आइसिसी टी-२० विश्वकप २०२६ अन्तर्गत सुपर-८ को खेलमा घरेलु टोली भारतमाथि दक्षिण अफ्रिकाले ७६ रनको सानदार जित निकालेको छ।
यससँगै सन् २०२४ को विश्वकपमा फाइनलमा पराजित भएको दक्षिण अफ्रिकाले यसपटक सुपर-८ मा भारतलाई हराउँदै बदला लिएको छ।
आइतबार राति अहमदावादमा भएको खेलमा दक्षिण अफ्रिकाले दिएको १८८ रनको लक्ष्य पछ्याएको भारत १८.५ ओभरमा १११ रनमै अलआउट भयो।
पहिलो ओभरमा इशान किसन शून्य रन र दोस्रो ओभरमा तिलक बर्मा १ रनमा आउट भएपछि भारत सुरुवातमै दबाबमा पर्यो। त्यसपछि अभिषेक शर्मा १५ रनमा आउट भए भने वासिङटन सुन्दरले भने ११ रन भन्दा बढी जोड्न सकेनन्।
कप्तान सूर्यकुमार यादव १८ रनमा आउट भएपछि भारत दबाबमा परेको थियो। त्यसपछि पनि लगातार विकेट गुमाएको भारतका लागि शिवम दुवेले ४२ रन जोडेका थिए।
बलिङमा दक्षिण अफ्रिकाका मार्को यान्सेनले ४ विकेट लिए भने केशव महाराजको नाममा ३ विकेट रह्यो।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले ७ विकेटको क्षतिमा १८७ रन बनायो। खराब सुरुवात गरे पनि उसका लागि डेभिड मिल्लरले ३५ बलमा ६३ रन र डेवाल्ड ब्रेभिसले ४५ रन जोडे। उनीहरुबीच चौथो विकेटका लागि ९७ रनको साझेदारी भयो। अन्त्यमा स्टब्सले २४ बलमा नटआउट ४४ रन जोडेपछि दक्षिण अफ्रिकाको रनले गति लियो।
त्यसअघि उसका ओपनरद्वय एडिन मक्रम ४ रन र क्वान्टन डि ककले ६ रन मात्र जोड्न सके।
बलिङमा भारतका जसप्रित बुमराहले ३ विकेट लिँदा १५ रन मात्र दिँदा अर्शदिप सिंहको नाममा २ विकेट रह्यो। भारतको समूहको सुपर ८ मा जिम्बावे र वेस्ट इन्डिज पनि छन्।