इंग्लिस प्रिमियर लिग टोली ब्राइटनका डिफेन्डर पास्कल स्ट्रुइकलाई देखाइएको विवादास्पद रातो कार्ड उल्टिएको छ। गलत तरिकाले मैदानबाट निष्कासन गरिएको दाबी गर्दै ब्राइटनले गरेको अपिल सफल भएपछि स्ट्रुइकले एक खेलको प्रतिबन्धबाट मुक्ति पाएका छन्।
यससँगै उनी यो सप्ताहन्त हुने क्रिस्टल प्यालेसविरुद्धको प्रिमियर लिग खेलमा उपलब्ध हुनेछन्।
शनिबार सन्डरल्यान्डको घरेलु मैदान स्टेडियम अफ लाइटमा भएको खेलको ५७औँ मिनेटमा स्ट्रुइकलाई रातो कार्ड देखाइएको थियो। सन्डरल्यान्डका फरवार्ड विल्सन इसिडोरले अगाडि बढाएको बल पछ्याउने क्रममा स्ट्रुइकले उनलाई फल गरेको ठहर गरिएको थियो।
तर, सुरुमा मुख्य रेफ्री थोमस ब्रामल र उनका सहायकले फल दिएका थिएनन्। त्यसपछि भिडियो असिस्टेन्ट रेफ्री (भीएआर) निल डेभिसले हस्तक्षेप गर्दै रेफ्रीलाई भिडियो स्क्रिनमा घटना पुनः हेर्न बोलाए।
भिडियो पटक–पटक हेरेपछि रेफ्री ब्रामलले स्ट्रुइकलाई रातो कार्ड देखाए। उनले स्ट्रुइकले गोल गर्ने स्पष्ट अवसर रोकेको निष्कर्ष निकालेका थिए। उक्त निर्णयबाट ब्राइटनका खेलाडीहरू अचम्मित भएका थिए।
तर, गलत तरिकाले खेलबाट निष्कासन गरिएको दाबीसहित गरिएको अपिल सफल भएपछि रातो कार्डको निर्णय उल्टाइएको हो।
भारको निर्णयमै प्रश्न
बीबीसीका फुटबल संवाददाता डेल जोन्सनका अनुसार, स्ट्रुइकलाई रातो कार्ड देखाउने निर्णय गलत थियो। अझ, सुरुमा फलसमेत नदिइएको अवस्थामा भीएआरको हस्तक्षेपबाट रातो कार्ड दिइनु झनै खराब निर्णय भएको उनको विश्लेषण छ।
उनका अनुसार, इसिडोरले बलमा ब्राइटनका गोलकिपर बार्ट भेर्ब्रुगनभन्दा पहिले पुग्न सक्थे भन्ने निश्चित थिएन। त्यसैले उक्त घटनालाई गोल गर्ने स्पष्ट अवसर रोकिएको अवस्था मान्न पर्याप्त आधार थिएन।
प्रिमियर लिगमा भीएआरको हस्तक्षेपबाट रातो कार्ड दिने निर्णय गर्दा उच्च मापदण्ड अपनाइने भएकाले रेफ्रीलाई भिडियो स्क्रिनमा बोलाउनु नै उचित नभएको जोन्सनको तर्क छ। उनका अनुसार, स्क्रिनमा घटना हेरेपछि रेफ्रीको निर्णय प्रभावित भएको हुन सक्छ। यस्तो अवस्थामा रेफ्रीले भीएआरको सल्लाह अस्वीकार गर्नुपर्ने थियो।
रातो कार्डका बाबजुद ब्राइटनको जित
स्ट्रुइकले रातो कार्ड पाएर मैदान छाड्नुपरे पनि ब्राइटनले खेलमा २–० को जित निकालेको थियो। सिजनको सुरुआतदेखि राम्रो प्रदर्शन गरिरहेको ब्राइटन प्रिमियर लिगको तालिकामा तेस्रो स्थानमा छ। ऊ शीर्ष स्थानको म्यानचेस्टर सिटीभन्दा पाँच अंकले पछाडि छ।
यसै समरमा २० मिलियन पाउन्डमा लिड्स युनाइटेडबाट ब्राइटन आएका स्ट्रुइकले नयाँ क्लबका लागि दोस्रो पटक प्रिमियर लिगमा सुरुआती ११ मा स्थान बनाएका थिए।
अपिल सफल भएसँगै उनले रातो कार्डका कारण एक खेल गुमाउनुपर्ने छैन।