जय ट्रफी मेन्स इलिट कप दुईदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको तेस्रो चरणका खेल बिहीबारदेखि सुरू भएका छन्।
तेस्रो चरणमा मुलपानी मैदानमा त्रिभुवन आर्मी क्लब र नेपाल एपिएफ क्लबबीच प्रतिस्पर्धा हुँदा कीर्तिपुरस्थित त्रिवि मैदानमा बागमती प्रदेश र नेपाल पुलिस क्लब प्रतिस्पर्धा गरिरहेका छन्।
मुलपानीमा टस जितेको एपिएफले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको आर्मीले पहिलो इनिङ्ग्समा ९ विकेटको क्षतिमा २५२ रन बनाएर इनिङग्स समाप्तीको घोषणा गर्यो।
आर्मीका लागि ओपनर त्रितराज दासले १०२ रनको शतकीय पारी खेलेका छन्। अर्का ओपनर इमरान शेखले ७१ रन जोड्दा अरु ब्याटर चल्न सकेनन्। बलिङमा एपिएफका युवराज खत्रीले पाँच विकेट लिएका छन्। उनले आर्मीका दुवै ओपनरलाई आउट गरेका थिए।
बिहीबार नै पहिलो इनिङग्स सुरू गरेको एपिएफले दिनको खेल सकिदा ९ विकेटको क्षतिमा १४० रन जोडेको छ।
उसका लागि कप्तान रोहित कुमार पौडेलले ४८ रन बनाएर खेलिरहदा अरु ब्याटर सस्तैमा आउट भएका छन्। बलिङमा आर्मीका सोमपाल कामीले ४ विकेट लिएका छन् भने पहिलो दिन एपिएफ ११२ रनले पछि परेको छ।
यता कीर्तिपुरमा टस जितेको पुलिसले फिल्डिङ रोज्दा पहिले ब्याटिङ गरेको बागमती पहिलो इनिङग्समा १८५ रनमा अलआउट भएको छ।
बागमतीका लागि विपिन आचार्यले सबैभन्दा बढी नटआउट ४६ रन बनाए। बलिङमा पुलिसका करण केसीले ४ विकेट र ललित राजवंशीले ३ विकेट लिएका छन्।
बिहीबार नै पहिलो इनिङग्स सुरु गरेको पुलिस दिनको खेल सकिदा २४५-४ को स्थितिमा छ भने ६० ले अग्रता लिएको छ। पुलिसका कुशल भुर्तेलले ९६ रन जोडेका छन् भने शंकर राना ४८ रन जोडेर आउट भएका छन्। पहिलो दिन बागमतीका इशान पाण्डेले २ विकेट लिएको अवस्था छ।