जय ट्रफी मेन्स इलिट कप दुईदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत सोमबारदेखि दोस्रो चरणका खेल सुरू भएका छन्।
दोस्रो चरणमा कीर्तिपुरस्थित त्रिवि मैदानमा नेपाल एपिएफ क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुँदा मुलपानी मैदानमा त्रिभुवन आर्मी क्लब र बागमती प्रदेश भिडे।
त्रिवि मैदानमा टस जितेको नेपाल पुलिस क्लबले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको एपिएफ १८५ रनमा अलआउट भयो। उसका लागि सुमित महर्जनले सर्वाधिक ५५ रन बनाए। बलिङमा पुलिसका ललित राजवंशी र सागर ढकालले ४-४ विकेट लिए। कुशल भुर्तेलको नाममा २ विकेट रह्यो।
सोमबार पहिलो इनिङ्ग्स सुरु गरेको पुलिस दिनको खेल सकिदा १७९-५ को अवस्थामा छ भने मात्र ६ रनले पछि छ। पुलिसका लागि दिलसाद अलीले ५८ रन जोडेका छन् भने शंकर राना ४८ रन बनाएर खेलिरहेका छन्। बलिङमा एपिएफका पाँच फरक फरक बलरले विकेट लिएका छन्। पहिलो दिन नै दुई टोलीको प्रतिस्पर्धामा १५ विकेट पतन भएका छन्।
यता मुलपानीमा टस जितेको आर्मीले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको बागमतीले २५९-७ को अवस्थामा इनिङग्स समाप्तीको घोषणा गर्यो। बागमतीका लागि ओपनर आशुतोष घिरैयाले ७७ रन र इशान पाण्डेले ६९ रन जोडेका छन्।
बलिङमा आर्मीका शाहब आलमले ३ विकेट लिएका छन् भने नरेन साउदको नाममा २ विकेट रह्यो।
जवाफी ब्याटिङ थालेको आर्मीले दिनको खेल सकिदा ३ विकेटको क्षतिमा १९१ रन जोडेको छ भने ६८ रनले पछि परेको अवस्था छ। आर्मीका लागि भीम सार्कीले ७४ रन बनाएका छन् भने सन्तोष कार्की ४३ रन बनाएर खेलिरहेका छन्।
बलिङमा बागमतीका रिजन ढकाल, सन्दीप लामिछाने र विपिन आचार्यले १-१ विकेट लिएका छन्।
यो खेलमा पनि पहिलो दिन १० विकेट खस्दा दुवै खेलमा गरी एकै दिन २५ विकेट पतन भएका छन्।