पीएम कप काठमाडौं जिल्ला पुरुष छनोट क्रिकेट प्रतियोगिता २०८२ मा ब्याटरहरूले आफ्नो लय कायम राख्दै तीन फरक खेलमा तीन शानदार शतक प्रहार गरेका छन्। छनोटमा बुधबार पनि तीन शतक प्रहार भएका छन्।
एन्जल्स स्पोर्ट्स एकेडेमीका उपेन्द्र खत्रीले १३७ बलमा १७३ रनको विशाल शतकीय पारी खेलेका छन्। उनको यस प्रभावशाली प्रदर्शनको मद्दतले एन्जल्सले ५० ओभरमा ९ विकेट गुमाएर ३०७ रनको बलियो योगफल तयार पारेको थियो।
जवाफी ब्याटिङमा उत्रिएको चन्द्रगिरी क्रिकेट एसोसिएसन ३८.३ ओभरमा २४६ रनमा अलआउट भएपछि एन्जल्सले ६१ रनको जित दर्ता गर्यो। उपेन्द्रले ब्याटिङका साथै बलिङमा १ विकेट पनि लिए र उनी 'प्लेयर अफ द म्याच' घोषित भए।
महावीर स्टडिज एन्ड एथलेटिक्स सेन्टरका उत्तम थापा मगरले मात्र ९१ बलमा १३८ रनको विष्फोटक शतक प्रहार गरे।
उनको शतकीय योगदानको सहयोगमा महावीरले ५० ओभरमा ४०८ रनको विशाल स्कोर खडा गरेको थियो।
जवाफमा वान डे क्रिकेट एकेडेमी ३५ ओभरमा मात्र १२६ रनमा समेटिएपछि महावीरले २८२ रनको फराकिलो अन्तरले खेल जित्यो। विष्फोटक इनिङ्स खेलेका उत्तम थापा मगर खेलको 'प्लेयर अफ द म्याच' चुनिए।
ओएसिस क्रिकेट एकेडेमीका नितेश बुढाथोकीले १२२ बलमा १४१ रनको उत्कृष्ट योगदान दिएका छन्। ओएसिसले ४२.५ ओभरमा सबै विकेट गुमाएर ३२८ रन बनाएको थियो।
३२९ रनको लक्ष्य पछ्याएको रेडियन्ट क्रिकेट एकेडेमीलाई मनोज यादवको ५ विकेटको मद्दतले मात्र ६८ रनमा अलआउट गर्दै ओएसिसले २६० रनको विशाल जित हात पार्यो। १४१ रन बनाएका नितेश बुढाथोकी सो खेलको 'प्लेयर अफ द म्याच' बने।