आइसिसी टी-२० विश्वकप २०२६ अन्तर्गत भारतको मुम्बईको प्रसिद्ध वानखेडे रंगशालामा अहिले नेपाल र स्कटल्यान्डबीच प्रतिस्पर्धा भइरहेको छ।
टस जितेको नेपालले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको स्कटल्यान्डले ६ ओभरको पावरप्लेमा विनाविकेटको क्षतिमा ५२ रन बनाएको छ।
उसका जर्ज मुन्से नटआउट १५ रन र माइकल जोन्स नटआउट ३४ रन बनाएर खेलिरहेका छन् । पावरप्लेमा दीपेन्द्रसिंह ऐरीले तीन ओभर बलिङ गर्दा २३ रन दिएका छन् भने सोमपालले दुई ओभरमा १७ रन खर्चिएका छन्। नन्दनले एक ओभरमा दश रन खर्चिएका छन्।
खेलका लागि नेपाली टोलीमा एक परिवर्तन गरिएको छ। करण केसीको स्थानमा सन्दीप जोराले खेल्दैछन्। यससँगै नेपालको १५ सदस्यीय टोलीमध्ये १४ खेलाडीले यसपटक बसिर अहमदले मात्र मौका पाउन सकेनन्।
नेपालको प्लेइङ-११
कुशल भुर्तेल
आसिफ शेख (विकेटकिपर)
रोहित पौडेल (कप्तान)
दीपेन्द्र सिंह ऐरी
आरिफ शेख
सन्दीप जोरा
लोकेश बम
गुलशन झा
सोमपाल कामी
नन्दन यादव
सन्दीप लामिछाने
स्कटल्यान्डको प्लेइङ ११
जर्ज मुन्से
माइकल जोन्स
ब्रान्डन म्याकमुलेन
रिची बेरिङ्टन (कप्तान)
टम ब्रुस
म्याथ्यू क्रस (विकेटकिपर)
मार्क वाट
माइकल लिस्क
ओलिभर डेभिडसन
ब्राड ह्विल
ब्राड करी
दुवै टोली समूह ‘सी’ को अन्तिम खेलअघि नै बाहिरिसकेका छन्। तर यसले दुवै टोलीको प्रतिष्ठा र भविष्यको कथा पक्कै लेख्नेछ।
स्कटल्यान्ड विश्वकपमा छनोट भएकै थिएन। बंगलादेशले नाम फिर्ता लिएपछि अन्तिम समयमा चिठ्ठा परेर आएको यो टोलीले आफूलाई ‘अभागी’ होइन, ‘योग्य’ प्रमाणित गरिदियो।
स्कटल्यान्ड वेस्ट इन्डिजलाई हम्मेहम्मे पारे, इटालीलाई सहजै हराए र शक्तिशाली इंग्ल्यान्डलाई समेत हारको डर देखाइदिए। ब्राण्डन म्याकमुलनको नियन्त्रित बलिङ र मार्क वाटको जादुमयी स्पिनले स्कटल्यान्डलाई सधैं खेलमा जीवित राख्यो। जर्ज मुन्से र रिची बेरिंगटनको ब्याटिङले जुनसुकै टोलीलाई पनि चुनौती दिन सक्छ भन्ने पुष्टि गरिसकेको छ।
अर्कोतर्फ नेपाल छ, जसको लागि यो विश्वकप 'आशा' र 'निराशा' को दोभान जस्तै रह्यो। पहिलो खेलमा विश्वविजेता इंग्ल्यान्डलाई हारको संघारमा पुर्याउँदा विश्वभरका क्रिकेट प्रेमीले नेपालको तारिफ गरे। तर, त्यो उत्साह धेरै दिन टिकेन।
इटालीसँगको हारले नेपाली समर्थकको मन मात्र टुटेन, टोलीको आत्मविश्वासमा पनि चोट पुग्यो। वेस्ट इन्डिजसँगको खेलमा पनि नेपालको माथिल्लो क्रमको ब्याटिङ तासको महल झैं ढल्यो, जहाँ फेरि पनि दीपेन्द्र सिंह ऐरीले एक्लै लडेर टोलीको लाज जोगाए। सन्दीप लामिछाने जस्ता प्रभावशाली बलरको विकेट लिन नसक्ने अवस्था र ब्याट्सम्यानहरूको अस्थिरता नेपालका लागि ठूलो चुनौती बनेको छ।
वेस्ट इन्डिज र इंग्ल्यान्ड अर्को चरणमा पुगिसकेका छन्, त्यसैले यो खेलले नतिजामा खासै फरक पार्दैन। तर, यो खेल ‘अर्थहीन’ भने पक्कै छैन।
स्कटल्यान्डका लागि यो खेल विश्वलाई देखाउने मौका हो कि उनीहरू भाग्यले होइन, आफ्नो क्षमताले यहाँ आएका हुन्। नेपालका लागि भने यो खेल हराएको साख फर्काउने र आफ्ना ती लाखौं समर्थकहरूको अनुहारमा मुस्कान ल्याउने अन्तिम अवसर हो, जो मुम्बईको वानखेडे रंगशालामा आफ्नो टोलीलाई साथ दिन घाँटी सुक्ने गरी कराइरहेका छन्।
एकातिर स्कटल्यान्डको अनुशासन र रणनीति छ, अर्कोतिर नेपाली टोलीको जोस, भावना र डाइ हार्ट फ्यानहरू। आज वानखेडेमा क्रिकेट मात्र हुने छैन, त्यहाँ एउटा अन्तिम प्रयास हुनेछ—आफ्नो देशको झण्डा गर्वले फहराउने र एउटा अविस्मरणीय अन्त्य गर्ने।