आइसिसी टी-२० विश्वकप २०२६ मा सहआयोजक श्रीलंकामाथि जिम्बावेले हराएको छ। उसले ६ विकेटको जित निकाल्दा १७९ रनको लक्ष्य तीन खेल खेल्न बाँकी छदै पूरा गर्यो। यससँगै जिम्बावे समूह चरणमा अपराजित रह्यो।
एक पटक जित्नु संयोग होला, तर दोस्रो पटक आयोजक श्रीलंकालाई उसकै मैदानमा उसकै रणनीतिमा हराउनु जिम्बावेको वास्तविक क्षमता हो। जिम्बावेका बलरहरूले चलाखीपूर्ण बलिङ गर्दै श्रीलंकाको राम्रो सुरुवातलाई रोके र उसलाई १७८ रनमा सिमित गरिदिए।
जवाफी ब्याटिङमा जिम्बावेका ओपनर ब्रायन बेनेटले एक किनार सम्हाल्दै ६३ रनमा अविजित रहे। अर्कोतर्फबाट सिकन्दर राजा, रायन बर्ल र तादिवानासे मारुमनीले आक्रामक ब्याटिङ गर्दै जिम्बावेलाई टी-२० इतिहासकै दोस्रो ठुलो लक्ष्य पछ्याउन मद्दत गरे।
श्रीलंकाको इनिङ्स तीन चरणमा बाँडिएको थियो। सुरुका २९ बलमा बिना कुनै विकेट ५४ रन बनेको थियो। त्यसपछिका ७२ बलमा श्रीलंकाले ८२ रन बनाउँदा ४ विकेट गुमायो। अन्तिम १९ बलमा ४२ रन जोड्दै श्रीलंकाले १७८ को सम्मानजनक योगफल तयार पारेको थियो।
जिम्बावेको जितमा बेनेट र राजाको मुख्य भूमिका रह्यो। बेनेटले ४८ बलमा ६३ रन बनाए भने सिकन्दर राजाले खेलको मोड नै बदलिदिए। जब प्रति ओभर रन रेट ११ भन्दा माथि पुगेको थियो, राजाले २६ बलमा ४५ रनको विष्फोटक पारी खेलेर खेल जिम्बावेको पक्षमा पारे।
पछिल्लो खेलमा शतक प्रहार गरेका श्रीलंकाका पथुम निसङ्काले यस खेलमा पनि आफ्नो लयलाई निरन्तरता दिए। उनले कुशल मेन्डिससँग मिलेर पाँचौँ ओभरमै श्रीलंकाको स्कोर ५० कटाएका थिए। जिम्बावेले सुरुमै स्पिनरहरू प्रयोग गरे पनि सिकन्दर राजा र वेलिङ्टन मसाकाद्जा त्यति प्रभावकारी देखिएनन्, जसले गर्दा श्रीलंकाले सुरुमा राम्रो रन बनाउने मौका पायो।
दुवै टोली यसअघि नै सुपर ८ मा पुगिसकेका थिए।