हामी आममान्छे
(लोकतन्त्रमा सबभन्दा निर्णायक आममान्छे हुन्। ती आममान्छेले राजनीति, दल र नेताबारे के सोच्छन् भन्ने लोकतन्त्रमा महत्त्वपूर्ण कुरा हो। 'हामी आममान्छे' शृंखलामा सेतोपाटीले देशका विभिन्न ठाउँका आममान्छेसँग कुरा गरेको छ। जेनजी आन्दोलनपछि सरकारको कामबारे, राजनीतिक दल र नेताहरूबारे उनीहरूको धारणा बुझ्ने प्रयास गरेको छ। त्यस्तै राज्यको सेवा प्रवाह र राजनीतिक परिवर्तनले उनीहरूको दैनिक जीवनमा पारेको प्रभावलाई उनीहरूले कसरी अनुभूत गरिरहेका छन् भन्ने पनि सोधेको छ – सम्पादकीय नोट)
पूर्णबहादुर रसाइली बुटवल हाटबजारभित्रको एउटा सानो चिया पसलमा भेटिए। ६५ वर्षीय पूर्णबहादुर हातमा औषधिको पोको लिएर चिया पिइरहेका थिए।
हामीले उनलाई सोध्यौं —
पहिला आफ्नोबारे भन्नुस् न। तपाईं कहाँ बस्नुहुन्छ, परिवारमा को को हुनुहुन्छ र के काम गर्नुहुन्छ?
मेरो खास घर त गुल्मीको भार्से हो। १५/२० वर्षअघि काम खोज्दै बुटवल झरेको थिएँ। अहिले बुटवलको मैनाबगरमा बस्छु।
घरमा श्रीमती (नैना कुमारी रसाइली), छोरा, बुहारी, नाति–नातिनी छन्। छोरा अटो चलाउँछन्। छोरीको बिहे भइसक्यो। म घर बनाउने लेबर/मिस्त्रीको काम गर्छु। एक महिना भयो, काम केही पाइएको छैन।
तपाईंको कमाइ कस्तो छ, घर खर्च अहिले कसरी चलिरहेको छ?
अहिले घर खर्च चलाउन धेरै दुःख छ। छोरा अलग्गै बसेको छ। हामी बुढाबुढी अलग्गै बस्छौं। बुढाबुढीका लागि म आफैले खर्च जुटाउने गरेको छु। बुढी पनि बिरामी छिन्। छोराले अटो चलाए पनि आफ्नै परिवार हेर्नुपर्यो।
महिनामा कति खर्च चाहिन्छ?
बुढाबुढीले खानुपर्यो, पाहुना आउँछन्। औषधिमुलो गर्नुपर्यो। महिनामा २०/२५ हजार रूपैयाँ चाहिन्छ। अहिलेसम्म दुःखले चलेको छ।
अहिले तपाईं र तपाईंको परिवारलाई सबैभन्दा बढी चिन्ता लागेको कुरा के हो?
चिन्ता त धेरै छ। श्रीमती बिरामी हुन्छिन्। मेरो पनि हातखुट्टा दुख्छन्। खुट्टामा घाउ निस्किएको छ। राम्रोसँग जँचाउन पनि पाएको छैन। बुढेसकालमा दुःख पाइने हो कि भन्ने चिन्ता लाग्छ।
तपाईंको परिवारका तन्नेरीहरू नेपालमै केही गर्न चाहन्छन् कि विदेश जान चाहन्छन्?
अहिलेसम्म छोरा–छोरी पनि विदेश गएनन्, नेपालमै बसेका छन्। अब पनि जाँदैनन् होला। नाति–नातिनी सानै छन्। ठूला भएपछि के गर्छन् भन्न सकिएन। नेपालमा काम गर्न नसके विदेश जाने होलान्। मैले भनेको भए त नेपालमै केही गरेर बसे हुन्थ्यो।
अहिलेका तन्नेरीहरू किन विदेश जान खोज्छन्?
खोइ, नेपालमा काम नपाइने र विदेशमा धेरै कमाउने भएर हो कि! नेपालमा जस्तो पायो त्यस्तै काम गर्न लाज मान्छन्। विदेशमा त जे काम गरे पनि अरूले देख्दैनन्। कहाँ छस् भन्दा विदेशमा छु भन्न पनि पाइयो, पैसा पनि धेरै कमाउने भइयो।
नेपालमा कमाएको सबै खान ठिक्क हुन्छ। विदेशमा कमाएको बचाउन सकिने भयो, त्यही भएर होला।
पोहोर साल जेनजी आन्दोलन हुँदा तपाईंलाई के लागेको थियो?
मैले त एकै पटक गोली चल्ने र आगो लाग्ने भएपछि मात्र आन्दोलन भएको थाहा पाएको थिएँ। गोली चलेर एकै पटक २०/२२ जना मर्ने र आगो लगाउन थालेपछि अब देश सकियो भन्ने लागेको थियो।
युवाहरू किन सडकमा आएका हुन् जस्तो लाग्छ? उनीहरू सबैभन्दा बढी के कुराले रिसाएका थिए?
देशको नेतृत्व गरेकाहरूले राम्रो काम गर्न नसकेको भएर त रिसाएका होलान्। हामी त पढेलेखेका परिएन। धेरै कुरा थाहा पनि हुँदैन। समाचारमा जे आउँछ, त्यही पत्याउने हो।
समाचार केमा सुन्नुहुन्छ/हेर्नुहुन्छ?
रेडियोमा/मोबाइलमा सुन्छु/हेर्छु। यताउता हिँड्दा, यसो चिया पसलमा बस्दा अरूले भनेका कुरा सुनेर पनि देशमा के भएको रहेछ भन्ने थाहा पाइन्छ।
त्यो आन्दोलनको के कुरा तपाईंलाई ठिक लाग्यो, के कुरा बेठिक लाग्यो?
आन्दोलनमा त सबै नराम्रो भयो नि। मान्छे मर्ने, आगो लगाउने पनि राम्रो हो र? जे भयो, सबै नराम्रो भयो।
आन्दोलनपछि देशमा केही राम्रो भएजस्तो लाग्छ कि पहिलेजस्तै छ?
अहिले त राम्रो हुँदै छ। सरकार नयाँ आएको छ। प्रधानमन्त्री, मन्त्रीहरूमा भर्खरका युवाहरू जानुभएको छ। काम गर्छौं, जनतालाई सुविधा दिन्छौं भन्नुभएको छ। हेरौं, के के गर्नुहुन्छ।
देश अब राम्रो हुन्छ भन्ने लाग्छ कि उस्तै हो भन्ने लाग्छ?
देशमा अब राम्रो हुन्छ भन्ने आशा लागेको छ। हामीले भनेर केही हुने होइन। राम्रो–नराम्रो गर्ने सबै माथि कुर्सीमा बसेकाहरूले हो। हामीले त नराम्रो नगर्नु, राम्रो मात्र गर्नु भन्ने हो।
तपाईं र तपाईंको परिवारको जिन्दगी अब राम्रो हुन्छ भन्ने लाग्छ कि पहिलेजस्तै हो भन्ने लाग्छ?
अब काम गर्न सकिन्न। अहिलेसम्म जसोतसो चलेको थियो। अब पनि राम्रो हुन नसके पनि यस्तै भए पनि चले हुन्थ्यो।
अहिलेको सरकारले राम्रो काम गरिरहेको छ जस्तो लाग्छ कि चित्तबुझ्दो काम गर्न सकेको छैन?
अहिलेको सरकार बनेको त यही चुनावपछि मात्रै हो। धेरै समय भएको छैन। अहिलेसम्म नराम्रो गरेको सुनिएको छैन। राम्रै गरेको छ जस्तो लाग्छ।
यो सरकारले गरेका राम्रा काम र गर्न नसकेका काम के के हुन्?
बाढीपहिरो आउँदा हेलिकप्टरमा गएर जनताको उद्धार गर्यो। मन्त्रीहरू आफैले राहत बोकेर गएको पनि देखियो। यो त राम्रै होला। जनताको दुःखमा साथ दिन्छ भन्ने लागेको छ।
काम गर्न त धेरै छन्। गरिबदुःखीहरू बिरामी पर्दा उपचार गरिदिए हुन्थ्यो। काम गर्न नसक्नेहरूलाई सरकारले हेरविचार गर्नुपर्ने हो।
पुराना पार्टी र नेताहरू आन्दोलनपछि सुधारिए कि उस्तै छन्?
पुराना पार्टीका नेताहरू अहिले बोलेको सुन्न, देख्न पाइएको छैन। सुध्रिएर हो कि बोल्ने ठाउँ नपाएर हो कि! अब त सुध्रिएका होलान्।
अहिले कुन पार्टीले देशलाई सही बाटोमा लैजान सक्छ जस्तो लाग्छ?
पार्टी त मलाई थाहा छैन। पहिले धेरै पार्टी आए, देशलाई राम्रो गर्छौं, जनतालाई राम्रो गर्छौं भनेर। केही–केहीले त राम्रै गरेका थिए। बाटोघाटो बनाउने काम गरेका थिए। अब कुन पार्टीले काम गर्न सक्छ भन्न सकिँदैन।
तपाईंलाई अहिले आशा लागेका तीन जना नेता को को हुन्?
मलाई आशा लागेका त एउटा अहिलेका प्रधानमन्त्री बालेन शाह हुन्। रवि लामिछानेले पनि काम गर्छन् कि भन्ने आशा छ।
ती नेताबाट किन आशा छ? उनीहरूले के गरून् भन्ने चाहनुहुन्छ?
अहिलेसम्म राम्रै गरेजस्तो लाग्छ। अरू सबैले पनि यी नै नेताले काम गर्छन् भन्छन्। जनताले आशा गरेका नेताहरूले राम्रै गरे हुन्थ्यो।
*
सेतोपाटी शृंखला 'हामी आममान्छे' का अन्य स्टोरी पढ्न यहाँ क्लिक गर्नुहोस्