा छ।
***
सेतोपाटी शृंखला 'हामी आममान्छे' का अन्य स्टोरी पढ्न यहाँ क्लिक गर्नुहोस्