आइसिसी टी-२० विश्वकप २०२६ को सुपर-८ मा पुग्ने आठै टोलीको टुंगो लागेको छ।
समूह चरणका केही खेलहरू बाँकी भए पनि अंक तालिकाको आधारमा चार वटै समूहका दुई/दुई टोलीको टुंगो लागेको हो।
समूह 'ए' का पाँच देशले सबै खेल खेलिसकेका छन्। यो समूहमा भारत, पाकिस्तान, संयुक्त राज्य अमेरिका, नेदरल्याण्ड्स र नामिबिया छ।
समूह चरणका चारै खेल जितेर भारत शीर्ष स्थानमा हुँदै सुपर-८ प्रवेश गरेको छ। पाकिस्तानले भारतबाहेक सबै देशलाई पराजित गरी ६ अंकसहित सुपर-८ मा प्रवेश गरेको छ।
अमेरिकाले दुई खेल र नेदरल्याण्ड्सले १ खेल जित्दा नामिबिया अंकबिहीन हुँदै बाहिरिएको छ।
समूह 'बी'बाट श्रीलंका र जिम्बाब्वे सुपर-८ मा पुग्ने निश्चित भएको छ। यी दुवै टोलीले अब एक अर्काविरूद्ध खेल्न बाँकी छ। जित्ने टोली समूह विजेता हुँदै र हार्ने टोली उपविजेता हुँदै सुपर-८ मा पुग्नेछ।
यो समूहबाट आयरल्याण्ड, अस्ट्रेलिया र ओमान बाहिरिनेछ।
समूह 'सी' बाट वेस्ट इण्डिज र इंग्ल्याण्ड सुपर-८ मा पुग्ने पक्का भएको छ। वेस्ट इण्डिजले इटालीसँग खेल्न बाँकी छ। यद्यपि ऊ ६ अंकसहित समूहको शीर्ष स्थानमा छ। इंगल्याण्डको पनि ६ अंक छ।
स्कटल्याण्ड, इटाली र नेपाल समूह चरणबाटै बाहिरिएका छन्।
समूह 'डी' बाट दक्षिण अफ्रिका र न्यूजिल्याण्ड सुपर-८ मा पुग्ने पक्का भएको छ। यी दुवै देशले चार वटै खेल खेलिसकेका छन्।
दक्षिण अफ्रिकाले ४ खेल जित्दा न्यूजिल्याण्डले ३ खेल जित्यो। यो समूहबाट अफगानिस्तान, संयुक्त अरब इमिरेट्स र क्यानडा बाहिरिएका छन्।
सुपर-८ को खेल शनिबारदेखि हुनेछ।
सुपर-८ मा समूह-१ मा भारत, दक्षिण अफ्रिका, वेस्ट इण्डिज र जिम्बावे छन् भने समूह-२ मा इंग्ल्याण्ड, न्यूजिल्याण्ड, पाकिस्तान र श्रीलंका छन्।
समूहका प्रत्येकले एक-अर्कासँग खेल्नेछन्। समूहका शीर्ष दुई टिम सेमिफाइनल पुग्नेछ।
सुपर-८ को पहिलो खेल न्यूजिल्याण्ड र पाकिस्तानबीच हुनेछ।
टि-२० विश्वकपको फाइनल खेल मार्च ८ मा हुनेछ।