स्ट्रिमिङ प्लेटफर्म नेटफ्लिक्सले सन् २०३० मा हुने फिफा पुरुष विश्वकप फुटबलको स्पेन र एन्डोरामा प्रसारण अधिकार खरिद गरेको छ।
यससँगै नेटफ्लिक्सले पहिलोपटक पुरुष विश्वकप फुटबल प्रत्यक्ष प्रसारण गर्ने भएको छ।
नेटफ्लिक्सले एक विज्ञप्ति जारी गर्दै प्रतियोगिताका सबै १०४ खेल प्रत्यक्ष प्रसारण गर्ने जनाएको छ। स्पेनमा भने प्रत्येक खेल हुने दिन एउटा खेल निःशुल्क हेर्न सकिने व्यवस्था पनि गरिनेछ।
नेटफ्लिक्सका अनुसार स्पेनका सबै खेल र फाइनल भने निःशुल्क टेलिभिजनबाट पनि प्रसारण हुनेछन्।
सन् २०३० को विश्वकप स्पेन, पोर्चुगल र मोरक्कोले संयुक्त रूपमा आयोजना गर्दैछन्। विश्वकपको शतवार्षिकी मनाउने क्रममा अर्जेन्टिना, उरुग्वे र पाराग्वेमा पनि केही खेल आयोजना हुनेछन्।
नेटफ्लिक्सले यसअघि पनि विभिन्न खेलकुद प्रतियोगिता प्रत्यक्ष प्रसारण गर्दै आएको छ। कम्पनीसँग सन् २०२७ र २०३१ का महिला विश्वकप फुटबलको प्रसारण अधिकारसमेत छ। ती दुवै प्रतियोगिता अमेरिका र क्यानडामा आयोजना हुनेछन्।
सन् २०३० को विश्वकप प्रसारण अधिकार प्राप्त गरेसँगै नेटफ्लिक्सले आफ्नो प्रत्यक्ष खेलकुद प्रसारणको दायरा थप विस्तार गरेको छ।