डेनमार्कका मिडफिल्डर क्रिस्टियन इरिक्सन फेरि खेलको दौरान मैदानमा ढलेका छन्।
डेनमार्कको ओडेन्समा आइतबार राति भएको युक्रेन विरुद्धको मैत्रीपूर्ण खेलका दौरान इरिक्सन आफ्नो छाती समात्दै मैदानमै ढले।
खेलको ६५औँ मिनेटमा डेनमार्क २-१ ले अगाडि रहेको अवस्थामा बलभन्दा टाढा रहेका इरिक्सनले अचानक आफ्नो छाती समाते र मैदानमा ढल्न पुगे। चिकित्सक टोलीले प्राथमिक उपचार गरेपछि ३४ वर्षीय इरिक्सन चाँडै नै होसमा आए र आफै हिँडेर मैदानबाट बाहिरिए। थप परीक्षणका लागि उनलाई अस्पताल लगियो। चिकित्सकहरूले उनको स्वास्थ्य अवस्था राम्रो रहेको र अहिले पनि होसमै रहेको जनाएका छन्।
घटना पछि सो खेल रद्द गरिएको विभिन्न सञ्चारमाध्यमहरूले जनाएका छन्।
सन् २०२० मा डेनमार्कमा भएको युरो फुटबल प्रतियोगिताको दौरान पनि उनी मैदानमै ढलेका थिए। जुन १२ मा राजधानी कोपेनहेगनमा भएको फिनल्याण्डसँगको डेनमार्कको पहिलो समूह खेलको ४२ औं मिनेटमा हृदयघात भएर उनी मैदानमै ढलेका थिए।
त्यो घटनापछि इरिक्सनको शरीरमा 'इम्प्लान्टेबल कार्डियोभर्टर डेफिब्रिलेटर' जडान गरिएको थियो। सो उपकरणले मुटुको धड्कन खतरनाक रूपमा अनियन्त्रित भएमा त्यसलाई पुनः सामान्य अवस्थामा ल्याउने काम गर्दछ।
सो घटनाका कारण उनी ६ महिना भन्दा बढी मैदान बाट बाहिर रहेका थिए तर आठ महिना पछि भने उनले फेरि प्रतिस्पर्धात्मक खेल खेलेका थिए। उनी यस्तो उपकरण प्रयोग गरेर पनि उच्च स्तरको व्यावसायिक फुटबल खेल्ने पहिलो खेलाडी बनेका थिए।
त्यतिबेला राखिएको डेफिब्रिलेटरले आइतबार उनलाई बचाएको चिकित्सकले बताएका छन्। उनको शरीरमा राखिएको डेफिब्रिलेटरले महत्त्वपूर्ण भूमिका खेलेको बताउँदै राष्ट्रिय टोलीका चिकित्सक डाक्टर मोर्टेन बोएसेनले भने, 'मलाई लाग्छ यसले जुन कामका लागि राखिएको थियो, त्यही काम गर्यो।'
पछि टेलिभिजनसँग कुरा गर्दै बोएसेनले थपे, 'उनी आफैँले मैदान छोड्ने आग्रह गरे। यो वास्तवमै निकै राम्रो संकेत हो।'
डेनमार्क यसै हप्ता शुरू हुने विश्वकपमा छनौट भएको छैन।
(विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा तयार पारिएको)