जय ट्रफी मेन्स इलिट कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधिका लागि त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब भिड्ने भएका छन्।
समूह चरणका खेलसँगै आर्मीले शीर्ष स्थानमा रह्यो भने पुलिसले अन्तिम खेलमा बागमती प्रदेशविरूद्धको महत्वपूर्ण खेल जितेर दोस्रो स्थान पक्का गर्यो।
अब आर्मी र पुलिसबीच उपाधि भिडन्त भने एक महिनापछि हुने भएको छ। नेपाल क्रिकेट संघका अनुसार अहिले प्रतिनिधि सभाको निर्वाचन भइरहेको र त्यसपछि विश्वकप लिग-२ खेल नेपालमै हुने भएकाले फाइनल चैत २२, २३ र २४ गते हुनेछ।
अन्तिम चरणमा आर्मीले नेपाल एपिएफसँग मुलपानीमा भएको खेल बराबरी खेल्यो। खेलमा दुई खेलाडीले शतक प्रहार गरेका थिए। पहिलो इनिङग्समा त्रितराज दासले १०२ रन बनाएका थिए भने दोस्रो इनिङग्समा बसिर अहमदले नटआउट १०१ बनाएका थिए। आर्मीले दिएको ३८१ रनको लक्ष्य पछ्याएको एपिएफले २२८-७ बनाएको स्थितिमा दिनको खेल सकिदा खेल बराबरीमा सकिएको हो।
यता पुलिसले महत्वपूर्ण खेलमा बागमती प्रदेशलाई ८ विकेटले हरायो। बागमती दिएको ८९ रनको सामान्य लक्ष्य पुलिसले २ विकेटको क्षतिमा पूरा गर्यो।
लिग चरणको समाप्तीसँगै शीर्ष स्थानको आर्मीले ६६ अंक जोड्दा दोस्रो स्थानको पुलिसको ६५.५ अंक भयो। एपिएफ ५३ अंकसहित तेस्रो र बागमती ४० अंक जोडेर चौथो भए।