नर्वेको भाइकिङले युरोपेली च्याम्पियन्स लिगमा जर्मन महारथी बायर्न म्युनिखलाई ३–३ को बराबरीमा रोक्दै आफ्नो इतिहासकै ठूलो नतिजामध्ये एक हासिल गरेको छ।
सन् २०१८ सम्म नर्वेको दोस्रो डिभिजनमा रहेको भाइकिङले ६ पटकको युरोपियन च्याम्पियन बायर्नविरुद्ध पहिलो हाफमै दुई गोलको अग्रता बनाएको थियो। तर, इंग्ल्यान्डका कप्तान ह्यारी केनले दुई गोल गर्दै बायर्नलाई खेलमा फर्काए।
खेल सुरु भएको ७१ सेकेन्डमै जियानी स्टेन्सनेसले कर्नरबाट आएको बलमा हेडरमार्फत गोल गर्दै भाइकिङलाई अग्रता दिलाएका थिए। त्यसपछि ३८औं मिनेटमा पिटर क्रिस्टियनसेनले काउन्टर अट्याकमा उत्कृष्ट गोल गरेपछि घरेलु टोली २–० ले अघि बढ्यो।
तर, बायर्नले दोस्रो हाफमा खेलमा फर्कने संकेत देखायो। केनले पेनाल्टीमार्फत गोल गर्दै अग्रता घटाए। त्यसपछि उनले हेडरमार्फत व्यक्तिगत दोस्रो गोल गरेपछि खेल २–२ को बराबरीमा पुग्यो।
लुइस डियाजले गोल गर्दै बायर्नलाई ३–२ को अग्रता दिलाए पनि माइकल ओलिसे रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि खेलको अवस्था फेरियो। एउटै खेलक्रममा दुई पहेँलो कार्ड पाएका ओलिसेले भाइकिङका खेलाडीको अनुहारमा बल फ्याँकेपछि दोस्रो पहेँलो कार्ड पाएका थिए।
१० खेलाडीमा सीमित भएपछि बायर्नमाथि दबाब बढाएको भाइकिङले खेलको अन्त्यतिर बराबरी गोल फर्कायो। वैकल्पिक खेलाडी हर्मन हाउगेनले ब्याक पोस्टमा हेडरमार्फत गोल गर्दै घरेलु समर्थकलाई उत्साहित बनाए।
सन् १९९२–९३ यता पहिलोपटक युरोपको शीर्ष क्लब प्रतियोगिता खेलिरहेको भाइकिङका लागि यो नतिजा ऐतिहासिक बनेको छ।
भाइकिङका कप्तान ज्लाट्को ट्रिपिचले नतिजाप्रति खुसी व्यक्त गर्दै नर्वेली टेलिभिजन च्यानल टीभी२ सँग भने, ‘म अझै ९० मिनेट खेल्न सक्थेँ। मलाई असाध्यै गर्व लागेको छ। मैले यसका लागि ३४ वर्ष प्रतीक्षा गरेको छु।’
उनले विश्वकै उत्कृष्ट खेलाडीहरूसँग खेलेर पनि आफ्नो टोलीले २–० को अग्रता लिन सफल भएको भन्दै टोलीको प्रदर्शनको प्रशंसा गरे।
बायर्नका प्रशिक्षक भिन्सेन्ट कोम्पनीले भने रातो कार्डलाई टोलीको गल्तीका रूपमा स्वीकार गरे। उनले टोलीले खेलमा दबाब बनाए पनि विपक्षीका हरेक अवसर गोलमा परिणत भइरहेको बताए।
३३ वर्षीय केनले च्याम्पियन्स लिगका पछिल्ला नौ खेलमा लगातार गोल गरेका छन्। ३० वर्ष पुगेपछि च्याम्पियन्स लिगका ४० खेलमा उनको गोलसंख्या ३६ पुगेको छ। यससँगै उनले ३० वर्षपछि च्याम्पियन्स लिगमा सर्वाधिक ३५ गोल गरेका लियोनल मेसीको कीर्तिमान उछिनेका छन्।
लगातार नौ च्याम्पियन्स लिग खेलमा गोल गर्ने उपलब्धि यसअघि रुद भान निस्टलरोय, रोबर्ट लेवान्डोस्की र क्रिस्टियानो रोनाल्डोले हासिल गरेका थिए। लगातार ११ खेलमा गोल गरेका रोनाल्डोको नाममा अझै कीर्तिमान छ।
गत सिजन ३४ वर्षपछि नर्वेको शीर्ष डिभिजनको उपाधि जितेको भाइकिङ अहिले पनि लिगको शीर्ष स्थानमा बोडो/ग्लिम्टसँग संयुक्त रूपमा रहेको छ। लिगमा आठ खेल बाँकी रहँदा टोलीले आफ्नो प्रभावशाली प्रदर्शनलाई निरन्तरता दिइरहेको छ।
भाइकिङले अब अक्टोबर २१ मा एस्टन भिल्लाको मैदानमा खेल्नेछ। सोही दिन बायर्नले आर्सनलको सामना गर्नेछ। रातो कार्ड पाएका ओलिसेले आर्सनलविरुद्धको खेल गुमाउनेछन्।