हामी आममान्छे
(लोकतन्त्रमा सबभन्दा निर्णायक आममान्छे हुन्। ती आममान्छेले राजनीति, दल र नेताबारे के सोच्छन् भन्ने लोकतन्त्रमा महत्त्वपूर्ण कुरा हो। 'हामी आममान्छे' शृंखलामा सेतोपाटीले देशका विभिन्न ठाउँका आममान्छेसँग कुरा गरेको छ। जेनजी आन्दोलनपछि सरकारको कामबारे, राजनीतिक दल र नेताहरूबारे उनीहरूको धारणा बुझ्ने प्रयास गरेको छ। त्यस्तै राज्यको सेवा प्रवाह र राजनीतिक परिवर्तनले उनीहरूको दैनिक जीवनमा पारेको प्रभावलाई उनीहरूले कसरी अनुभूत गरिरहेका छन् भन्ने पनि सोधेको छ – सम्पादकीय नोट)
दाङ, तुलसीपुरको गुम्ह्रा चोक नजिकैको एक फलफूल पसलमा तुलसीपुर–१२ का ६२ वर्षीय गोपिराम चौधरीसँग भेट भयो।
उनी बिजुलीको बिल तिर्न विद्युत कार्यालय पुगेर घर फर्किँदै थिए।
हामीले उनलाई सोध्यौं—
पहिले आफ्नो बारेमा भन्नुस् न। परिवारमा को को हुनुहुन्छ र के काम गर्नुहुन्छ?
मेरो घर तुलसीपुर उपमहानगरपालिका–१२, टरिगैँमा हो। म किसान हुँ। घरमा सानो किराना पसल पनि छ। अढाई कट्ठाजति जमिन छ। कच्ची इँटाको घर बनाएको त्यस्तै १८ वर्षजति भयो होला।
घरमा बुढाबुढी मात्रै बस्छौं। बुहारी र दुई नाति बजारमा डेरा गरी बस्छन्। उनीहरू हामीसँग छुट्टिभिन्न भइसकेका छन्। नातिनीहरू सेन्टर स्कुलमा पढ्छन्।
म जग्गा ठेक्कामा (लिजमा) लिएर खेतीपाती गर्छु। यो वर्ष पनि १० कट्ठा जमिन वार्षिक प्रतिकट्ठा १,५०० रूपैयाँका दरले ठेक्कामा लिएको छु। त्यसले खाने अन्नपात पुग्छ।
के घरमा बस्तुभाउ पाल्नुभएको छ? खेत कसरी लगाउनुहुन्छ?
पहिला हल गोरू सधैं हुन्थे। सात वर्षजति भयो, गाईबस्तु पाल्न छाडेको। हाम्रो गाउँमा ६० घरधुरी छन्। तीमध्ये अहसले तीन घरले मात्रै गाईगोरू पालेका छन्।
गाई हुँदा दूध खान पाइन्थ्यो। गोरूले खेत जोत्न हुन्थ्यो। मल खेतीपातीमा प्रयोग हुन्थ्यो। तर पाल्न छाडेपछि दूध छैन। किनेर खान्छौं। मल पनि किन्छौं।
पैसा तिरेर ट्र्याक्टरले खेत जोत्छौं। ट्र्याक्टरले जोताउँदा घन्टाको ३ हजार रूपैयाँ तुरून्त तिर्नुपर्छ। तर सधैं पैसा हुँदैन। ठूलो समस्या छ।
उमेर ढल्कियो। पहिले जस्तो चरन क्षेत्र पनि छैन। गोरू पाल्न सकिँदैन। गोरू भइदिएको भए यस्तो अनावश्यक खर्च हुने थिएन। धान भने आफै काट्छौं।
अहिले तपाईं र तपाईंको परिवारलाई सबैभन्दा बढी चिन्ता लागेको कुरा के हो?
सबैभन्दा बढी चिन्ता भनेकै भविष्यको छ। भविष्यको एक मात्र सहारा, एक्लो छोरो तुलसीराम चौधरी २०६६ सालमा २१ वर्षकै उमेरमा सवारी दुर्घटनामा बित्यो। ऊ स्टार चोकमा कुखुरा काट्ने काम गर्थ्यो। बाटो काट्दै गर्दा जिपले ठक्कर दिएर उसको मृत्यु भयो। हामीले सदाका लागि भविष्यको एक मात्र सहारा गुमाउनुपर्दा जीवन अन्धकारमय भयो।
हाम्रो पक्की घर छैन। घर कहिले बन्ला भन्ने चिन्ता लागिरहन्छ। बजारमै ठूलो घर र पसल कहिले बन्ला भन्ने चिन्ताले सताउँछ। छोरो गुमाउनुपर्दाको चिन्ता त छँदैछ। नातिनीहरू कहिलेकाहीँ घरमा आउँदा पनि मन निकै प्रफुल्ल बन्छ।
तपाईंका घर, छिमेकका युवा छोराछोरी नेपालमै केही गर्न चाहन्छन् कि विदेश जान चाहन्छन्? किन?
हाम्रो गाउँका प्रायः अधिकांश युवा विदेशमा छन्। घरमा आमाबुबा मात्रै छन्। मेरो छिमेकीको छोरा मलेसिया गएको, १० वर्षदेखि घर फर्किएको छैन। आधा उमेर जान थाल्यो, बिहे पनि गरेको छैन।
मलाई लाग्छ, युवाहरू आफ्नै देशमा काम गर्न, मजदुरी गर्न लाज मान्छन्। विदेशमा जे काम गरे पनि कसैले देख्दैन। विदेशमा स्वदेशमा जस्तो सहज र सुख हुने कुरै हुन्न होला। हाम्रो देशको भन्दा विदेशको कमाइ अलि बढी भएकाले पनि युवा जति बाहिरै जान थालेका हुन् कि भन्ने लाग्छ।
जेनजी आन्दोलन हुँदा तपाईंलाई के लागेको थियो?
त्यो आन्दोलन एक्कासि भएको थियो। म गाउँको महतौं (मुखिया सरह) हुँ। त्यो दिन म तुलसीपुर उपमहानगरपालिकामा पुगेको थिएँ। हामीजस्ता झन्डै १५ गाउँका आसपासका महतौंहरूलाई उपमहानगरमा छलफलका लागि निम्त्याइएको थियो।
म नगरपालिका पुग्दा साना फुच्चे केटाहरू गेटमा पुगेका थिए। प्रहरीले गेटमा ताल्चा लगाइदियो। हामी गेटभित्रका मानिस झन्डै दुई घण्टा नगरको प्रांगणमै बस्नुपर्यो। के भइरहेको छ भन्नेसम्म थाहा थिएन।
पछि नाराबाजी गर्दै थप युवाहरू आए। उनीहरूले नेपालको झन्डा पनि बोकेका थिए। त्यो बेलाका प्रधानमन्त्री केपी ओलीविरूद्ध नाराबाजी गर्दै आए। त्यो भीडका सामु प्रहरीको केही जोर चलेन।
कतिपय पर्खाल नाघेर भित्र प्रवेश गरिसकेका थिए। उनीहरूले नगरपालिकाका कुर्सी निकाल्दै फाल्न थाले। मनलाग्दी तोडफोड गर्न थाले। बाध्य भएर प्रहरीले ताला खोलेपछि हामी बाहिर निस्केका थियौं।
म साइकलमा घर फर्किएँ। मैले किन युवाले त्यस्तो विध्वंस गरे भनेर केही बुझ्नै सकेको थिइनँ। पछि मात्रै मैले नगरपालिकाको भवन, मालपोत, उच्च अदालत लगायत सरकारी कार्यालयमा आगो लगाइएको खबर सुनेको थिएँ।
त्यो आन्दोलनको के कुरा तपाईंलाई ठिक लाग्यो, के कुरा बेठिक लाग्यो?
मलाई त त्यो आन्दोलन बेठिक नै लाग्यो। किन त्यस्तो विध्वंस मच्चाउनुपर्ने? हामीलाई अनपढ भन्ने र आफूलाई पढेलेखेका तथा ज्ञानी ठान्ने युवाले क्षणिक आवेगमा आई राज्यको त्यतिधेरै सम्पत्ति स्वाहा पार्नु बेठिक थियो।
उनीहरूकै त्यो ज्यादतीका कारण आज हामीजस्ता सर्वसाधारणले दुःख पाउनुपरेको छ। जलाइएका जग्गाका पुर्जा फेरि बनाउनुपरेको छ। करको भार बढेको छ? कतै आगो लाग्दा आज तुलसीपुरमा दमकल नै छैन। ठूलो आगजनी भए के एक बाल्टिन पानी हालेर हुन्छ? पहिले हाम्रो गाउँमा भीषण आगो लाग्दा निभाउन त्यही दमकल काम लागेको थियो।
पुर्ख्यौली सम्पत्ति भएका र कुनै पनि लाभको पदमा नपुगेका कांग्रेस नेता गेहेन्द्र गिरीको घर जलाउनु, एमाले नेता कोमल वलीको रिसोर्ट जलाउनु र सामाजिक कार्य गर्दै उदाएका कांग्रेस नेता डिल्लीबहादुर चौधरी लगायतका निजी निवास कुनै दिनको रिस पोख्न जलाउनु गलत थियो।
आन्दोलनपछि देशमा केही राम्रो भएजस्तो लाग्छ कि पहिले जस्तै छ?
मलाई त त्यस्तै लाग्छ। हामीजस्ता आम मानिसका लागि खासै केही काम भएको जस्तो लाग्दैन। महँगी बढेकै छ। हेर्नुस् न, यतिखेर सारा लालाबाला (गाईगोरू) छाडा छन्। उनीहरूले किसानका धानबाली खाएर नष्ट गरेका छन्। नगरपालिकाले त्यस्ता छाडा चौपायाको उचित व्यवस्थापनमा ध्यान दिनुपर्ने होइन र?
तपाईं र तपाईंको परिवारको जिन्दगी अब राम्रो हुन्छ भन्ने लाग्छ कि पहिले जस्तै हो भन्ने लाग्छ?
उमेर खस्किसक्यो। अब हाम्रो जीवनमा थप चमत्कार होला भन्ने लाग्दैन। यत्ति हो—हामीजस्ता गरिबका लागि औषधोपचार निकै महँगो छ। कुनै ठूलो बिमारी पर्दा उपचार नपाई मर्नुपर्छ कि भन्ने चिन्ता मनमा छ।
निजी विद्यालयको शिक्षा निकै महँगो छ र सरकारी स्कुलको अवस्था निकै नाजुक छ। त्यसमा सुधार हुन जरूरी छ। गरिब आफ्नै ठाउँमा छौं भने धनीहरू झन्झन् धनी हुँदै छन्।
यो सरकारले गरेका राम्रा काम र गर्न नसकेका काम के–के हुन्?
मलाई त जुन जोगी आए पनि कानै चिरेका भन्ने जस्तै लाग्न थालेको छ। चुनावअघि भनिएजस्तै गरी विदेशबाट युवा फर्काउने अभियान सुरू भएको देखिएन। यो वर्ष मैले धानखेती गर्दा एक बोरा मल समयमै पाउन सकिनँ। त्यो पाउन पहिलेभन्दा अझ बढी मेहनत गर्नुपर्यो। हातपाउ जोड्नुपर्यो।
ग्यास पाउनै मुस्किल छ। सित्तैमा मागेको होइन, पैसा तिरेर पनि ग्यास नपाउने? घरमा बुढापाका मान्छे छन्, उनीहरू ग्यासको लाइनमा बस्न सक्छन्? हामीजस्ता सामान्य मान्छेलाई साँझबिहान खाना कसरी खाने भन्ने तनाव छ।
तरर अहिलेको सरकारले प्रशासनिक क्षेत्रमा सुधारको काम गरिरहेको कुरा सुन्नमा आएको छ। तर सरकारसँग लगानी भएन वा आवश्यक विकासका लागि सम्पत्ति भएन। आशा छ, भविष्यमा भौतिक विकासको क्षेत्रमा थप केही गर्नेछ। राम्रा बाटाहरू बन्नेछन्।
पुराना पार्टी र नेताहरू आन्दोलनपछि सुधारिए कि उस्तै छन्?
सुध्रिएनन्। त्यो आन्दोलनपछि तपाईंले पुराना दलमध्ये कसको पुच्छर सोझो भएको देख्नुभएको छ र? एकाध दलले आफैमा सुधारको प्रयास गरे, तर अधिकांश अझै उस्तै छन्।
अहिले कुन पार्टीले देशलाई सही बाटोमा लैजान सक्छ जस्तो लाग्छ?
माओवादीको पनि देखियो, एमालेका केपी ओलीको पनि हेरियो, शेरबहादुर देउवाको पनि हेरेकै हो, तर गरिबको अवस्थामा सुधार आएन।
भर्खरै बालेन (शाह) आएका छन्। उनले भविष्यमा केही गर्लान् भन्ने आम जनतालाई आशा छ। तर राजनीति भन्ने कुरा आजको भोलि परिवर्तन हुन सक्छ। भरोसा गर्ने हो।
म कुनै पार्टीमा आबद्ध छैन। म गाउँको महतौं हुँ। मेरो पार्टी त्यही हो। म भूँयार (देवता) हेर्छु। राम्रो मान्छे चुनावमा उठे भोट हाल्ने हो।
तपाईंलाई अहिले आशा लागेका तीन जना नेता को–को हुन्?
पहिला प्रचण्डप्रति ठूलो भरोसा थियो, तर गर्न सकेनन्। अब बालेनले केही गर्लान् भन्ने आशा छ। अर्को कुरा, राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री बिपिन आचार्य मेरो घरनजिकैका छिमेकी हुन्। तर उनको घरपरिवार अहिले घोराही बस्छन्।
बिपिनका बुवा शिवु अस्ति भर्खर आएका थिए। उनले आफ्नो घरको रेखदेख गरी फर्किए। गोत्यार सबै यतै छन्। बिपिनका बाजे ज्योतिप्रसाद भमकेबाट बसाइँ सरी हाम्रो गाउँमा आएका हुन्। उनीसँग मेरा बाउबाजेको निकै राम्रो सम्बन्ध थियो।
त्यसैले परेको दिन बिपिनलाई म तिम्रो गाउँले हुँ भन्न सक्छु भन्ने लाग्छ। बिपिनले आफू जन्मेहुर्केको र बाल्यकाल बिताएको ठाउँलाई पक्कै माया गर्छन् भन्ने लाग्छ। यहाँको बाटोघाटोको विकासका साथै नजिकैको टरिगाउँ विमानस्थलको विकासमा जोड दिन्छन् भन्ने आशा छ।
मलाई त माओवादीका कृष्णबहादुर महराप्रति पनि भरोसा थियो। तर उनी के के काण्डमा फसे र गर्न सकेनन्। एमालेका शंकर पोखरेलले पनि गर्न सकेनन्। भाषण मात्रै गर्दै हिँडे। बरू दाङमा जे जति गरे, खुमबहादुर खड्काले गरेका हुन्।
ती नेताहरूबाट किन आशा छ? उनीहरूले के गरून् भन्ने चाहनुहुन्छ?
भैंसी पालेपछि दूध खाऊँला भन्ने आशा हुन्छ। बच्चा पालेपछि भविष्यको सहारा बन्ला भन्ने आशा हुन्छ। हामीले भोट हालेर जिताएपछि बालेनले हामीजस्ता गरिबका लागि केही गर्लान् कि भन्ने आशा छ।
अर्को कुरा, बिपिन गाउँकै हुन्। तर उनीसँग भेट भएको छैन। उनी पढ्न बाहिर बाहिर बसे। गाउँकै भएको नाताले भेटेको दिन भन्न सक्छु भन्ने लाग्छ। उनले कसो मेरो कुरा नसुनून् र!
यातायातको सुविधा चित्तबुझ्दो भएन। तुलसीपुर–घोराहीको बाटोको अवस्था हेर्नुहोस्। गाडीभाडा धेरै महँगो भयो। गरिबले कतै हिँड्दा आफूले उत्पादन गरेको एक–दुई लम्बर अन्न बेचेरै हिँड्ने हो।
अरू व्यक्तिगत कुरा भन्दा पनि देश सिस्टममा चलाऊन् भन्ने हो। सरकारी कार्यालयमा पुग्दा हामीजस्ता सामान्य मानिसको पनि समान इज्जत होस्। काम छिटो होस् भन्ने हो।
देशको विकास गरून् भन्ने हो। गरिबी घटाउन, सहज रूपमा किसानले रासायनिक मल किन्न पाउने व्यवस्था मिलाउन भन्ने हो। किसानका लागि सिँचाइ सुविधा, मल, बिउबिजनको व्यवस्था गरिदिऊन्। गरिबलाई सहुलियत दिनुपर्छ भन्ने हो।
सेतोपाटी शृंखला 'हामी आममान्छे' पढ्न यहाँ क्लिक गर्नुहोस् — हामी आममान्छे