बेलायतको नेपाली समुदायको क्रिकेट प्रतियोगिता 'ब्रिटिश गोर्खाली क्रिकेट लिग' (बीजीसीएल) र शैक्षिक परामर्श संस्था 'ब्रिज इन्टरनेशनल'बीच मुख्य प्रायोजन सम्झौता सम्पन्न भएको छ।
लन्डनस्थित लिटिल काठमाडौंमा आयोजित कार्यक्रममा दुई संस्थाले सहकार्यका लागि औपचारिक हस्ताक्षर गरेका हुन्।
प्रमुख अतिथि नेशनल एसियन क्रिकेट काउन्सिलका अध्यक्ष गुलफ्राज रियाज, ह्याम्पशायर क्रिकेट बोर्डका साइमन जोन्स, पूर्व इसिबी म्यानेजर पल बेडफोर्ड लगायतले नेपाली समुदायले क्रिकेट खेलमार्फत पुर्याएको योगदानको प्रशंसा गरे ।
त्यसैगरी केन्ट क्रिकेट फाउन्डेसनका क्रिष्टियन राइस, किदाशा फाउन्डेसनका निक ब्यारी र पोर्चुगल क्रिकेटका पूर्व कप्तान मधुकर थापाले समेत लिगको सफलताको कामना गरे।
'साइनिङ सेरेमोनी'पछि बोल्दै ब्रिज इन्टरनेशनलका प्रमुख कार्यकारी अधिकृत भुवन गिरीले खेलकुद र शिक्षालाई परिपूरकका रूपमा अघि बढाउन यो सहकार्यले ठूलो भूमिका खेल्ने विश्वास व्यक्त गरे ।
अध्यक्ष महेश गिरीले नेपाली मूलका खेलाडीहरूलाई एकै ठाउँमा समेटेर व्यावसायिक मञ्च प्रदान गर्नु गौरवको विषय भएको बताए ।
बीजीसीएल युकेमा नेपाली खेलाडीहरूलाई समेटेर ४० ओभरको ढाँचामा सञ्चालन भइरहेको पहिलो र एक मात्र लिग हो।
हालसम्म पाँचवटा सफल सिजन सम्पन्न गरिसकेको यस लिगले ह्याम्पशायर क्रिकेट बोर्ड र क्लब क्रिकेट कन्फरेन्ससँग आबद्ध रहेर काम गर्दै आएको छ।