आइपिएल टिम दिल्ली क्यापिटल्सले लेगस्पिनर प्रवीन दुबेलाई टिममा आबद्ध गरेको छ।
अनुभवी लेगस्पिनर अमित मिश्रा घाइते भएर टिमबाट बाहिरिएसँगै दिल्लीले २७ वर्षीय दुबेलाई टिममा आबद्ध गरेको हो। दुई साताअघि घाइते भएसँगै मिश्राले दिल्लीको टिम छाडेका थिए।
उत्तर प्रदेशका दुबेले घरेलु क्रिकेट भने कर्नाटकाबाट खेल्ने गरेका छन्। यसअघि उनी रोयल च्यालेन्जर्स बेंग्लोरमा सिजन २०१६ र २०१७ का लागि आबद्ध भएका थिए। तर उनले त्यतिबेला टिमबाट खेल्न पाएनन्।
सन् २०१९ मा सयेद मुस्तक अली ट्रफीको उपाधि कर्नाटकाले जित्दा उनले ८ खेलमा ६ विकेट लिएका थिए।
कर्नाटका प्रिमियर लिगमा उत्कृष्ट प्रदर्शन गरेसँगै उनी सन् २०१५-१६ को सिजनका लागि उनी प्रदेश टिममा परेका थिए।
दुबेले अहिलेसम्म १४ टी-२० का खेल खेलेका छन्। जसमा उनले १६ विकेट लिएका छन्।
दुवैसँगै दिल्लीको टिममा रविचन्द्रन आस्विन, अक्षर पटेल र सन्दीप लामिछाने गरी चार जना स्पिनर भएका छन्।
दुबे भित्र्याएसँगै नेपालका युवा लेगस्पिनर सन्दीपका लागि पहिलो रोजाइमा खेल्न झन् कठिन भएको छ।
मिश्रा बाहिरिएसँगै सन्दीप दिल्लीका एकमात्र लेगस्पिनरको रुपमा थिए। तर दिल्लीका लागि अब दुबे र सन्दीप गरी दुई विकल्प भएको छ।
सिजनको आइपिएलमा दिल्लीले ९ खेल खेल्दा सन्दीपले अहिलेसम्म पहिलो रोजाइमा मौका पाउन सकेका छैनन्।