सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)मा आज दुई खेल हुँदैछ।
त्रिवि मैदान कीर्तिपुरमा दिउँसो साढे १२ बजे पहिलो खेल र साँझ ५ बजे दोस्रो खेल हुनेछ।
पहिलो खेलमा कर्णाली याक्सले काठमाडौं गोर्खाजसँग खेल्ने छ।
कर्णालीका लागि आजको खेल तेस्रो हुनेछ। काठमाडौंले भने दोस्रो खेल खेल्न लागेको हो।
पहिलो खेलमा जनकपुर र दोस्रो खेलमा विराटनगरलाई हराएको कर्णाली तेस्रो जितका लागि उच्च मनोबलमा छ।
पहिलो खेलमा जनकपुर बोल्ट्ससँगै पराजित भएको काठमाडौं आजको खेलबाट पहिलो जितको खोजीमा हुनेछ।
दोस्रो खेल चितवन राइनोज् र सुदूरपश्चिम रोयल्स भिड्दै छन्।
पहिलो खेलमा विराटनगरलाई हराएको चितवनले लुम्बिनीविरूद्धको खेल वर्षाका कारण रद्द भएपछि अंक बाँडेको थियो।
आज उसले प्रतियोगिताको तेस्रो खेल खेल्दैछ।
सुदूरपश्चिम रोयल्सले भने चौथो खेल खेल्न लागेको हो। तीन खेल खेलिसकेको सुदूरपश्चिमले एक खेल मात्रै जितेको छ।
पहिलो खेलमा लुम्बिनीसँग पराजित भएको सुदूरले दोस्रो खेलमा पोखराविरूद्ध जित निकालेको थियो।
वर्षाका कारण ५ ओभरमा झारिएको विराटनगर विरूद्धको खेलमा पनि सुदूरपश्चिम पराजित भएको थियो। आजको खेलमा ऊ दोस्रो जित निकाल्दै अंक तालिकामा उकालो लाग्ने लक्ष्यमा हुनेछ।