फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) फ्रेन्च लिग वान फुटबलमा लगातार दोस्रो बराबरी खेलेको छ।
लिग वान अन्तरगत बुधबार राति भएको खेलमा एडिन्सन काभानीको गोलले पीएसजी स्टार्सवर्गसँग १–१ गोलको बराबरीमा रोकियो।
स्टार्सवर्गको मैदानमा पीएसजी ७१ औं मिनेटसम्म १–० ले पछि परेको थियो। खेलको ४१औं मिनेटमा केन्नी लालाले पेनाल्टीमार्फत गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए।
यसअघि लालाको प्रहार पिएसजीका केररले ह्यान्ड गरेपछि स्टार्सवर्गले भिएआर मार्फत पेनाल्टीको अपिल गरेको थियो। रेफ्रीले भिएआरकै माध्यमबाट स्टार्सवर्गलाई पेनाल्टी दिएका थिए।
पहिलो हाफमा १–० ले पछि परेको पीएसजीले गोल गर्ने केही मौका गुमायो। तर खेलको ७१औं मिनेटमा काभानीले पेनाल्टीमार्फत गोल गर्दै खेललाई बराबरीमा ल्यायो।
लालाले केलियन एमबाप्पेलाई डि एरियाभित्र फल गरेपछि पीएसजीले पेनाल्टीको मौका पाएको थियो। त्यसपछि थप गोल हुन नसक्दा खेल १–१ गोलको बराबरीमा सकियो ।
बराबरीपछि लिग वानमा अपराजित पीएसजीको १६ खेलबाट ४४ अंक पुगेको छ। यद्यपी उसले दोस्रो स्थानको लिलेभन्दा १४ अंकले अग्रता कायमै राखेको छ।
स्टार्सवर्ग २२ अंकसहित लिगको नवौं स्थानमा छ।