भारतीय क्रिकेट टोलीका ब्याटर रिंकु सिंहका पिता खानचन्द सिंहको शुक्रबार निधन भएको छ। लामो समयदेखि बिरामी रहेका उनको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो।
सिंह जिम्बाब्वेविरुद्धको टी-२० विश्वकपको 'सुपर-८' खेल छाडेर घर फर्किएका थिए। ग्रेटर नोएडास्थित यथार्थ अस्पतालका प्रवक्ता डा. सुनील कुमारका अनुसार खानचन्द कलेजोको क्यान्सर पीडित थिए।
उनको अवस्था बिग्रिएपछि फेब्रुअरी २१ मा अस्पताल भर्ना गरिएको थियो। उनलाई भेन्टिलेटरमा राखिएको थियो, तर शुक्रबार बिहान उनले अन्तिम श्वास फेरे।
खानचन्दको निधनमा पूर्व क्रिकेटरहरू युवराज सिंह र हरभजन सिंह लगायतले सामाजिक सञ्जालमार्फत दुःख व्यक्त गरेका छन्। रिंक मंगलबार नै दिल्ली आइपुगेका थिए।
रिंकु बाहेक भारतीय टोलीका अन्य सदस्यहरूले चेन्नईमा अभ्यास सत्रमा भाग लिएका थिए। भारतले जिम्बाब्वेलाई ७२ रनले हराएर सेमिफाइनलको दौडमा आफूलाई जीवितै राखेको छ। खानचन्दको अन्तिम संस्कार अलीगढमा गरिनेछ, जसमा रिंकु सहभागी हुनेछन्।
रिंकुको इन्गेजमेन्ट समाजवादी पार्टीकी सांसद प्रिया सरोजसँग भइसकेको छ। सन् २०२५ को जुन महिनामा लखनउको एक होटलमा भएको इन्गेजमेन्ट समारोहमा बिरामी भए तापनि खानचन्द सहभागी भएका थिए।
खानचन्द सिंहले जीवनभर ग्यास सिलिन्डर डेलिभरी गर्ने काम गरे। सुरुमा उनी रिंकुले क्रिकेट खेलेको मन पराउँदैनथे। तर, जब रिंकुले आफ्नो गाउँ अलीगढमा भएको एउटा 'स्कुल टी-२०' प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै 'म्यान अफ द सिरिज' जिते र पुरस्कार स्वरूप एउटा मोटरसाइकल पाए, तब बुबाको मन बदलियो।
खानचन्दले त्यही मोटरसाइकलमा सिलिन्डर राखेर डेलिभरी गर्न थाले र रिंकुका दाजुहरूले पनि उनलाई सघाउँथे। रिंकुले आफ्नो सफलताको श्रेय सधैं आफ्ना बुबालाई दिने गरेका छन्।