भौतिक दूरी कायम राखेर फुटबलमा प्रतिस्पर्धा गर्दा एकै खेलमा ३७ गोल भएको छ।
जर्मनीको स्थानीय क्लब रिपडोर्फले खेलमा भौतिक दुरी कायम गरेको थियो।
जसका कारण रिपडोर्फलाई एसभी होल्डेन्स्टेडले ३७-० गोलले पराजित गरेको हो। यो खेल जर्मन फुटबल लिगअन्तर्गत ११औं तहको हो।
रिपडोर्फले मैदानमा सात जना मात्र खेलाडीलाई मैदानमा उतारेको थियो। मैदान उत्रिएका खेलाडी पनि बल हानेपछि छेउतिर गएका थिए।
सात जना मात्र मैदान उत्रिए नियम पूरा हुने भएकाले उसले थोरै खेलाडीलाई मैदान उतारेको हो।
सुरूमा रिपडोर्फका खेलाडीले विपक्षीतिर बल हानेका थिए। त्यसपछि उनीहरू मैदानको छेउतिर गएर बसेका थिए।
रिपडोर्फका खेलाडी छेउतिर गएपछि होल्डेन्स्टेडले गोल गर्ने मौका खेर फालेन। उसले प्रत्येक २ देखि ३ मिनेटको भित्रमा गोल गरेको थियो।
होल्डेन्स्टेडका खेलाडीहरूलाई अघिल्लो खेलमा कोरोना भाइरसको संक्रमण भएपछि रिपडोर्फका खेलाडीले खेल असुरिक्ष ठान्दै भौतिक दूरी कायम गरेका हुन्।
कोरोनाका डरका कारण उनीहरुले नखेलेको भए २ सय युरो जरिबाना तिर्नु पर्थ्यो। त्यसैले जरिबाना तिर्नुको सट्टा उनीहरूले भौतिक दूरी रोजेका हुन्।
खेलअघि रिपडोर्फले खेल स्थगित गर्न अनुरोध गरेको थियो। तर त्यहाँको स्थानीय संघले अनुरोध मानेन।
स्थानीय संघले खेल सार्न नमानेपछि सुरक्षित हुनका लागि उनीहरुले भौतिक दूरी काम गरेका थिए। किनभने होल्डेन्स्टेडका खेलाडी संक्रमित नभए पनि आवश्यक १४ दिनको क्वारेन्टिनमा बसेका थिएनन्।