अमेरिकी नागरिक जर्ज फ्लोयड हत्या प्रकरणमा इंग्लिस प्रिमियर लिग लिडर लिभरपुलका खेलाडीले विरोध गरेका छन्।
अभ्यासका क्रममा २९ खेलाडीले घरेलु मैदानमा घुँडा टेकेर विरोध जनाएका हुन्। सोमबारको प्रशिक्षणमा खेलाडीहरूले घुँडा टेकेर तस्बिर खिँच्नका लागि अनुरोध गरेका थिए।
यसअघि म्यानचेस्टर युनाइटेडका पाउल पोग्बा र मार्कोस रास्फोडले पनि सामाजिक सञ्जालमार्फत फ्लोयड हत्याको विरोधमा पोस्ट गरेका थिए।
अमेरिकाकाको मिनियापोलिस शहरमा प्रहरीले नियन्त्रणमा लिएपछि ४६ वर्षीय फ्लोयडको गत सोमबार मृत्यु भएको थियो।
काला जातिका पुरूष फ्लोयडलाई प्रहरी अधिकारीले घाँटीमा घुँडाले थिचेर मारेको भन्दै अहिले विश्वभर विरोध भइरहेको छ।
आइतबार जर्मन बुन्डेसलिगामा पनि खेलाडीहरूले गोल गरेपछि सेलिब्रेसन गर्नुको सट्टा विरोध जनाएका थिए।
बोरुसिया डोर्टमुन्डका जाडोन फरवार्ड सान्चोले एससी पार्डाबोनविरुद्ध गोल गरेपछि 'जर्ज फ्लोयडलाई न्याय देउ' लेखेको टी-सर्ट देखाएका थिए। सान्चोसँगै डोर्टमुन्डका अर्का खेलाडी हाकिमीले पनि 'फ्लोयडलाई न्याय देउ' लेखेको टी-सर्ट देखाएर विरोध गरे।
सोन्चो र हाकिमीले विरोध गर्नुअघि अर्को जर्मन क्लब बोरुसिया मुन्छेनग्लाडबाखका मार्कोस थुरामले पनि विरोध जनाएका थिए। उनले गोल गरेपछि घुँडा टेकेर विरोध गरे।
अमेरिकी प्रहरी अधिकारी डेरेक सउभिनले लडिरहेका फ्लोयडको घाँटीमा घुँडाले थिचे झै गरी थुरामले पनि गोल गरेपछि मैदानमा घुँडा टेकेका थिए।