बंगलादेश क्रिकेट बोर्ड (बिसिबी) ले पूर्व फास्ट बलर मन्जुरुल इस्लामलाई बोर्ड अन्तर्गतका सबै किसिमका गतिविधिमा संलग्न हुन नपाउने गरी प्रतिबन्ध लगाएको छ।
बोर्डले गठन गरेको एक स्वतन्त्र छानबिन समितिले उनलाई 'दुर्व्यवहार र हैरानी' गरेको दोषी फेला पारेपछि यो निर्णय लिइएको हो।
सन् २०२२ को महिला एकदिवसीय विश्वकपका दौरान मन्जुरुल इस्लाम बंगलादेश महिला टोलीको मुख्य छनोटकर्ता र व्यवस्थापक थिए। सोही समयमा उनले आफूलाई अश्लील प्रश्नहरू सोधेर नराम्रो व्यवहार गरेको भन्दै टोलीकी पूर्व कप्तान जहानारा आलमले बोर्डमा उजुरी दिएकी थिइन्।
जहानाराले मन्जुरुलका साथै बोर्डका अन्य केही अधिकारीहरूले पनि अनुचित व्यवहार गरेको आरोप लगाएकी थिइन्।
यस विषयमा सत्यतथ्य बुझ्न बोर्डले पूर्व न्यायाधीश तारिक उल हकिमको नेतृत्वमा पाँच सदस्यीय उच्चस्तरीय छानबिन समिति बनाएको थियो। समितिले जहानाराले लगाएका चारवटा मुख्य आरोपहरूको अनुसन्धान गरेको थियो।
चारमध्ये दुईवटा आरोपको प्रमाण फेला परेन। बाँकी दुईवटा आरोपमा भने मन्जुरुलले पदीय मर्यादा विपरित काम गरेको र महिला खेलाडीलाई दुर्व्यवहार गरेको पर्याप्त प्रमाण फेला पर्यो।
समितिको प्रतिवेदनका आधारमा आइतबार बसेको बोर्ड बैठकले मन्जुरुललाई बोर्डसँग सम्बन्धित कुनै पनि प्रत्यक्ष वा अप्रत्यक्ष रोजगारी र क्रिकेट गतिविधिमा सहभागी हुन नपाउने गरी प्रतिबन्ध लगाउने निर्णय गरेको हो।
मन्जुरुल इस्लाम हाल चीनको महिला राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकका रूपमा कार्यरत छन्। बंगलादेश क्रिकेट बोर्डले यस घटनालाई गम्भीरताका साथ लिँदै समितिको सिफारिस अनुसार थप कदमहरू पनि चाल्न सक्ने बताएको छ।
यसअघि कप्तान निगार सुल्तानाले साथी खेलाडीलाई कुटपिट गरेको भन्ने जहानाराको आरोपलाई भने बोर्डले अस्वीकार गरेको थियो।