सहिद स्मारक ए डिभिजन लिगमा मंगलबार अंक तालिको पुछारमा रहेको सरस्वती युवा क्लबले पहिलो जित हात पार्यो।
सरस्वतीले एन्फा कम्प्लेक्समा भएको खेलमा हिमालयन शेर्पा क्लबलाई ४–३ ले पराजित गर्दै लिगमा पहिलो जित हात पार्दा खेल शंकाको घेरामा परेको छ।
किनकी लिगका सुरुवाती ८ खेलमा सरस्वतीले जम्मा २ गोल मात्र गरेको थियो। तर नवौं खेलमा एकैपटक चार गोल गर्यो। अर्कोतर्फ लिगको सर्वाधिक गोल हुने खेल पनि यहि खेल बन्यो।
खेलमा भएको गोलको विषयमा सरस्वतीका प्रशिक्षक प्रदीप नेपालले स्वभाविक भएको बताए पनि हिमालयन शेर्पाका प्रशिक्षक सञ्जीव बुढाथोकीले भने आफ्नो टिमले फितलो खेलको प्रतिक्रिया दिएका थिए। बुढाथोकीले खेलमा मिलोमतोबारे थाहा पाउने जिम्मा मिडियाकै रहेको भनी प्रतिक्रिया पनि दिएका थिए।
लिग निर्देशक सञ्जिव मिश्रले पनि खेल शंकास्पद भएको प्रतिक्रिया दिएका छन्।
यसको छानविन भिडियो फुटेजको आधारमा इन्ट्रिग्रिटी अफिसरले गर्नेछन्। अनुसन्धानमा दोषी देखिएमा कारबाही हुनेछ।
खेलको विषयमा कतिपय दर्शकले पनि प्रश्न उठाउँदै सामाजिक सञ्जालमा लेखेका छन्।
अतित खड्कालेखेल हेर्दा फिक्सिङ भएको अनुभव गरेको फेसबुकमा लेखेका छन्। उनले एन्फासँग छानविनको माग समेत गरेका छन्।
यता रमेश कान्छोले नेपाली फुटबल फ्यान क्लबमा गरेको पोस्ट सेयर गर्दै एपिएफका पूर्व खेलाडी सरोज कोइरालाले पनि फिक्सिङको आशंका गरेका छन्।
कान्तिपुर दैनिकका पत्रकार राजु घिसिङले मंगलबारको खेलपछि घुमाउरो शैलीमा एन्फालाई व्यंग्य गरेका छन्। उनले लेखेका छन् ,'आँखाले जे देखिन्छ, त्यो सत्य नहुन सक्छ।'
मंगलबारको जितसँगै सरस्वतीले ४ अङ्क जोडेको छ। सरस्वतीले यसअघि एउटा खेलमा बराबरी गरेको थियो ।
खेलमा सरस्वतीको जितमा विदेशी खेलाडी काजिम बुसारीले दुई गोल गरे गर्दा विनोद केसी र मनिष थापाले एक एक गोल गरेका थिए। शेर्पाका लागि भने आशिष गुरुङ, विजय श्रेष्ठ र रवि थापाले एक एक गोल गरे।
खेलको पाँचौ मिनेटमा बुसारीले गोल गर्दै सरस्वतीलाई पहिलो अग्रता दिलाए। त्यस्तै खेलको १०औं मिनेटमा हिमालयन शेर्पाका आशिष गुरुङले एक गोल फर्काउँदै खेललाई एक एक गोलको बराबरीमा ल्याए। खेलको ३५औँ मिनेटमा विनोद केसीले गोल गर्दै सरस्वतीलाई २–१ को अग्रता दिलाए। खेलको ४५ औँ मिनेटमा हिमालयन शेर्पाका विजय श्रेष्ठले गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याए।
त्यस्तै खेलको ८४औँ मिनेटमा काजिम बुसारीले गोल गर्दै सरस्वतीलाई ३–२ को अग्रता दिलाए। त्यस्तै खेलको ८८औँ मिनेटमा मनिष थापाले गोल गर्दै सरस्वतीलाई ४–२ ले अघि बढाए। खेलको दोस्रो हाफको अतिरिक्त समयमा हिमालयन शेर्पाका रवि थापाले गोल गर्दै खेललाई ४–३ को अवस्थामा ल्याएका थिए।