हामी आममान्छे
(लोकतन्त्रमा सबभन्दा निर्णायक आममान्छे हुन्। ती आममान्छेले राजनीति, दल र नेताबारे के सोच्छन् भन्ने लोकतन्त्रमा महत्त्वपूर्ण कुरा हो। 'हामी आममान्छे' शृंखलामा सेतोपाटीले देशका विभिन्न ठाउँका आममान्छेसँग कुरा गरेको छ। जेनजी आन्दोलनपछि सरकारको कामबारे, राजनीतिक दल र नेताहरूबारे उनीहरूको धारणा बुझ्ने प्रयास गरेको छ। त्यस्तै राज्यको सेवा प्रवाह र राजनीतिक परिवर्तनले उनीहरूको दैनिक जीवनमा पारेको प्रभावलाई उनीहरूले कसरी अनुभूत गरिरहेका छन् भन्ने पनि सोधेको छ – सम्पादकीय नोट)
सल्यानको शारदा नगरपालिका–६, हलचौरका ३८ वर्षीय हरिबहादुर बुढाथोकीले भारतीय सेनाबाट अवकाश पाएको वर्षदिन पुग्दै छ। हाल उनी तुलसीपुरमा आफूजस्तै 'लाहुरे' उत्पादन गर्न तालिम दिँदै आएका छन्।
हामीले उनलाई सोध्यौं—
पहिला आफ्नो बारेमा भन्नुहोस् न। परिवारमा को को हुनुहुन्छ र के काम गर्नुहुन्छ?
मेरो घर सल्यानको शारदा नगरपालिका–६, हलचौरमा पर्छ। म ३८ वर्षको भएँ। म एक अवकाशप्राप्त भारतीय सैनिक हुँ। मेरो भाइ चोपबहादुर पनि नेपाली सेनामा छ। अब उसको पनि अवकाशको समय नजिक आउँदै छ।
सल्यानस्थित घरमा बुबाआमा बस्नुहुन्छ। म र मेरो भाइ तुलसीपुरमा बस्छौं। म, मेरी श्रीमती प्रतिमा, छोरी दीपशिखा र छोरा दिप्सन सँगै बस्छौं।
उनीहरू तुलसीपुरकै ज्ञानज्योति बोर्डिङ स्कुलमा पढिरहेका छन्। पुर्ख्यौली घरमा आउजाउ गरिरहन्छौं। प्रायः चाडपर्व मनाउन सल्यान जान्छौं।
हाल तुलसीपुरमा पुलिस वा सेनामा जान इच्छुक युवालाई तालिम दिइरहेको छु। त्यसै किन बस्नु भन्ने लाग्छ।
सेना बन्ने सोच कसरी पलाएको थियो?
मैले २०६२ सालमा सल्यानको श्रीनगरस्थित शिवजन माविबाट एसएलसी उत्तीर्ण गरेको थिएँ। म त्यो बेला सितोरियो कराते पनि खेल्थेँ। खेलकै कारण म साथीभाइका बीच जिल्लामा चिरपरिचित भइसकेको थिएँ।
एक दिन गफगाफकै क्रममा साथीहरूबीच अब ब्रिटिस आर्मी बन्नुपर्छ भन्नेबारे छलफल भयो। त्यही गफपछि हामी पाँच जना साथीहरू लाहुरे बन्ने सपनासहित दाङको घोराही झर्यौं। त्यहाँ तालिम लिन थालेका थियौं।
ब्रिटिस आर्मीमा नापिन जानुभएन कि, के भएर भारतीय सेनामा जानुपर्यो?
हैन, गएको हो। घोराही बसेर तीन महिना तालिम गरेपछि हामी पाँचै जना साथीहरू ब्रिटिस आर्मीमा नापिन भनेर पोखरा गएका थियौं। मैले फिजिकलमा सबै राम्रो गरेँ। तर, एजुकेसनमा फेल भएँ। १० वटा प्रश्न मिलाउनुपर्नेमा मैले चार वटा मात्रै मिलाएको थिएँ।
त्यसपछि त्यहाँबाट फर्किनुपर्यो। अरू साथीहरू पनि सबै फेल भए।
त्यो संकटकालको बेला थियो। माओवादी युद्धको समय थियो। के भएर हो कुन्नि, गाडी चलेका थिएनन्। कपिलवस्तुको चन्द्रौटादेखि बिहान पैदल हिँडेका हामी दाङको सिमाना धानखोलासम्म आइपुग्दा लगभग साँझ पर्न आँटिसकेको थियो।
घोराही आएर होस्टलमा बस्यौं। हप्ता दिन नपुग्दै भारतीय सेनाका लागि नौतनवा–सुनौलीमा शिविर थियो। हामी त्यहाँ पनि पुग्यौं, तर म एक्लै पास भएँ। म त साथीभाइको लहडमै लागेर आर्मी भएजस्तो लाग्छ।
पछि मेरा साथीहरूमध्ये दुई जना सशस्त्र प्रहरी बने, एक जना नेपाली सेना। ती साथीहरूमध्ये दुई जना हाल दुबई प्रहरी भएका छन्।
आर्मीमा जागिर खान कत्तिको गाह्रो रहेछ?
धेरै गाह्रो छ। नयाँ आर्मीले धेरै काम गर्नुपर्छ। जस्तै, ब्यारेकमा लिप्ने, पोत्ने, सरसफाइ गर्ने जस्ता काम पनि गर्नुपर्छ। हामी नेपालीहरूको गोर्खाली सेना अलग राख्थ्यो। मसँगै जागिर भएका झन्डै तीन सय जना थियौं।
भारतीय सेनाभित्र नेपाली भनेर कुनै भेदभाव हुन्थ्यो कि? अर्काको देशको रक्षार्थ खटिँदा कस्तो अनुभव हुन्थ्यो नि?
भेदभाव त थिएन। मनमा आफ्नो देशप्रतिको माया अगाध हुन्थ्यो। आफ्नै देश र ठाउँको रक्षार्थ लड्न पाए हुन्थ्यो भन्ने हरेक नेपाली सपूतलाई हुने नै भयो।
तर, सेवा सुविधा र तलबका कारण पनि आज धेरै मानिस विदेशी भूमिमा गएर काम गर्न बाध्य हुनुपरेको छ। यताको आर्मीको भन्दा उताको तीन गुणा बढी तलब छ।
जागिरमा छँदा मासिक तलब कति हुन्थ्यो नि? अहिले पेन्सन कति आउँछ?
म अवकाश पाउने बेला मासिक भारू ८५ हजार तलब बुझ्थेँ। जागिर छोड्दा ४५ लाख भारू जति आयो होला। पेन्सन मासिक ५८ हजार भारू जति आउँछ।
तपाईंको कमाइ र घरखर्च अहिले कसरी चलिरहेको छ?
पेन्सनबाट आउने पैसाले चल्छ। छोराछोरी पढाउन र घरखर्च सबै चलेकै छ।
तर त्यसै बसेर के गर्नु? आफ्नो पनि स्वास्थ्य राम्रो हुन्छ, सिकेको सीप पनि बिर्सिँदैन भन्ने सोचेर मैले तुलसीपुरमा लाहुरेको तालिम पनि दिँदै आएको छु। त्यसबाट मेरो आफ्नै खर्चपर्च उठिहाल्छ।
मेरो 'गोरखा ब्रिगेड ट्रेनिङ सेन्टर' मा छोटो समयमै २७ जना भर्ना भइसकेका छन्।
आज जीवन फर्केर हेर्दा 'लाहुरे' भएर ठिकै गरेँ भन्ने लाग्छ?
लाहुरे हुन मात्रै गाह्रो हो। भइसकेपछि कुनै तनाव भएन। आर्मी भएको दिनदेखि नै तलब सुरू हुन्छ। त्यति भएपछि जीवन ढुक्क भयो। लाइफटाइम पेन्सन आउँछ। दुःखको कुन क्षेत्रमा छैन र? आर्मीमा पनि थोरै बढी शारीरिक दुःख हुने न हो।
पछिल्लो समय भारतीय सेनाको भर्ती रोकिएको छ? यो खुल्नुपर्छ जस्तो लाग्छ कि लाग्दैन?
खोल्नु उचित हो। यो इन्डियाले रोकेको होइन, नेपाल आफैले रोकेको हो। कम्तीमा छिमेकमै भए पनि युवाले रोजगारीका अवसर पाउँथे, हैन त?
तपाईं भारत र पाकिस्तानबीचको लडाइँमा पर्नुभयो कि?
हो, म लडाइँमा सामेल भएको छु। जम्मु–कश्मीरमा ३३ आरआर थियो। हाम्रो पल्टन त्यहाँ जाँदै गर्दा पहिलो दिनमै पाकिस्तानका तर्फबाट गोला चल्न थालेको थियो। हामीले पनि त्यो बेला थुप्रै गोला हानेका थियौं।
लडाइँको बीचमा मनमा कस्तो ख्याल आउँदो रहेछ?
अरूभन्दा पनि त्यो युद्धको बेला कसरी आफू जोगिने भन्ने ख्याल बढी हुँदो रहेछ। आफ्नै जीवनप्रतिको माया लाग्छ। लडाइँका बीचमा कहाँबाट गोला आउँछ र कसरी जोगिने भन्ने नै मुख्य चिन्ता हुँदो रहेछ।
लडाइँका बीचमा विधिले यत्ति लेखेको रहेछ वा अब जीवन यत्ति मात्रै हो रहेछ भन्ने ख्याल आउँदो रहेछ। घरपरिवार, आफन्त र साथीभाइको यादभन्दा पनि बढी त्यस्तो कुरा खेल्दो रहेछ।
त्यस्तो लडाइँ झन्डै तीन महिना चलेको थियो। हामी त्यो बीचमा जमिनमुनिको घरमा हुन्थ्यौं। बेलुकी ६ बजे पहिल्यै खाना खाएर बिहान ४ बज्नुअघि नै बंकरजस्तो घरमा पसिसक्नुपर्थ्यो। नत्र दुश्मनको निशानामा पर्ने खतरा रहन्थ्यो।
पछि इन्डियाले नै युद्धविराम गर्यो क्यारे। त्यसपछि त फेरि फ्री गस्ती। मज्जाले आउजाउ चलेको थियो।
अहिले चाहिँ तपाईं र तपाईंको परिवारलाई सबैभन्दा बढी के कुराको चिन्ता छ?
सबैभन्दा बढी चिन्ता नै बच्चाको हुँदो रहेछ। उनीहरूले राम्रोसँग पढे हुन्थ्यो, भविष्यमा जागिर खाए हुन्थ्यो, असल मानिस बनिदिए हुन्थ्यो भन्ने मनमा हुँदो रहेछ। अहिलेसम्म राम्रै गरिरहेका छन्।
तपाईंका परिवारका तन्नेरीहरू नेपालमै केही गर्न चाहन्छन् कि विदेश जान चाहन्छन्, किन?
सकभर विदेश जान चाहन्छन्। नेपालमा कामको पैसा धेरै कम छ। सेवा सुविधा कम छ। यहाँ दैनिक ज्यालादारी काम गर्ने मजदुरले ५०० देखि १ हजार रूपैयाँसम्म मात्रै कमाउँछ। त्यति मेहनत विदेशमा गर्दा दोब्बर–तेब्बर हुन्छ।
जेनजी आन्दोलन हुँदा तपाईंलाई के लागेको थियो?
त्यो बेला म उतै जागिरमै थिएँ। आफ्नो मुलुकबारे टिभी र सामाजिक सञ्जालमा भिडिओ देख्दा मन साह्रै बेचैन बनेको थियो।
म त्यो बेला घरमा र साथीभाइलाई पटक पटक फोन गरेर अवस्था बुझेको थिएँ। नेपाल खत्तम (नाश) पारे, खरानी भन्ने लाग्थ्यो। नेपाली जनता एकआपसमा लडेर मर्ने हुन् कि भन्ने चिन्ता लागेको थियो।
युवाहरू किन सडकमा आएका हुन् जस्तो लाग्छ? उनीहरू सबैभन्दा बढी के कुराले रिसाएका थिए?
एकाएक सामाजिक सञ्जाल बन्द गरेपछि युवाहरू भड्किए भन्ने लाग्छ। युवाहरूले त्यो बेला आफूहरूलाई अधिकारबाट वञ्चित गरेको महसुस गरे कि?
बेरोजगार युवाको संख्या ठूलो हुनु पनि कारण हो। अर्कोतर्फ, संस्थागत रूपमै भ्रष्टाचार व्याप्त छ भन्ने भाष्य युवाहरूको बीचमा व्याप्त थियो भन्ने मान्छु।
त्यो आन्दोलनको के कुरा तपाईंलाई ठिक लाग्यो, के कुरा बेठिक लाग्यो?
युवाले मुलुकको बेथिति र भ्रष्टाचारीलाई तह लगाए भन्ने लाग्छ। त्यसैको प्रतिफल अहिले मुलुकमा युवाको शासनसत्ता छ।
सरकारी कार्यालय र भवनहरू, सवारीका साधनमाथिको तोडफोड र आगजनी गलत थियो।
आन्दोलनपछि देशमा केही राम्रो भएजस्तो लाग्छ कि पहिले जस्तै छ?
पहिलेको भन्दा केही भएको छ। सरकारी कार्यालयको काम छिटोछरितो हुन थालेको छ। यो सरकारले धमाधम भ्रष्टाचारीहरूलाई पक्रिँदै छ।
अहिलेको सरकारले चित्तबुझ्दो काम गरेको छ जस्तो लाग्छ?
चित्तबुझ्दो काम त अझै गर्न सकेको छैन। तर लागिपरेको छ। बालेन नेतृत्वको सरकार बनेको धेरै भएको पनि छैन। केही राम्रो गर्ला भन्ने आशा छ। भनेअनुसार गरेन भने अर्को पटक फेरि जनताले देखाइहाल्छन्।
तपाईं र तपाईंको परिवारको जिन्दगी अब राम्रो हुन्छ भन्ने लाग्छ कि पहिले जस्तै हो भन्ने लाग्छ?
मेरो व्यक्तिगत जिन्दगी र परिवारभन्दा पनि देशवासी सबैको भविष्य राम्रो हुनुपर्छ। देश सिस्टममा चल्यो भने हरेकको जिन्दगी सहज र सुखद बन्ने हो। सरकारी सेवा सुविधा सबैका लागि समान र सहज बनाउन सक्नुपर्छ।
पुराना पार्टी र नेताहरू आन्दोलनपछि सुधारिए कि उस्तै छन् जस्तो लाग्छ?
उस्तै छन्। अझै तँछाडमछाड गरिरहेकै छन्।
अहिले कुन पार्टीले देशलाई सही बाटोमा लैजान सक्छ जस्तो लाग्छ?
पहिला एमाले–कांग्रेस सबैलाई हेरियो। राम्रो काम गर्न सकेनन्। अब रास्वपालाई पाँच वर्ष हेरौं। जनमत पनि त्यही छ। यतिखेर उसैको आश हो।
तपाईंलाई अहिले आशा लागेका तीन जना नेता को को हुन्? उनीहरूले के गरिदिऊन् भन्ने लाग्छ?
बालेन शाह, रवि लामिछाने र ज्ञानेन्द्र शाही। बालेन पनि दरोखरो बोल्ने मान्छे हुन्।
अर्को कुरा, अहिले रास्वपाको बहुमतको सरकार छ। उसले जे चाह्यो त्यही हुन्छ। युवालाई स्वदेशमै रोजगारीका अवसर दिनुपर्यो। युवालाई विदेशिनबाट रोक्नुपर्यो। कलकारखाना खोल्नुपर्यो। आधुनिक कृषिमा लाग्न युवालाई सरकारले प्रोत्साहन गर्नुपर्छ।
***
सेतोपाटी शृंखला 'हामी आममान्छे' का अन्य स्टोरी पढ्न यहाँ क्लिक गर्नुहोस्