जय ट्रफी मेन्स इलिट कप दुईदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको दोस्रो चरणमा नेपाल पुलिस क्लबले सशस्त्र प्रहरी बलको एपिएफ क्लबलाई पराजित गरेको छ। वर्षाले प्रभावित त्रिभुवन आर्मी क्लब र बागमती प्रदेशबीचको खेल बराबरीमा सकिएको छ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको खेलमा पुलिसले एपिएफलाई ९ विकेटले हरायो। एपिएफले दिएको ११३ रनको लक्ष्य उसले एक विकेट गुमाएर पूरा गर्यो। पुलिसको जितमा कुशल भुर्तेलले ५३ बलमा नटआउट ७१ रन जोडेका थिए।
त्यसअघि दोस्रो इनिङ्ग्समा २०४ रनमा अलआउट भएपछि पुलिसले ११३ रनको सामान्य लक्ष्य पाएको थियो। एपिएफका लागि ओपनर दीपक बोहराले ९४ रन जोड्दा अरु ब्याटर चल्न सकेनन्। बलिङमा पुलिसका ललितनारायण राजवंशीले ५ विकेट लिए।
पहिलो इनिङग्समा नेपाल पुलिस क्लबले ७ विकेटको क्षतिमा २७७ रन बनाएर इनिङ्ग्स समाप्तीको घोषणा गरेको थियो। जसमा शंकर रानाले १०५ रनको शतकीय पारी खेलेका थिए। पहिलो इनिङग्समा एपिएफ १०५ रनमै अलआउट हुन पुगेको थियो। एपिएफका लागि सुमित महर्जनले ५५ रन जोड्दा बलिङमा पुलिसका ललितले ४ विकेट लिएका थिए।
दुवै इनिङग्समा गरी कुल ९ विकेट लिएका ललित प्लेयर अफ दि म्याच भए। पुलिसले पहिलो जित निकाल्दा एपिएफले पहिलो हार ब्यहोरेको हो।
यता मुलपानी मैदानमा वर्षाले प्रभावित खेलमा त्रिभुवन आर्मी र बागमती प्रदेशबीचको खेल बराबरीमा सकिएको छ। बागमतीले दिएको ११८ रनको लक्ष्य पछ्याएको आर्मी दिनको खेल सकिदा ३९-४ को अवस्थामा हुँदा खेल बराबरीमा सकिएको हो।
यो खेलमा बागमतीका लागि ७७ रन र ७६ रन जोडेका आशुतोष घिरैया प्लेयर अफ दि म्याच भए।
अघिल्लो खेलमा जित निकालेको आर्मी बराबरीमा रोकिएको हो। बागमती भने पहिलो खेलमा पराजित भएको थियो। दोस्रो खेलमा बराबरीमा रोकिदा बागमती जारी प्रतियोगितामा जितबिहीन एक्लो टोली बनेको छ।
दोस्रो चरणका खेलसँगै एपिएफ शीर्ष स्थानमा कायम छ। उसको दुई खेलबाट ३८ अंक छ। दोस्रो स्थानमा उक्लिएको पुलिसको ३७.५ अंक रहदा आर्मी ३७ अंकसहित तेस्रो स्थानमा छ। चौथो स्थानको बागमतीको २६.५ अंक छ।