नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबारदेखि दुईदिवसीय क्रिकेट प्रतियोगिता जय ट्रफी सुरू गरेको छ। पहिलो दिन कीर्तिपुरस्थित त्रिवि मैदानमा त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबबीच खेल भइरहेको छ।
मुलपानीमा सशस्त्र प्रहरी बलको नेपाल एपिएफ क्लब र बागमती प्रदेशबीच प्रतिस्पर्धा छ।
क्यानले १९ सम्म कीर्तिपुर र मुलपानी क्रिकेट मैदानमा जय ट्रफीमा गत वर्ष सम्पन्न भएको प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनल पुग्न सफल कुल ४ वटा टिमले प्रतिस्पर्धा गरिरहेका हुन्।
ट्रफीमा खेलको हार जितले मात्र होइन विकेट र रनले पनि अंक पाउने प्रावधान छ भने बोनस अंकको पनि व्यवस्था छ।
यस्तो छ अंक दिने प्रावधान :-
१. खेलको नतिजा र प्राप्त हुने अंक
• पहिलो इनिङ्समा अग्रता लिएर स्पष्ट जित हासिल गरेमा: १० + बोनस अंक।
• पहिलो इनिङ्समा बराबर भएर स्पष्ट जित हासिल गरेमा: ८ + बोनस अंक।
• पहिलो इनिङ्समा पछि परेर पनि स्पष्ट जित हासिल गरेमा: ६ + बोनस अंक।
• पहिलो इनिङ्समा अग्रता लिएर खेल 'आउटराइट टाइ' भएमा: ७ + बोनस अंक।
• दुवै इनिङ्समा खेल 'आउटराइट टाइ' भएमा: ५ + बोनस अंक।
• पहिलो इनिङ्समा पछि परेर खेल 'आउटराइट टाइ' भएमा: ३ + बोनस अंक।
• पहिलो इनिङ्समा अग्रता लिएर खेल बराबरीमा टुङ्गिएमा: ६ + बोनस अंक।
• पहिलो इनिङ्स बराबरी भई खेल 'ड्र' भएमा: ३ + बोनस अंक।
• खेलको कुनै नतिजा नआएमा : १ + बोनस अंक।
• पहिलो इनिङ्समा पछि परेर खेल 'ड्र' भएमा: ० + बोनस अंक।
• पहिलो इनिङ्समा अग्रता लिएर पनि स्पष्ट हार भएमा: ४ + बोनस अंक।
• पहिलो इनिङ्स बराबरी भएर स्पष्ट हार भएमा: २ + बोनस अंक ।
• पहिलो इनिङ्समा पछि परेर स्पष्ट हार भएमा: ० + बोनस अंक।
२. बोनस अंक : बोनस अंकहरू पहिलो र दोस्रो दुवै इनिङ्समा कमाउन सकिन्छ।
• ब्याटिङ अंक:
◦ पहिलो इनिङ्स: ७० ओभरको अवधिभर बनाइएको प्रत्येक २५ रनका लागि ०.५ अंक प्रदान गरिनेछ ।
◦ दोस्रो इनिङ्स: प्रत्येक २५ रनका लागि ०.५ अंक दिइनेछ, तर यसरी दिइने अधिकतम अंक ४ सम्म मात्र हुनेछ।
• बलिङ अंक:
◦ प्रत्येक इनिङ्समा अधिकतम ५ अंक प्राप्त गर्न सकिन्छ। प्रत्येक विकेट लिएबापत ०.५ अंक दिइनेछ ।
◦ खेलको अन्तिम नतिजा जेसुकै भए तापनि, पहिलो र दोस्रो इनिङ्समा प्राप्त गरेका बोनस अंकहरू टिमले पाउनेछन्।
३. पेनाल्टी ओभर - अंक कट्टी
• न्यूनतम ओभर रेट कायम गर्न नसक्ने टिमलाई, नपुग भएको प्रत्येक पूरा ओभरबापत एक 'पेनाल्टी ओभर' तोकिनेछ।
• राउन्ड स्टेजको खेल अवधिभर प्रत्येक पेनाल्टी ओभरबापत टिमको कुल प्राप्त अंकबाट १ अंक घटाइनेछ।
४. वरियता क्रम
• यदि राउन्ड रोबिन लिगको अन्त्यमा दुई वा सोभन्दा बढी टिमको अंक बराबर भएमा, बढी खेल जित्ने टिमलाई माथिल्लो स्थानमा राखिनेछ।
• यदि जित संख्या पनि बराबर भएमा, अघिल्लो प्रतियोगितामा उच्च स्थानमा रहेको टिमलाई प्राथमिकता दिइनेछ।