अस्ट्रेलियाका विकेटकिपर ब्याटर जोश इंग्लिसले आफ्नो विवाह योजनाका कारण आइपिएल २०२६ मा खेल खेल्न नपाउने पुष्टि गरेका छन्।
हालै भएको आइपिएलको मिनिअक्सनमा इंग्लिसलाई लखनऊ सुपर जायन्ट्सले ८.६ करोड भारतीय रुपैयाँमा किनेको थियो।
तर उनी आइपिएल २०२६ को पूरै सिजनमा उपलब्ध हुनेछैनन्। कारण हो – उनी अप्रिलको सुरुतिर विवाह गर्दैछन्। आइपिएल २०२६ मार्च २६ देखि मे ३१ सम्म चल्ने तालिका छ।
इंग्लिसले एबिसी स्पोर्ट्सलाई आफूले सुरुवाती खेल गुमाउनेबारे भनेका छन्, ‘यो वर्ष म पूरै समय उपलब्ध छैन किनभने अप्रिलको शुरुमै मेरो विवाह छ। त्यसैले मलाई कसैले भित्र्याउछ भन्ने आशा नै थिएन। सुरुमा मेरो नाम नबिकेपछि मैले सोचें – ल ठिक छ, सुतौं। किनभने भोलिपल्ट एशेजका लागि तयार हुनुपर्थ्यो। बिहान उठ्दा मात्र थाहा भयो कि मलाई किनिएको रहेछ।’
उनी अघिल्लो सिजन पञ्जाब किंग्स टिममा थिए। पञ्जाबका सह–मालिक नेस वाडियाका अनुसार उनले इंग्लिसलाई नै राख्ने योजना बनाएका थिए।
तर रिटेन्सनको अन्तिम समयभन्दा ४५ मिनेटअघि मात्र इंग्लिसले पूरै सिजन उपलब्ध नहुने जानकारी गराएका थिए।
वाडियाले हिन्दू पत्रिकासँग भनेका छन्, ‘उनले अन्तिम समयमा मात्र हामीलाई पूरा सिजन उपलब्ध नहुने जानकारी गराएका थिए। जुन राम्रो भएन किनभने उनी हामीसँग लामो समय थिए। रिटेन्सनको समय सबैलाई थाहा थियो। उनले विवाहपछि आराम गर्नुपर्ने र केवल केही हप्ता उपलब्ध हुने बताएका थिए। कसैले पनि अन्तिम ४५ मिनेटमा मात्र ‘म आउँदिन’ भन्न मिल्दैन। तर पनि उनलाई शुभकामना छ। उनी राम्रो खेलाडी हुन्। अस्ट्रेलियाका लागि राम्रो गर्नेछन्। आइपिएलमा खेल्छन् कि खेल्दैनन् हेर्न बाँकी छ।’
आइपिएलको आफ्नो पहिलो सिजनमा इंग्लिसले पञ्जाबका लागि ११ इनिङ्समा २७८ रन बनाएका थिए।
उनको औसत ३०.८८ र स्ट्राइक रेट १६२.५७ थियो। उनले मुम्बई इन्डियन्सविरुद्ध ४२ बलमा ७३ रनको महत्वपूर्ण इनिङ्स खेलेका थिए।