इंग्लिस प्रिमियर लिगमा कोभेन्ट्री सिटीले न्युक्यासल युनाइटेडलाई ४–१ गोलले पराजित गर्दै २५ वर्षपछि घरेलु मैदानमा लिग जित दर्ता गरेको छ।
सोमबार राति भएको खेलमा ज्याक रुडोनीले पेनाल्टीमार्फत गोल गर्दै कोभेन्ट्रीलाई अग्रता दिलाए। दोस्रो हाफ सुरु भएको तीन मिनेटमै किशोर खेलाडी सिदिकी शेरीफले गोल थपेपछि घरेलु टोलीले २–० को अग्रता बनायो।
न्युक्यासलका स्वेन बोटम्यानले ७०औँ मिनेटमा लामो दूरीबाट उत्कृष्ट गोल गर्दै खेलमा फर्कने संकेत दिए। तर, वैकल्पिक खेलाडी एलिस सिम्सले गोल गरेपछि कोभेन्ट्रीले अग्रता ३–१ बनायो। खेल सकिन चार मिनेट बाँकी छँदा १८ वर्षीय स्टेफन मुफुनीले सुन्दर गोल गर्दै कोभेन्ट्रीको ४–१ को जित सुनिश्चित गरे।
कोभेन्ट्रीले सन् २००१ को अप्रिलपछि पहिलोपटक आफ्नो घरेलु मैदानमा प्रिमियर लिगमा गोल गरेको हो। त्यसबेला जोन हार्टसनले सन्दरल्याण्डविरुद्ध गोल गरेका थिए।
यो कोभेन्ट्रीको यस सिजनको दोस्रो जित हो। जितसँगै टोली रेलिगेसन क्षेत्रबाट माथि उक्लँदै १४औँ स्थानमा पुगेको छ।
उता न्युक्यासल भने ६ खेलबाट आठ अंकसहित ११औँ स्थानमा छ।