हङकङमा जारी महिला एसिया कप राइजिङ स्टार्समा नेपाल जितविहीन हुँदै प्रतियोगिताबाट बाहिरिएको छ।
थाइल्यान्डमा भएको समूह चरणको आफ्नो अन्तिम खेलमा आज नेपाल भारतको 'ए' टोलीसँग ७ विकेटले पराजित भएको छ।
यसअघि नेपाल पहिलो खेलमा पाकिस्तान 'ए' र दोस्रो खेलमा युएईसँग पराजित भएको थियो। लगातार तीन हारसँगै नेपालको यात्रा समूह चरणमै सकिएको छ।
मंगलबार पहिले ब्याटिङ गरेको नेपाल १८ ओभरमा ७८ रनमै अलआउट भयो।
सम्झना खड्काले २२ रन जोड्दा नेपालका अन्य ब्याटर सस्तैमा आउट भए। कुनै बेलमा ५६ रन बनाउँदा तेस्रो विकेट गुमाउको नेपालले बाँकी सबै विकेट २२ रनमै गुमायो।
बलिङमा भारतकी तानुजा कुँवरले ४ विकेट लिइन भने मिनु मानीले ३ विकेट हात पारिन्।
७९ रनको लक्ष्य भारतले ७.५ ओभरमा ३ विकेटको क्षतिमा पूरा गर्यो। उसका लगि दिनेश बृन्दाले १८ बलमा ९ चौकाको मद्दतमा ३९ रन बनाइन्।
नेपालले यस प्रतियोगितामा सोचेअनुरुप प्रदर्शन गर्न सकेन। पाकिस्तान र भारतका 'ए' टोलीहरूसँगको अनुभव नेपालका लागि आगामी दिनमा फलदायी हुने अपेक्षा गरिएको छ।