कोरोना भाइरसका कारण घरेलुदेखि अन्तर्राष्ट्रिय खेलकुद प्रतिस्पर्धा गत मार्चदेखि प्रभावित भए। तीन महिना ठप्प भएका खेलकुद प्रतिस्पर्धा बिस्तारै फर्कन थालेका छन्।
भोलि बुधबारदेखि इंग्ल्यान्ड र वेस्ट इन्डिजबीच टेस्ट क्रिकेट हुँदैछ। यो खेल कोरोना भाइरपछि प्रतिस्पर्धा हुने पहिलो अन्तर्राष्ट्रिय क्रिकेट खेल हुनेछ।
युरोपलगायतका देशका घरेलु खेलकुद यसअघि नै सञ्चालनमा आएका थिए। डब्लूएचओ र देशको स्वास्थ्य निर्देशिक पालना गर्दै सुरु भएका प्रतियोगितामा दर्शकको उपस्थिति छैन।
नेपालमा भने खेलकुदका घरेलु प्रतिस्पर्धा कहिले फर्कन्छ यकिन छैन। नेपालले खेल्ने फुटबल र क्रिकेटका अन्तर्राष्ट्रिय प्रतिस्पर्धा पनि कहिले हुन्छन् तय भइसकेको छैन।
फुटबलमा विश्वकप छनोटका तीन वटा खेल स्थगित भएको स्थिति छ भने क्रिकेटमा विश्वकप लिग-२ का तीन वटा सिरिज स्थगित गरिएको थियो।
त्यसैले नेपाली खेलाडीले अन्तर्राष्ट्रिय प्रतिस्पर्धा गर्न लामै समय कुर्नु पर्ने देखिन्छ।
नेपालका युवा लेग स्पिनर सन्दीप लामिछाने भने दुई महिनापछि मैदान उत्रन सक्ने सम्भावना छ।
सन्दीप आगामी अगस्टमा हुने तय क्यारेबियन प्रिमियर लिग (सिपिएल) टिम जमैका तलावाजमा १ लाख ३० हजार अमेरिकी डलर* मा आबद्ध भएका छन्। उनले ड्राफ्टमा ९० हजार अमेरिकी डलर मूल्य तोकेका थिए।
सोमबार जमैकामा आबद्ध भएको सार्वजनिक भएसँगै फेरि मैदान फर्कन आतुर भएको सन्दीपले बताए।
'जमैका मेरो लागि नयाँ टिम छ। मैले सिपिएलमा तीन फरक फ्रेन्चाइजबाट खेल्ने अवसर पाउँदैछु। सबैलाई धन्यवाद दिन चाहान्छु,' सन्दीपले सिपिएलको ड्राफ्ट सार्वजनिक गरिएपछि भने,'लामो समयदेखि फिल्डमा क्रिकेट खेलेको छैन। त्यसैले फेरि क्रिकेट खेल्नका लागि आतुर छु।'
आगामी अगस्ट तेस्रो सातादेखि हुने सिपिएल खेल्नका लागि सन्दीप एक महिनाअघि नै त्यहाँ पुग्नु पर्नेछ।
कोरोना भाइरसका कारण यसपटकको लिग एक देशमा मात्र हुने तय छ। लिग आगामी अगस्ट १८ देखि सेप्टेम्बर १० सम्म ट्रिनिडाड एन्ड टोबागोमा गर्ने आयोजकले निर्णय गरेको थियो। तर ट्रिनिडाडको सरकारले प्रतियोगिताका लागि अनुमति दिन बाँकी नै छ।