जिम्बावेविरुद्धको खेलमा ७२ रनको फराकिलो जित निकाल्दै भारतले आइसिसी टी-२० विश्वकप २०२६ को सुपर-८ को अन्तिम खेलमा वेस्ट इन्डिजसँगको महत्वपूर्ण भिडन्त पक्का गरेको छ।
बिहीबार चेन्नईमा भारतले दिएको २५७ रनको विशाल लक्ष्य पछ्याएको जिम्बावेले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १८४ रन मात्र बनाउन सक्यो।
भारतले पहिले ब्याटिङ गर्दै ४ विकेटको क्षतिमा २५६ रनको विशाल योगफल तयार गर्यो। यो टी-२० विश्वकप इतिहासकै दोस्रो ठूलो योगफल हो। भारतीय ब्याटरहरूले इनिङ्सभरि १७ वटा छक्का प्रहार गरे, जुन भारतका लागि एउटै खेलमा प्रहार गरिएको सबैभन्दा धेरै छक्काको कीर्तिमान हो।
युवा ब्याटर अभिषेक शर्माले आफ्नो पहिलो विश्वकप अर्धशतक (५५ रन) बनाए। त्यस्तै, हार्दिक पाण्ड्याले विष्फोटक ब्याटिङ गर्दै २३ बलमा नटआउट ५० रन जोडे। अन्त्यतिर हार्दिक र तिलक वर्माले मात्र ३१ बलमा ८४ रनको साझेदारी गर्दै भारतलाई विशाल स्कोरसम्म पुर्याए।
भारतले ओपनिङमा रिङ्कु सिंहको ठाउँमा सन्जु सामसनलाई मौका दिएको थियो। सामसनले १५ बलमा २४ रन बनाउँदै ओपनिङमा राम्रो सुरुवात दिलाए।
जवाफमा जिम्बावेका लागि ब्रायन बेनेटले एक्लै सङ्घर्ष गर्दै अविजित ९७ रन बनाए। उनले ९७ रन बनाउँदा ६ वटा छक्का प्रहार गरे पनि टोलीलाई जिताउन सकेनन्। जिम्बावेले दुईवटा महत्वपूर्ण क्याच छोड्नु उनीहरूका लागि हारको मुख्य कारण बन्यो।
बलिङतर्फ भारतका अर्शदीप सिंहले ३ विकेट लिए। यससँगै उनी जसप्रित बुमराहलाई पछि पार्दै टी-२० विश्वकपमा भारतका लागि सबैभन्दा धेरै विकेट लिने बलर बनेका छन्। अक्षर पटेल र वरुण चक्रवर्तीले पनि १-१ विकेट लिए।
यो जितसँगै भारतको मनोबल उच्च भएको छ। अब आइतबार भारतले वेस्ट इन्डिजसँग खेल्नेछ, जसलाई 'क्वाटरफाइनल' मानिएको छ। यो खेल जित्ने टोली अघिल्लो चरण अर्थात् सेमिफाइनल प्रवेश गर्नेछ।