नेपाल सुपर लिग (एनएसएल) ले सन् २०२६ मा आयोजना हुने चौथो सिजनका लागि नयाँ क्लबहरू थप्ने प्रक्रिया सुरु भएको घोषणा गरेको छ।
नेपाली फुटबललाई थप व्यावसायिक र देशव्यापी बनाउने उद्देश्यका साथ आगामी ५ सेप्टेम्बर २०२६ देखि सुरु हुने यो सिजन 'होम एण्ड अवे' ढाँचामा खेलाइनेछ। यसैको तयारी स्वरूप लिगले ३ वटा नयाँ क्लबहरूलाई सहभागी गराउने निर्णय गरेको हो। योसँगै अब लिगमा क्लबहरूको संख्या ७ बाट बढेर १० पुग्नेछ।
इच्छुक व्यक्ति, व्यावसायिक संस्थाहरू वा फुटबल संघहरूले नयाँ क्लब सञ्चालन गर्नका लागि आफ्नो प्रस्ताव पेस गर्न सक्नेछन्।
लिगले विशेष गरी विराटनगर, धरान, वीरगन्ज र सुर्खेत (कर्णाली) बाट नयाँ क्लबहरू सहभागी गराउने रणनीति लिएको छ। तर, अन्य क्षेत्रबाट आउने उत्कृष्ट र प्रभावशाली प्रस्तावहरूलाई पनि उत्तिकै प्राथमिकता दिइनेछ।
नयाँ क्लबहरू थपिएसँगै स्थानीय स्तरमा फुटबल फ्यानहरूको सहभागिता बढ्ने, व्यावसायिक फुटबलको विकास हुने र नेपालभर फुटबलको क्रेज थप मजबुत हुने लिगले विश्वास लिएको छ।
क्लब सञ्चालनका लागि योग्यता, आवेदन प्रक्रिया र अन्य सर्तहरूका बारेमा विस्तृत जानकारी इच्छुक पक्षहरूले नेपाल सुपर लिगको सचिवालयमा सम्पर्क गरेर प्राप्त गर्न सक्नेछन्।
५ सेप्टेम्बर २०२६ बाट सुरु हुने यो नयाँ यात्राले नेपाली फुटबललाई एउटा नयाँ उचाइमा पुर्याउने लक्ष्य राखिएको छ।