दशौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सह–आयोजक कर्णाली प्रदेश पुरुष फुटबलको लिग चरणबाटै बाहिरिएको छ।
बिहीबार प्रतियोगिताको तेस्रो दिनको पहिलो खेलमा गण्डकी प्रदेशसँग ५–० गोल अन्तरले पराजित भएपछि कर्णालीको यात्रा लिग चरणमै समाप्त भएको हो ।
आजको खेलमा जित निकाल्नैपर्ने दबाबमा रहेको कर्णाली प्रतियोगिताबाट बाहिरिने पहिलो टोलीसमेत बनेको छ । यसअघि मंगलबार भएको उद्घाटन खेलमा कर्णाली नेपाल पुलिस क्लबसँग ३–० गोल अन्तरले पराजित भएको थियो ।
गण्डकीले खेलको सुरुवातदेखि नै कर्णालीमाथि दबाब बनाएको थियो । खेलको १६ औँ मिनेटमा लछु थापाले गोल गर्दै गण्डकीलाई अग्रता दिलाए । त्यसपछि आशिष गुरुङले खेलको २५ औँ र ३३ औँ मिनेटमा लगातार दुई गोल थप्दै गण्डकीको अग्रता ३–० मा पुर्याए ।
दोस्रो हाफमा पनि गण्डकीले आफ्नो आक्रामक खेललाई निरन्तरता दियो । खेलको ५७ औँ मिनेटमा सुदीप गुरुङले गोल गर्दै अग्रता ४–० बनाए । खेलको अतिरिक्त समयमा टेकराज गुरुङले थप एक गोल गरेपछि गण्डकी ५–० को फराकिलो जित निकाल्न सफल भयो ।
म्याच कमिसनर वीरेन्द्र पाण्डेका अनुसार खेलमा गण्डकीका रन्दीप पौडेल र यामबहादुर श्रेष्ठ तथा कर्णालीका दिलविजय शाहीले पहेँलो कार्ड पाएका थिए ।