जय ट्रफी दुईदिवसीय राष्ट्रिय प्रतियोगिता आजबाट कीर्तिपुरस्थित त्रिवि मैदान र मुलपानी मैदानमा सुरु भएको छ।
पहिलो दिन त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरी बलको नेपाल एपिएफ क्लबले अग्रता लिएका छन्।
मुलपानीमा टस जितेको एपिएफले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको बागमतीलाई पहिलो इनिङग्समा ९ विकेटको क्षतिमा २०७ रन बनाएपछि इनिङग्स समाप्तीको घोषणा गर्यो।
बागमतीका लागि विवेक मगरले सर्वाधिक ४२ रन जोड्दा बलिङमा एपिएफका इर्शाद अहमदले ३ विकेट लिए। युवराज खत्री र कप्तान रोहित पौडेलले २-२ विकेट हात पारे।
जवाफी ब्याटिङ गरेको एपिएफ २३९ रनमा अलआउट भयो। उसका लागि कप्तान रोहित पौडेलले नटआउट ८७ रन र सन्दीप जोराले ६१ रन बनाए।
बलिङमा बागमतीका रिजन ढकालले ३ विकेट लिए भने विपिन आचार्य र सूर्य तामाङले २-२ विकेट लिन सफल भए।
पहिलो दिन नै आफ्नो दोस्रो इनिङ्ग्स सुरु गरेको बागमतीले ओपनर सूर्य तामाङलाई एक रनमा गुमाउदा दिनको खेल सकिएको छ भने बागमतीले ३१ रनले पछि परेको अवस्था छ।
यता त्रिवि मैदानमा नेपाल पुलिस क्लब आर्मीविरूद्ध २४ रनले पछि पर्दा दिनको खेल सकिएको छ।
टस जितेको आर्मीले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको पुलिसले पहिलो इनिङग्समा ८ विकेटकव क्षतिमा १८७ रन बनाएपछि इनिङग्स समाप्तीको घोषणा गर्यो।
पुलिसका लागि आरिफ शेखले ३६ रन बनाए भने रशिद खानले ३० रन र ओपनर कुशल भुर्तेलले ३० रनको योगदान गरे। बलिङमा आ।र्मीका पवन कार्कीले ४ विकेट लिए। जवाफी ब्याटिङ गरेको आर्मीले ९ विकेटको क्षतिमा २३४ रन बनाएर इनिङग्स समाप्तीको घोषणा गर्यो।
आर्मीका लगि भीम सार्कीले शतक प्रहार गरे। उनले नटआउट १०५ रन बनाउने क्रममा ११३ बल खेलेर १४ चौका र १ छक्का प्रहार गरे। पवन कार्किले ३७ रन र नरेन साउदले ३१ रन बनाए। बलिङमा पुलिसका सागर ढकालले ६ विकेट लिए। उनले १७ ओभरमा १ मेडन राख्दा ९२ रन दिए।
पहिलो दिन आफ्नो दोस्रो इनिङग्स सुरु गरेको पुलिसले २३ रन जोडेको छ भने १ विकेट गुमाएको छ। खेलमा पुलिस २४ रनले पछि छ।