हामी आममान्छे
(लोकतन्त्रमा सबभन्दा निर्णायक आममान्छे हुन्। ती आममान्छेले राजनीति, दल र नेताबारे के सोच्छन् भन्ने लोकतन्त्रमा महत्त्वपूर्ण कुरा हो। 'हामी आममान्छे' शृंखलामा सेतोपाटीले देशका विभिन्न ठाउँका आममान्छेसँग कुरा गरेको छ। जेनजी आन्दोलनपछि सरकारको कामबारे, राजनीतिक दल र नेताहरूबारे उनीहरूको धारणा बुझ्ने प्रयास गरेको छ। त्यस्तै राज्यको सेवा प्रवाह र राजनीतिक परिवर्तनले उनीहरूको दैनिक जीवनमा पारेको प्रभावलाई उनीहरूले कसरी अनुभूत गरिरहेका छन् भन्ने पनि सोधेको छ – सम्पादकीय नोट)
इश्वरा सारूले रूपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर ३, सीता राइस मिल नजिकै खाजा पसल चलाउन थालेको तीन वर्ष भयो।
सटरमाथिको बोर्डमा ‘आँगन खाजा पसल’ लेखिएको छ।
हामीले उनलाई सौध्यौं—
पहिला आफ्नोबारे भन्नुस् न। तपाईँ कहाँ बस्नुहुन्छ, परिवारमा को को हुनुहुन्छ?
हामी बस्ने यहीँ नजिकै हो, भाडामा बस्छौं। यो होटल पनि भाडाकै घरमा हो। घर चाहिँ अर्घाखाँचीको छत्रदेव गाउँपालिका हो। केही गरौं भनेर बुटवलतिर झरेका हौं। अहिले यहाँ श्रीमान (राजन सारू), एउटा छोरा र म बस्छौं।
सात वर्ष बुटवलमा होटल चलायौं, यहाँ गरेको तीन वर्य भयो। रोटी, परौठा, मःम, चाउमिन, मटन र चिकेनका फ्राई आइटमहरू, चिया, कफी बनाउँछौं।
कमाइ कस्तो छ?
जीवन निर्वाह चलिरहेको छ। दिनमा पाँचदेखि छ हजार रूपैयाँको कारोबार हुन्छ। कहिलेकाहीँ त १५–२० हजारसम्मको पनि हुन्छ।
त्यति कारोबार हुँदा कति बचत हुन्छ?
यति नै हुन्छ भनेर सधैं हिसाब त राखिएको छैन। खर्च कटाएर महिनामा ३५–४० हजार रूपैयाँ बचत हुन्छ होला। बचत भएको पैसा बैंकमा राखेका छौं।
बैंकमा खाता कसको नाममा खोल्नुभएको छ?
श्रीमान–श्रीमती दुवै जनाको नाममा संयुक्त खाता खोलेका छौं। जसले चेक काट्दा पनि हुन्छ भनेर। दुवै जनाले मेहनत गर्छौं, एकअर्काप्रति विश्वास छ। दुवै जनाले चाहिनेबाहेक अरू खर्च गर्दैनौं। बचत गरेर घरघडेरी जोड्नुपर्ला।
होटलमा धेरै को खट्नुहुन्छ?
दुवै जना बराबर खट्छौं। पकाउने काम धेरैजसो श्रीमानले गर्नुहुन्छ। उहाँले बढी मीठो पकाउनुहुन्छ (हाँस्दै)। खाजा दिने, काटकुट गर्ने, भाँडा सफा गर्ने धेरैजसो मैले गर्छु। टेबलतिरको काम पनि मै गर्छु।
अहिले तपाईं र तपाईंको परिवारलाई सबैभन्दा बढी चिन्ता लागेको कुरा के हो?
खासै त्यस्तो चिन्ता लागेको केही छैन। आफ्नै क्षमता नभएर हो कि, धेरै ठूलो अपेक्षा पनि राखिएको छैन। ठूलो अपेक्षा नराखेपछि सन्तुष्ट भइने रहेछ।
एउटा छोरा छ, भर्खर १२ कक्षा पास गरेको छ। उसैलाई पढाउन र केही गराउन पाए हुन्थ्यो भन्ने छ।
छोरा नेपालमै केही गर्न चाहन्छन् कि विदेश जान चाहन्छन्?
विदेश जाने भनिरहेको छ।
विदेश पढ्न पठाउने कि काम गर्न?
पढ्न भनेर गए पनि विदेश जाने भनेको कमाउनै हो। विदेशमा काम नगरी कहाँ खानबस्न पुग्छ र? काम गर्न नै जाने होला। तर, अझै कहाँ जाने भन्ने केही निधो भएको छैन।
अहिलेका तन्नेरीहरू किन विदेश जान खोज्छन् होला?
यहाँ देशमा के गरेर बस्ने? राम्रो पढेर बस्नेहरू पनि सोझो–सिधा काम गरेर पाउने तलबले बाँच्नै सकिँदैन भन्छन्। सबैलाई धेरै पैसा कमाउने रहर हुन्छ।
पोहोर भदौ २३ र २४ गतेको जेनजी आन्दोलन हुँदा तपाईंलाई के लागेको थियो?
त्यतिखेर त मलाई खासै थाहा थिएन। म यही होटलमै व्यस्त थिएँ। एकैचोटि मोबाइलमा समाचारहरू आउँदा मात्रै थाहा भयो। समाचारहरूमा आन्दोलनमा गएकाहरूमाथि गोली चलेको, जताततै आगजनी गरेको फोटो र भिडिओ देखेपछि धेरै डर लागेको थियो।
त्यतिखेर युवाहरू किन सडकमा आएका हुन् जस्तो लाग्छ? उनीहरू सबैभन्दा बढी के कुराले रिसाएका थिए?
सरकारले उनीहरूले भनेजस्तो नगरेको भएर होला। आफ्ना मागहरू पूरा नभएपछि नै सरकारविरूद्ध आन्दोलन गर्ने हो। युवाहरूले देशमै बसेर केही गर्छौं भनेका थिए होलान्, सरकारले काम दिन सकेन।
त्यो आन्दोलनको के कुरा तपाईंलाई ठिक लाग्यो, के कुरा बेठिक लाग्यो?
युवाहरूको आन्दोलनले त्यति बेलाको सरकार फालेर फेरि चुनाव भयो, यो त राम्रै हो। तर पुराना संरचनाहरू सबै जलाएर ध्वस्त बनाइयो, त्यो भने राम्रो भएन।
सिंहदरबारहरू जलाउन हुन्थेन। कतिपयका घरहरू पनि जले। जसले जति गल्ती गरे पनि घरहरूले त गल्ती गरेका थिएनन् नि। त्यसरी सम्पत्ति जलाउन हुन्थेन।
आन्दोलनपछि देशमा केही राम्रो भएजस्तो लाग्छ कि पहिलेजस्तै छ?
अहिलेसम्म त के राम्रो भएको छ र, उस्तै लाग्छ। पहिलेको सरकार हटेर चुनावपछि अर्को सरकार बनेको छ, त्यही त हो।
देश अब राम्रो हुन्छ भन्ने लाग्छ कि उस्तै हो भन्ने लाग्छ?
अब त राम्रो होला नि। दुई तिहाइको स्थायी सरकार बनेको छ। अब चाहिँ केही हुन्छ कि जस्तो लाग्छ। चाह्यो भने राम्रो गर्न सक्छ।
तपाईं र तपाईंको परिवारको जिन्दगी अब राम्रो हुन्छ भन्ने लाग्छ कि पहिलेजस्तै हो भन्ने लाग्छ?
आजभन्दा भोलिको जिन्दगी त राम्रो होला नि। राम्रै हुन्छ भनेर बुढाबुढीले मेहनत गरेका छौं। तर पनि समयले कतातिर लैजान्छ, हेरौं। भोलि के हुन्छ भन्ने कसलाई थाहा छ र?
अहिलेको सरकारले राम्रो काम गरिरहेको छ जस्तो लाग्छ कि चित्तबुझ्दो काम गर्न सकेको छैन?
सरकारले गरेका धेरै काम त मलाई थाहा छैन, तर गरेका कामहरू राम्रै लागेको छ। अझै काम देखिने बेला पनि भएको छैन। यही बेला जताततै बाढीपहिरो पनि गयो।
यो सरकारले गरेका राम्रा काम र गर्न नसकेका काम के–के हुन्?
सुकुम्बासी, भूमिहीनहरूलाई खोलाको किनारबाट उठाएर अन्यत्र राखेको मलाई राम्रो लागेको छ। किनभने खोलाको किनारमा बसेको भए अहिलेको बाढीमा कति जनालाई बगाइसक्थ्यो। त्यहाँबाट हटाएर कम्तीमा उनीहरूको ज्यान त जोगियो।
अर्को कुरा, कतिपय सुकुम्बासीहरूले लालपुर्जा पाइसकेका छन्। उनीहरूले कति वर्षसम्म लालपुर्जा पाउन सकेका थिएनन्। जति जनाले पाएका छन्, उनीहरू त खुसी छन्।
गर्न नसकेको काम भनेको अझै पनि भ्रष्टाचार रोकिएको छैन। त्यो रोकिनुपर्थ्यो। नेपालमा सबभन्दा छिटो चाहिएको सुशासन हो। नेपालमा जति ठूलो मान्छेले सेवा–सुविधा पाउँछ, त्यति नै सानो रोडको मान्छेले पनि पाउनुपर्यो। सुविधा सबैलाई बराबर हुनुपर्यो।
स्वास्थ्य र शिक्षा सबैका लागि निःशुल्क गर्नुपर्यो। अहिलेको सरकारले पनि यसप्रति चासो दिएको छैन।
जेन जी आन्दोलनपछि पुराना पार्टी र नेताहरू सुधारिए कि उस्तै छन्?
कोही सुध्रिएजस्तै पनि गर्छन्, कोही उस्तै पनि छन्।
को सुध्रिएजस्तो, को नसुध्रिएजस्तो लाग्छ?
गगन थापा सुध्रिएजस्तो लाग्यो। महेश बस्नेत नसुध्रिएजस्तै लाग्छ। उनको बोली उस्तै छ। अरू पुराना नेताहरू त ठिकठिकै हुन्। शेरबहादुर देउवाले पहिले पनि त्यति बोलेको बुझिँदैनथ्यो। उनको ठाउँमा उनी ठिक होलान्, अरूलाई अब ठिक रहेनन्। ओली (केपी) र प्रचण्ड (पुष्पकमल दाहाल) पनि उस्तै हुन्।
अहिले कुन पार्टीले देशलाई सही बाटोमा लैजान सक्छ जस्तो लाग्छ?
पार्टीभन्दा पनि योग्यता र क्षमता भएको युवा आयो भने जसले पनि गर्छ, गर्न सक्छ। पार्टीहरू त सरकारमा पुगेपछि सबै उस्तै हुन्, आफ्नो मात्र हेर्ने।
तपाईंलाई अहिले आशा लागेका तीन जना नेता को को हुन्?
गगन थापा, रवि लामिछाने र बालेन शाहले केही गर्छन् कि भन्ने आशा छ।
ती नेताबाट किन आशा छ? उनीहरूले के गरून् भन्ने चाहनुहुन्छ?
उहाँहरूले गरेका कुराहरू सुन्दा, अन्तर्वार्ताहरू हेर्दा देशका लागि केही गर्नुहुन्छ जस्तो लाग्छ। उहाँहरूलाई जनताको विश्वास नटुटाउनुहोला भन्न चाहन्छु।
अहिलेको चुनावमा गगन थापाले नजिते पनि अरू दुई जनाले त जित्नुभयो। अबको पाँच वर्षपछि फेरि जित्ने बाटो बनाउन वातावरण मिलाउनुहोला भन्न चाहन्छु।
***
सेतोपाटी शृंखला 'हामी आममान्छे' पढ्न यहाँ क्लिक गर्नुहोस् — हामी आममान्छे