बलात्कारको अभियोगमा आइतबार पक्राउ परेका इंग्लिस क्लब चेल्सीका विंगर कालुम हुडसन ओडोइ प्रशिक्षणमा फर्किएका छन्।
उनी मंगलबारदेखि सुरु भएको प्रशिक्षणमा सहभागी भएका हुन्। कोरोना भाइरसका कारण स्थगित भएको प्रिमियर लिगका क्लबहरुले मंगलबारदेखि प्रशिक्षण थालेका हुन्।
क्लबहरुले सानो संख्यामा खेलाडी बोलाएर प्रशिक्षण गरिरहेका छन्।
ओडोइ सोमबार मात्र हिरासत मुक्त भएका थिए। एक महिलाले बलात्कारको आरोप लगाएपछि ओडोइलाई पश्चिम लन्डनस्थित अपाटमेन्टबाट गत आइतबार पक्राउ गरिएको थियो।
सोमबार जमानतमा रिहा भएका ओडोइको सोधपुछि मध्य जुनसम्म चल्नेछ।
ओडोइलाई यसअघि कोरोनाभाइरसको संक्रमण भएको थियो।
युवा विंगर हुडसन कोरोना लाग्ने पहिलो प्रिमियर लिग खेल्ने खेलाडी बनेका थिए। उनी अप्रिल १ मा कोरोनमुक्त भएका थिए। त्यसपछि उनले घरमै प्रशिक्षण गर्न थालेका थिए।
सन् २०१७ मा चेल्सीमा डेब्यू गरेका उनले क्लबका लागि २९ खेल खेल्दै १ गोल गरेका छन्। इंग्ल्यान्डको राष्ट्रिय टिममा गत वर्ष डेब्यू गरेका उनले ३ अन्तर्राष्ट्रिय क्याप जितेका छन्।